साप्ताहिक संवाददाता
मड फेस्टिभलभन्दा मलाई रोपाईं महोत्सव भनेको नै ठीक लाग्छ । किनभने नेपाली कृषकहरूका लागि यो विशेष पर्व जस्तै हो ।
सृष्टी खड्का, मोडल
हिलो खेल्दै, गीत गाउँदै, असार १५ मा नेपालीहरू धान रोपाइँको उत्कर्षमा हुन्छन् । कर्मका पसिना दाना रोपेर मुरी अन्न फलाउने सपनामा मग्न भै किसानहरूले महान् खुसीका साथ हिलोको बीचमा पनि उत्सव मनाउने भएकाले रोपाइँलाई मड फेस्टिभल भनेको ठिकै जस्तो लाग्छ ।
रामलाल जोशी, लेखक
कुनै पनि कुरा विस्थापित हुनुभन्दा परिमार्जित हुनु राम्रो हो । अलिकति परिमार्जित गर्दा हाम्रो युवा पुस्ता हाम्रो कला–संस्कृतिप्रति आकर्षित हुन्छ भने किन नगर्ने ? परिमार्जन आफैंमा नराम्रो कुरा होइन । कतिपय कुरामा चाहिँ हामी आफैंले परिमार्जन गरेर अघि बढ्नुपर्ने हुन्छ ।
बिमलेश अधिकारी, नायक
रोपाइँ महोत्सव हिलोसँग खेल्ने त हो । त्यसैले यसलाई मड फेस्टिभल भनेको ठीकै लाग्छ ।
आशिर प्रताप जंग, मोडल
माटो अझ विशेष गरी हिलोसँग सम्बन्धित भएकाले यसलाई मड फेस्टिभल पनि भनिएको हो । हिलो खेलेर रमाइलो गर्ने परम्परा बाहिर जस्तो नेपालमा पनि छ । गाउँघरतिर सबै जना जम्मा भएर धान रोप्ने तथा एकआपसमा हिलो छ्यापेर खुसी साटासाट गर्ने प्रचलन छ । यो नेपालीहरूको विशेष पर्व पनि हो ।
विक्रम परियार, लोकगायक
मड फेस्टिभल गर्मी मौसममा खेलिने रमाइलो खेल तथा धेरैको रुचिको विषय पनि हो । रोपाइँ महोत्सवलाई पनि मड फेस्टिभल जसरी नै व्यवसायिक बनाएर आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउन सक्ने बनाइयो भने आम्दानीको राम्रो स्रोत बन्न सक्थ्यो कि ?
लोमश शर्मा, मोडल
माटो भनेको धर्तीमाता हुन् । माटोबाट नै हामी सबै प्राणी जातिको खानेकुरा सिर्जना हुन्छ । हामी प्रत्येक वर्ष धान रोपाइँ पनि माटोमै गर्छौं । त्यसैले रोपाइँ महोत्सवलाई ‘मड फेस्टिभल’ भन्दा अत्युक्ति हुँदैन ।
रोहित अधिकारी, चलचित्र निर्माता
असारे रोपाइँ हिलोमा रमाई–रमाई गरिन्छ । हामी यसरी नै धान फलाउँछौं । किसानहरूले माटोमै रमाउँदै, नाच्दै–गाउँदै अन्न उब्जाउँछन् । यो किसानहरूकै चाड हो जस्तो लाग्छ ।
अनुपमा भण्डारी, मोडल
रोपाइँ महोत्सवलाई कसले भन्यो मड फेस्टिभल ? मलाई त थाहा छैन र त्यसो भन्नु पनि हुँदैन । आ–आफ्नै मूल्य–मान्यता हुन्छन् संस्कृतिहरूका । रोपाइँ महोत्सवको पनि आफ्नै मूल्य–मान्यता छन् । यसलाई रोपाइँ महोत्सव नै भन्नुपर्छ । यदि इङ्लिसमा भन्ने हो भने पनि ‘रोपाइँ महोत्सव’ नै लेख्नुपर्छ, जसले हाम्रो भाषालाई पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सक्छ । अर्को कुरा यो मुठी रोपेर मुरी फलाउने धान रोपाइँ महोत्सव हो नि । यसमा कहाँ माटो मात्र छ र ? माटोमा अन्न, पानी, हली (खेताला) र रोपाहारहरू पनि त हुन्छन् । त्यहाँ गीत–संगीत हुन्छ, गाइन्छ, नाचिन्छ, हिलो छ्यापिन्छ अनि कसरी यो माटोको मात्र महोत्सव भयो ? त्यसैले यसलाई रोपाइँ महोत्सव नै भन्नुपर्छ ।
कोमल वली, राष्ट्रिय सभा सदस्य तथा गायिका
नेपालको परिवेशमा सही नामाकरण हो, किनभने नेपालको ठूलो भू–भागमा त्यतिबेला हिलो र पानी हुन्छ । नेपाल कृषिप्रधान देश भएका कारण मानिसहरू हिलो खेलिरहेका हुन्छन् । त्यसैले मड फेस्टिभल भन्नु ठीकै हो ।
बाबु बोगटी, गायक
खै, आजकाल जताततै मठको चर्चा चलिरहेको बेला मडको कुरा गर्ने र ?
दीपाश्री निरौला, अभिनेत्री
रोपाइँ महोत्सवलाई मड फेस्टिभल भनिनु ठीकै हो । किनभने रोपाइँमा विशेष गरी माटो र हिलोमै रमाइन्छ ।
बिनु शाक्य, मोडल