साप्ताहिक संवाददाता
रेश्मा घिमिरे टिकटक क्विनका रूपमा लोकप्रिय छिन् । टिकटकमा आकर्षक भिडियो तयार पारेरै सेलिब्रेटी भएकी रेश्मा अचेल म्युजिक भिडियोमा समेत सक्रिय हुन थालेकी छिन् । केही अघि कालीप्रसाद बासकोटाको इन्स्टाको फोटोमार्फत म्युजिक भिडियोको यात्रा प्रारम्भ गरेकी रेश्माले केही महिनाको अन्तरालपछि दोस्रो म्युजिक भिडियोमा काम गरिन् ।
गायिका देविका बन्दनाले आफ्नो नयाँ गीत माया घटेन...को म्युजिक भिडियोका लागि रेश्मालाई केही महिना नै कुर्नुपर्यो । गीत कम्पोज हुने बेलादेखि नै गायिका बन्दनाले उक्त गीतको भिडियोमा रेश्मालाई नै अभिनय गराउने योजना बनाएकी थिइन् । आफ्नै लागि तयार पारिएको गीत भएको थाहा पाएपछि रेश्मा पनि फुरुङ भइन् ।
यद्यपि गीत सुनेको केही महिनापछि मात्र उनले भिडियोका लागि समय दिन भ्याइन् । टेकेन्द्र शाहद्वारा निर्देशित उक्त भिडियो सार्वजनिक भएको केही दिनमै झन्डै तीन लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोमा रेश्माको सुन्दरता एवं नृत्यले चौतर्फी प्रशंसा पाएको छ ।