चलचित्रकर्मी र सिनेमा हललाई सम्मान

- साप्ताहिक संवाददाता

असार १७, २०७६

विकास बोर्डले स्थापनाको १९ औं वार्षिकोत्सवको अवस पारेर चलचित्रकर्मी तथा चलचित्र हललाई सम्मान गरेको छ । बोर्डको सभाकक्षामा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुल बासकोटाले उनीहरूलाई ‘कर्मी विशिष्ट योगदान सम्मान’बाट सम्मानित गरेका हुन् । 

सम्मानित हुनेहरूमा नेपाली चलचित्रको सुरुवातदेखि हालसम्म निरन्तर योगदान पुर्‍याएका निर्देशक लक्ष्मीनाथ शर्मा, २०३० को दशकदेखि हाल सक्रिय अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी, चलचित्र ‘आमा’की नायिका अभिनेत्री भुवन चन्द, संगीतकार शम्भुजित बासकोटा, नृत्य निर्देशक निर्देशक वसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनिविज्ञ प्रदीपकुमार उपाध्याय, निर्माता छविराज ओझा, पोष्टर डिजाइनर सुन्दर श्रेष्ठ छन् ।

त्यस्तै  पत्रकार विजयरत्न तुलाधार, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष तथा विज्ञापन एजेन्सी सञ्चालक निर्मलराज पौडेल, जापानी नागरिक डा. तोसिआकीइतोह र कामना पब्लिकेसन पनि सम्मानित भए ।

यसैगरी चलचित्र हलबाट काठमाडौंको विश्वज्योति सिनेमा भवन, बिर्तामोडको श्रीकृष्ण  मन्दिर, पोखराको विन्ध्यवासिनी  भवन र क्युएफएक्स सिनेमा समूह पनि ‘विशिष्ट योगदान सम्मान’बाट सम्मानित भए । कार्यक्रममा तीन चलचित्र ‘बुलबुल’, ‘कथा ७२’ र ‘गोपी’ ‘विशेष चलचित्र’बाट सम्मानित भए । प्रारम्भिक कालखण्डका पुराना चलचित्र एवं ऐतिहासिक वृत्तचित्रलाई डिजिटाईजेसन गर्न योगदान पुर्‍याएबापत महेन्द्रप्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), प्रभाकर भट्टराई र चिरञ्जिवी गुरागाईं कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पहिलो पहिलो नेपाली चलचित्र ‘आमा’, ‘हिजो आज र भोली’, ‘जीवनरेखा’, ‘के घर के डेरा’, ‘सिन्दुूर’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘कुमारी’, ‘बद्लिँदो आकाश’ र ‘शान्तिदीप’सहित ऐतिहासिक वृक्तचित्रहरूलाई डिजिटाइजेसन तथा रेस्टोरेसन गरेको जानकारी दिइयो । कार्यत्रममा विकास बोर्डको वार्षिक मुखपत्र ‘मञ्च’ पनि सार्वजनिक गरिएको थियो । मन्त्री बासकोटाले नेपाली चलचित्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने जनाउँदै त्यससम्बन्धी एजेन्डा लिएर आउन आग्रह गरे ।

उनले आफूलाई बौद्धिक बताउने केही व्यक्तिको बहकाउमा लागेर गर्न लागेको काममा पनि अवरोध गराउने प्रवृक्ति बढेकोमा चिन्ता व्यत्त गरे । सरकारले नेपालमा भारतीय ‘आइफा अवार्ड’ गर्न स्वीकृति दिएको विषयमा विवाद बढेको देख्दा आश्चर्य व्यक्त गरे । ‘उहाँहरूले नेपालमा आइफा अवार्ड गर्ने भनेर प्रस्ताव ल्याउनुभयो । उहाँहरूको प्रस्ताव मनपरेर हामीले स्वीकृति दिएका हौं’, बासकोटाले भने, ‘हामीले स्वीकृति मात्र दिएका हौं । एक सुको दिएका छैनौं ।’ उनले  विकास कम्पनी मातहत रहेको बालाजुको जग्गा हराएकोमा चासो व्यक्त गर्दै उक्त जग्गा बेच्नेलाई आफूले कुनै पनि हालतमा नछोड्ने बताए । 

बोर्डका अध्यक्ष केशव भट्टराईले मन्त्री बासकोटाको निर्देशनअनुसार साउनबाट आफूहरूले बक्सअफिस मुलुकभरका हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्यकामा इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, आगामी असार २७ मा ‘राष्ट्रिय  पुरस्कार’ प्रदान गरिने र छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित :असार १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्