साप्ताहिक संवाददाता
पोखरास्थित फेवातालको किनारमा सञ्चालित सातौं पुरुष तथा छैटौं महिला राष्ट्रिय बिच भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेका छन् ।
गत सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मीले घरेलु टिम गण्डकी प्रदेशलाई २१—१६, १८—२१ तथा १८—१६ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उक्त खेलमा आर्मी ‘ए’ का मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले गण्डकी ‘बी’ का राजु विक र अनिल दर्लामी मगरको जोडीलाई पराजित गरेको थियो ।
यसैगरी महिलातर्फ एपीएफ ‘ए’ ले नेपाल प्रहरी ‘ए’ लाई २१—१३, २१—१३ को सोझो सेटमा पराजित गर्यो । उक्त खेलमा एपिएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले प्रहरीका नीता साह र कोपिला उप्रेतीको जोडीलाई पराजित गरे ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका महिला तथा पुरुषतर्फका कुल १२ खेलाडी नेपालमा आयोजना हुने १३ औ साग एवं माल्दिभ्समा हुने एसियन सेन्ट्रल जोन बिच भलिवलका लागि आयोजना गरिने बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । बन्द प्रशिक्षणबाट महिला र पुरुष गरी कुल ८ खेलाडीलाई सम्बन्धित प्रतियोगिताका लागि छनौट गरिने बताइएको छ ।
राजाराम पौडेल