नेपाली कथानक चलचित्र ‘दयारानी’को हङकङमा प्रिमियम सम्पन्न भएको छ । मोहन (टिला) गुरुङ्को प्रस्तुती रहेको चलचित्र ‘दयारानी’लाई हङकङेली दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्रको प्रिमियममा सहभागी हुनका लागि चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेता दयाहाङ राई, अभिनेत्री दिया पुन, कलाकारद्धय पुष्कर गुरुङ, डिबी गुरुङ लगायत हङकङ पुगेका थिए ।
बाँझोपनको समस्या र त्यसले श्रीमान श्रीमतीको सम्बन्धमा आउँने उतार चढावलाई प्रस्तुत गरिएको ‘दयारानी’ सामाजिक मनोविज्ञानमा आधारित चलचित्र हो । पहिलोपटक मूलधारको सिनेमामा निर्देशक मार्फत आफुलाई प्रस्तुत गरेका माओत्सेलेनै यो चलचित्रको कथा लेखेका हुन् ।
चलचित्रको प्रिमियरमा उपस्थित भएका निर्देशकले भने ‘उल्लेखय दर्शकहरुको उपस्थितले हौसला मिलेको छ । दर्शकहरुको प्रतिक्रिया अनुसारनै आगामी दिनमा आफुलाई सच्याउँने छु ।’ अभिनेता दयाहाङ राईले हङकङबाट आफुलाई जहिल्यै मार्गदर्शन प्राप्त हुने भन्दै सम्पुर्ण हङकङेली दर्शकहरुलाई धन्यवाद दिए ।
गाउँले सोझी महिलाकोरुपमा हङकङेली दर्शकहरुले रुचाएकोमा दङ् हुदै अभिनेत्री दियाले भनिन ‘सवैको सकारात्मक प्रतिक्रियाले भावुक बने ।’ चलचित्रलाई हङकङमा रहेका ब्यवसायी मोहन (टिला) गुरुङ्सँगै किरण गुरुङ्, केन्द्र लिम्बु, मेजर खुसीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन प्रकाश गुरुङले संयुक्तरुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा बिजय बराल, प्रमिश गुरुङ, शिरिसा कुवर, नयन गुरुङ, कृष्टि गुरुङ समेतको अभिनय देख्न सकिन्छ । गरिब तथा असहाय विद्यायार्थीहरुको सहयोगार्थ हङकङमा चलचित्र प्रिमियर गरिएको संयोजक काजी गुरुङले बताएका छन् ।