कबड्डी नेपालका लागि नौलो खेल होइन तर बालुवामा खेलिने बिच कबड्डीसँग धेरै नेपाली अपरिचित नै छन् । समुन्द्री किनारको बालुवा अर्थात् बिचमा खेल्दा ‘बिच कबड्डी’ नाम पाएको यो खेलको राष्ट्रिय प्रतियोगिता पहिलो पटक नेपालमा पनि सम्पन्न भयो । आयोजक अखिल नेपाल कबड्डी संघले नारायणी नदीको किनारमा असार ६ र ७ गते बिच कबड्डीको पहिलो राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले गोलाप्रथाद्वारा उपाधिमाथि कब्जा जमाएको थियो ।
आठ टिम सहभागी यो प्रतियोगिताको सेमी फाइनलमा पुगेका चार टिमबीच गोला प्रथाअनुसार विजेता निर्णय गरिएको थियो जसमा प्रदेश नम्बर–५ दोस्रो भयो भने सेमी फाइनलमा पुगेका अन्य दुई टिम— प्रदेश–३ र प्रदेश–२ तेस्रो भए ।
कबड्डी नेपालको पुरानो र प्रख्यात खेल भए पनि बिच कबड्डीको राष्ट्रिय स्तरको खेल पहिलो पटक आयोजित गरिएको आयोजक संस्था अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले बताइन् । असार ६ गते शुक्रबार सुरु भएको प्रतियोगितामा कर्णाली बाहेक अरु ६ प्रदेश तथा २ वटा विभागीय टोली नेपाल प्रहरी एवं सशस्त्र प्रहरी सहभागी थिए ।
कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटका अनुसार बिच कबड्डी १५/१५ मिनेट गरेर खेलाइन्छ भने त्यसबीच पाँच मिनेटको मध्यान्तर हुन्छ । बिच कबड्डीमा प्रत्येक टिममा चार जना खेलाडी रहन्छन् । कम खर्चिलो, तराई, पहाड, हिमाल जहाँ पनि खेल्न मिल्ने, खेल्ने ठाउँ थोरै भए पनि हुने भएका कारण कबड्डी नेपाल सुहाउँदो खेल भएको प्रशिक्षक भाटले बताए ।
भारतमा प्रो कबड्डीको व्यवसायिक खेल नै हुने गरेको छ । उक्त लिगमा दुई जना नेपाली खेलाडी पनि सहभागी हुँदैछन् । नेपालमा यसअघि बिच कबड्डी नभए पनि एसियाली तथा दक्षिण एसियाली स्तरका प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्दै आएको प्रशिक्षक भाटले बताए ।
प्रशिक्षक भाटका अनुसार चारजनाले खेल्ने बिच कबड्डीका साथै एक टिमबाट सातजनाले खेल्ने नर्मल कबड्डी, पाँचजनाले खेल्ने इन्डोर कबड्डी तथा सर्कल कबड्डी गरेर कबड्डीका पाँच बिधा छन् । सबै विधाको कबड्डी नेपालमा खेल्न सम्भव छ भन्ने सन्देश दिन पनि बिच कबड्डीको प्रतिस्पर्धा आयोजित गरिएको प्रशिक्षक भाट बताउँछन् ।
‘नेपालमा समुन्द्र छैन तर खोला, नदी ठाउँ–ठाउँमा छन् । कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता ठूला नदी किनारको बालुवामा बिच कबड्डी खेल्न मिल्छ । त्यसैले पहिलो पटक हामीले राष्ट्रिय स्तरको बिच कबड्डी आयोजित गरेर हामीकहाँ सबै खालको कबड्डी खेलाउन सकिने सन्देश दिएका छौं’ आयोजक संस्था अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले भनिन् ।