रोपाहारको मेनु

- साप्ताहिक संवाददाता

असार १५, २०७६

हामीकहाँ असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाका रूपमा लिइन्छ । खेतीमा विविधता नआउँदासम्म नेपालको हकमा धान नै मुख्य बाली मानिन्थ्यो । वर्षायाममा गरिएको धान खेतीकै भरमा कुनै बेला औसत नेपालीले आफ्नो बर्षभरीको गर्जो टार्दै आएका थिए । धान खेतीकै आधारमा कुनै बेला नेपालको अर्थतन्त्र धानिएको थियो । यसैकारण असार १५ लाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ ।  आइतबार असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा लगभग देशैभरि धान रोपाइँ उत्कर्षमा हुनेछ ।

मनसुनले साथ दिए आजका दिन खेती किसानी गर्ने अधिकांश मानिस आ–आफ्नो खेतमा हुनेछन् । पानी छ्यापाछ्याप गर्ने, हिलो खेल्ने, धानको बेर्नाले केश सिँगार्ने जस्ता दृश्य त्यो बेला हेर्न लायक हुन्छ । कुरा धान रोप्ने वा हिलो खेल्ने मात्र होइन, रोपाइँका बेला खाईने खाना वा खाजाको पनि हो । विशेष अवसरमा विशेष परिकार खानु–ख्वाउनु नेपाली समाजको बिशेषता नै हो । यस क्रममा साप्ताहिकले यो वर्षको धान दिवसका अवसरमा मुलुकमा विभिन्न क्षेत्र तथा जातजातिमा रहेको रोपाइँका अवसरमा खाइने–ख्वाइने परम्परागत खाना–खाजाको खोजीनिती गरेको छ ।

गण्डक क्षेत्र

असार लागेसँगै पोखरा क्षेत्रमा रोपाइँको चटारो देखिन थालेको छ । रोपाइँका क्रममा खाइने खाजाको महत्व पनि उत्तिकै हुन्छ । रोपाइँको पहिलो दिन हिला पस्ने दिन भनिन्छ । उक्त दिन सेलरोटी खाने चलन छ । यो दिन गोरु, हली, बाउसे, खेतालासहित रोपाइँमा प्रयोग गरिने सामग्रीहरू पूजा गर्ने चलन पनि छ । 

पोखरा क्षेत्रमा रोपाइँको दिन खाजाका रूपमा घिउ र बेसार हालेर पकाइएको भात, दही–चिउरा, पोलेको वा उसिनेको मकै, चाम्रे, खीर, सुक्खा रोटी, तरकारी, अचार, पुरी आदी खाने चलन छ । पछिल्लो समयमा मासु–भात, मासु–चिउरालाई खाजाका रूपमा प्रयोग गर्न थालिएको छ । हली, बाउसे तथा रोपाहारले खाजा खाँदा गोरुलाई समेत नरम घाँस खान दिइन्छ । 

धान रोपेर सकिने दिनलाई हिलो छोड्ने दिन भनिन्छ । यो दिन रोपाइँमा प्रयोग गरिएका गोरुलाई नुहाइदिनुका साथै रोपाइँमा प्रयोग गरिएको सामग्रीहरू धोइपखाली गरिन्छ । हिलो छोड्ने दिन मास र चामलको पिठोको फुलौरा खाने चलन छ ।

पोखरा–१९ का वडासदस्य कोमलनाथ बास्तोलाका अनुसार हाते ट्याक्टरको प्रयोग बढ्न थालेकाले रोपाइँको पुरानो शैलीमा परिवर्तन हुँदै गएको छ र खाजाका रूपमा पनि बजारमा पाइने खानेकुराले प्राथमिकता पाउन थालेका छन् । 

