सन्दकपुरसहित इलामका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि साहसिक मोटरसाइकल यात्राको सम्भावना खोजिएको छ । अघिल्लो साता पश्चिम बंगालसहित नेपालका विभिन्न भेगवाट आएका राइडर्स सहभागी यो यात्रा मार्फत सम्भावना भएर पनि ओझेलमा रहेका पर्यटकीय क्षेत्रमा बंगालीसहित पश्चिमा पर्यटक पुर्याउने पहल थालिएको हो । सीमावर्ती सन्दकपुर क्षेत्रमा मानेभञ्ज्याङ हुँदै भारत भएर मात्र पर्यटक पुग्ने गरेकाले जिल्लाका अन्य क्षेत्रलाई उजागर गर्न पनि यो यात्रालाई महत्वपूर्ण मानिएको छ ।
झापाको हात्तीदेखि उत्तरी इलाममा पाइने रेडपान्डासँगै अन्य विविध पक्षमा पर्यटकीय आकर्षण बढाउने उद्देश्यले आयोजित उक्त यात्रामा सहभागी अधिकांश सदस्य ट्राभल एजेन्सीका प्रतिनिधि तथा पर्यटनकर्मी थिए । ‘मोटरसाइकल एक्सपिडिसन–२०१९’ शीर्षक दिइएको यो साहसिक यात्राका सहभागीले सन्दकपुर पुग्ने नयाँरुट पहिचान र त्यस क्षेत्रको महत्वका बारेमा जानकारी संकलन गरेका छन् । आउँदो अक्टोबर महिनादेखि साहसिक पर्यटनमा रुचि राख्नेहरूलाई उक्त क्षेत्रको भ्रमण गराउने योजना छ ।
‘हामीले विल्कुलै नायँ रुटसहित फरक स्वादका पर्यटकीय आकर्षणका विषयहरू खोजिरहेका छौं,’ पश्चिम बंगालका ट्राभल एजेन्सी सञ्चालक ओसन लेप्चाले भने, ‘यहाँका पर्यटकीय स्थलहरू, धर्म, संस्कृति, विशेषता, जैविक विविधतालगायका हरेक पक्षलाई पर्यटकसम्म पुर्याउने काममा लागेका छौं ।’
अहिले इलामबाट ढापपाखरी, मावुथाम हुँदै सन्दकपुर पुगेर टोड्के झरना, माइपोखरी हुँदै पानीटार, बेलासे क्षेत्रसम्म पर्यटकलाई मोटर साइकलमा घुमाउने योजनामा पर्यटनकर्मीहरू सक्रिय छन् ।
‘सन्दकपुरको ख्याति देश–विदेशमा भए पनि हामीले आसपासका क्षेत्रको एकमुस्ट विकास र प्रवर्द्धन गर्न सकेनौ,’ मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका सदस्य ईश्वरी गुरागाईलें भने, ‘यो कार्यक्रम अथाह सम्भावना बोकेका इलामका पर्यटकीय क्षेत्रहरूको जानकारी थप सहज हुनेछ ।’