साप्ताहिक संवाददाता
कोही बाँच्छन् काँडा बीच कोहीको जीवन फूल भयो
आँसु पिई बाँच्नलाई जन्म लिनु भुल भयो
दुःखको त्यो पहरामा बजारिदै घाइते हुँदा
ताली बजाई हाँस्थ्यौ तिमी आध्यारोमा म रुँदा ...
गीतका यि हरफहरु सांसद शान्ता चौधरीका हुन् । चौधरीले आफ्नै हिजोको जिन्दगीलाई सम्झेर लेखेका हरफहरुमा सोमबार गायिका अन्जु पन्तले आवाज भरिन् । संगीतकार सन्तोष श्रेष्ठले गीतमा संगीत गरेका थिए । भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ‘बिग्रेड’ ल्याउँदै पास गरेकी प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरीले एकैपटक २ गीत रेकर्ड गराएकी हुन् ।
नक्साल स्थित ‘स्टुडियो साउन्ड डिजाइन’मा रेकर्ड भएका उनका दुबै गीतमा गायिका अन्जु पन्तले स्वर दिएकी छिन् । दुबै गीतका संगीतकार सन्तोष श्रेष्ठ हुन् । भोला पौडेलले रेकर्डिङ् गरेको गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।
शान्ता चौधरीले ८ वर्षको उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी थिईन् । त्यसपछि विद्रोह गरेर सामाजिक कार्यमा सक्रिय रहदा चौधरीले आफू जस्तै १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था गरेकी थिईन् । शान्ता चौधरीको यस अघि पनि ‘कम्लरीदेखि सभासदसम्म’ नामक पुस्तक प्रकाशित भैसकेको छ ।