साप्ताहिक संवाददाता
मानो रोपेर मुरी उब्जाउने महिना असारको मध्य दिन अर्थात् असार १५ गतेलाई धान दिवससँगै रोपाइँ जात्राका रूपमा मनाइन्छ । रोपाइँको मध्यमा पर्ने असार १५ लाई दही, चिउरा, आँप आदि परिकारले अझ विशेष बनाउने भएकाले नै होला यसलाई दही चिउरा खाने दिन भनिन्छ । नेपाली समाजमा व्याप्त यो परम्पराको सुरुवात कहिलेदेखि भयो भन्ने सन्दर्भमा कुनै इतिहास नभए पनि धानखेतीको प्रारम्भ भएसँगै दही–चिउरा खाने प्रथा सुरु भएको मानिन्छ ।
असार १५ विशेष गरी कृषिसँग जोडिए पनि अहिले सहरी परिवेशमा पनि असार १५ मा दही–चिउरा खाने प्रचलन विकसित हुँदै गएको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । १५ असारको संस्कृति नेपालमा प्राचीन समयदेखि मनाइँदै आएको उल्लेख गर्दै जोशी भन्छन्– ‘धान रोपाइँका बेला असारे गीत गाएर मनोरञ्जनका साथ रोपाइँ जात्रा गर्नु, दही चिउरा खानु नेपाली समाजको विशिष्टता हो ।’
रोपाइँमा गाइने गीतलाई असारे गीत भनिन्छ जसमा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा गाइन्छ । असारे भाकाले भौगोलिक विविधता समेटेको पाइन्छ । काठमाडौँ उपत्यमा गाइने असारे भाकाको आफ्नो छुट्टै महत्त्व छ । असारे भाकाको गीत गाउनु र हिलोमा रमाउँदै धान रोप्नुको जति महत्व छ, दही चिउरा खानुको पनि उत्तिकै महत्व छ ।