राजाराम पौडेल

रोपाहारको खाजा दही–चिउरा 

पूर्वी तराई क्षेत्रमा रोपाहारले रोपाइँ गर्दा दही–चिउरासँगै चना, आलुका विभिन्न परिकार, गुन्द्रुकको अचारसँगै चाम्रे खान्छन् । उनीहरू खाजा खाँदै असारे भाका हाली शरीर र मनलाई ऊर्जामय बनाउँछन् । 

दहीले पाचन प्रणालीमा सहयोग गर्ने र चिउराले उर्जा दिने हुँदा रोपाहार तथा कृषकहरूका लागि रोपाइँको दिन दही–चिउरा नै प्राथमिकतामा पर्ने मोरङ, कानेपोखरी गाउँपालिका–७ की कृषक सावित्रा पराजुली बताउँछिन् । ‘दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्‍याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असर कम गर्छ,’ पराजुली भन्छिन्, ‘रोपाइँको दिन प्रायः खाजामा दही–चिउरा नै खाने गरेका छौं ।’

अनिल श्रेष्ठ 

काठमाडौं उपत्यका

धान खेतीका दृष्टिले कुनै बेला काठमाडौं उपत्यका एसियाकै उत्कृष्ट क्षेत्र मानिन्थ्यो । बढ्दो सहरीकरणको चाप नपर्दासम्म काठमाडौं उपत्यकाको धान खेती अनुपम नै थियो । पछिल्ला केही दशकयता सहरीकरणको चापले उपत्यकामा आधाभन्दा बढी धान खेती कंक्रिटको जंगलमा परिणत नै भैसकेको छ । तैपनि उपत्यकाका कतिपय परम्परागत गाउँबस्तीहरूमा धान खेतीको रौनक अझै हेर्न सकिन्छ । तीमध्ये प्रमुख क्षेत्र हुन्– ललितपुरको खोकना, भक्तपुरको बोडे–ठिमी, काठमाडौंको साँखु क्षेत्र आदि । 

उपत्यकाका रैथाने नेवारहरू थरी–थरीका मौलिक परिकारका लागि कहलिएका छन् । यहाँका मूल बासिन्दासँग फरक–फरक चाडपर्व र अवसरका लागि बनाइने खान्कीको लामै सूची छ । यसैसन्दर्भमा रोपाइँका बेला पनि यहाँका किसानहरू खासखास परिकार खान्छन् । यस्तो परिकार उपत्यकाको सन्दर्भमा स्थानअनुसार फरक–फरक भए पनि दही–चिउरा भने सबै ठाउँमा मुख्य परिकारका रुपमा समावेश गरिन्छ । 

ललितपुरको खोकनाको परम्पराले कुखुराको मासुलाई अस्वीकार गर्छ । त्यसैले त्यहाँ रोपाइँका दिन दही चिउरासँग हाँसको मासु, राँगाको मासुको मनला (मासुलाई उसिनेर साँधेको) आलुको परिकार (उसिनेर साँधेको पिरो आलु, आलुको झोल), उसिनेको बोडी, साँधेको भटमास, साँधेको गुन्द्रुक, सानो केराउको अचार जस्ता परिकार खाइन्छ । चामलको ठों (छ्याङ) त अनिवार्य पेय नै भैहाल्यो । स्मरणिय के छ भने रोपाइँका बेला उपत्यकामा ऐला (रक्सि) को उपयोग भने गरिँदैन । 

खोकनाबाहेक अन्यत्र भने कुखुराको मासु पनि चल्छ । अन्य परिकार उपत्यकाका सबै ठाउँमा लगभग उस्तै हुन्छन् । कुरा कसरी खाइन्छ भन्ने नै हो । रोपाइँको दिन जसको खेतमा रोपाईं गर्नुपर्ने हो उसैले रोपाहारका लागि स्थानीय भाषामा अर्नी भनिने खाजाको जोहो गर्नुपर्छ । बिहान खेतमा पुगेदेखि बेलुका रोपाईं नसकिँदासम्म रोपाहारहरूको खानपिन खेतमै हुन्छ ।

 

प्रकाशित :असार १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्