साप्ताहिक संवाददाता
आज असार १५ गते पोखरामा रोपाइँ महोत्सव हुँदैछ । पोखरा पर्यटन परिषद् आयोजनामा विगत १५ वर्षदेखि निरन्तर रोपाइँ महोत्सव हुँदै आएको छ । महोत्सवमा सहभागीहरू माटोमा रमाउँछन् । कोही खेत रोप्छन्, कोही हिलोमा दौडन्छन् भने कोही हिलोमै लडिबुडी खेल्छन् ।
यो महोत्सवमा विदेशीका अतिरिक्त आन्तरिक पर्यटक तथा स्थानीय बासिन्दाहरूको पनि सहभागिता हुन्छ । पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ सञ्चालन हुने रोपाइँ महोत्सवका लागि पोखरा महानगरपालिका वडा नम्बर १७, महतगौडा, बिरुवाफाँटलाई छनौट गरिएको छ ।
महोत्सवमा हलगोरु दौड, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पुरुष तथा महिला हिलेदौड, महिला तथा पुरुष पर्यटकबीच हिलेदौड, रस्साकस्सी, पत्रकारहरूको हिलेदौड आदि आकर्षणमा रहनेछन् ।
महोत्सवका अवसरमा विविध सांस्कृतिक प्रस्तुति समेत हुनेछ भने स्थानीय एवं कास्की जिल्लाका उत्कृष्ट कृषकहरूलाई सम्मान समेत गरिनेछ । सोही दिन कास्कीको हेम्जा, पामे, वेगनास आदी ठाउँमा समेत रोपाई महोत्सवको आयोजना गरिँदैछ ।