प्राकृतिक चिकित्सामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पञ्च महाभूत माटो, पानी, घाम, आकाश तथा वायु हुन् । हाम्रो शरीरमा हुने कुनै पनि गडबडी वा विचलन यिनै पञ्च महाभूतमध्ये कुनै एकमा देखिने असन्तुलनका कारणले हुन्छ । पञ्च महाभूतअनुसार उपचार गर्ने प्रक्रियालाई नै प्राकृतिक चिकित्सा भनिन्छ ।
प्राकृतिक उपचारमा माटो चिकित्सालाई विशेष मानिन्छ । पञ्च महाभूतमा हाम्रो शरीरलाई माटो मानिने हुँदा पनि यो उपचारमा माटो प्रयोग गरिन्छ । माटो उपचारका लागि मात्र नभएर हाम्रो आर्थिक समृद्धिका लागि पनि नभै नहुने तत्त्व हो । माटो र मानिसबीच घनिष्ठ सम्बन्ध छ ।
वर्षा महिना असार र साउनमा अधिकांश मानिस खेतीपातीमा व्यस्त हुँदा माटोसँग उनीहरूको सम्पर्क अत्यधिक हुन्छ । पहिले विषादी तथा रसायनिक मलहरू प्रयोग नभएका कारण माटोलाई शुद्ध मानिन्थ्यो । आदिमकालमा मानिसहरू माटोलाई नै विभिन्न रोगको उपचारदेखि सौन्दर्य प्रसाधनका रूपमा सम्म प्रयोग गर्थे ।
हामीले माटोलाई आर्थिक समृद्धि र जीविकोपार्जनका लागि प्रयोग गरे पनि माटोको औषधीय महत्व पनि छ । माटो उपचारको इतिहास हेर्ने हो भने यो वैदिक कालदेखि नै चल्दै आएको पाइन्छ ।
आधुनिक चिकित्साका रूपमा भने १६ औं शताब्दीदेखि माटोको प्रयोग हुन थालेको हो । अहिले यो चिकित्सा पश्चिमी मुलुकमा व्यापक हुँदै गएको छ । माटोबाट गरिने उपचारमध्ये माटो स्नान सर्वाधिक प्रचलित छ । कतिपय अवस्थामा माटोको पट्टी बाँधेर पनि उपचार गरिन्छ । त्यसबाहेक माटोमा खाली खुट्टा हिँडेर पनि विभिन्न रोगको उपचार गरिन्छ ।
शुद्ध र प्रदूषित नभएको माटो छालाका विभिन्न रोगमा उपयोगी मानिन्छ । माटो चिकित्साले उच्च रक्तचाप, तनाव व्यवस्थापन, कब्जियत, पायल्स, ग्यास्ट्रलाईटिस, आँखाको दृश्य क्षमता वृद्धि, टाउको दुखाइ तथा घुँडा खिइएको समस्या आदि समाधान गर्छ ।
शुद्ध माटोका जति फाइदा छन्, त्यति नै प्रदूषित माटोले बेफाइदा गर्छ । शरीरमा कुनै किसिमको चोटपटक लाग्दा त्यसमा प्रदूषित माटो परे स्वास्थ्यस्थिति अझ जटिल हुन्छ भने टिटानस हुने सम्भावना पनि बढ्छ । कतिपयलाई माटोको एलर्जी पनि हुन्छ । प्रदूषित माटोको सम्पर्कमा नियमित रहने हो भने छालाको क्यान्सर हुने सम्भावना हुन्छ । प्रदूषित माटोमा जुकाको अन्डा हुने भएकाले ती अन्डा मानिसको सम्पर्कमा आए त्यसले मस्तिष्कमा समेत असर गर्न सक्छ ।
रोपाइँको चटारोमा माटोसँग बढी नजिक हुने भइएकाले सचेत भएर काम गर्नुपर्ने हुन्छ । प्रदूषित माटोमा काम गर्ने व्यक्तिहरूले बुट तथा पञ्जा प्रयोग गर्नु उपयुक्त हुन्छ, तर हाम्रो गाउँघरमा यी कुरा सहज रूपमा उपलब्ध नहुँदा हात–खुट्टामा चोट लागेका वा मधुमेह भएका व्यक्तिले बढी सजग हुनुपर्छ । खेतीपातीको कामपछि हात खुट्टा राम्रोसँग सफा पानीले धुनुपर्छ ।
माटो प्रदूषित भएका कारण आजभोलि उपचारका लागि प्रयोग गर्न हामी जंगलबाट केही फिटको गहिराइबाट माटो झिकेर ल्याउँछौं । त्यस्तो माटो औषधीय गुणले भरिपूर्ण हुन्छ ।
प्राकृतिक चिकित्सक, वेलनेस हस्पिटल