आफूलाई सच्याउन सकिन्छ, अरूलाई सकिंदैन

- जनक तिमिल्सिना

असार १८, २०७६

सूत्रभन्दा पनि पहिले परिस्थिति ठम्याउनुपर्‍यो, किन असहज भयो । त्यसपछि तपाईंले सोच्नुपर्‍यो त्यो परिस्थितिमा टाउको दुखाएर केही काम छ, केही परिवर्तन आउँछ भने हो, आउँदैन भने किन टाउको दुखाउने ?  पहिले किन त्यस्तो अवस्था सिर्जना भयो, त्यो के कारणले हो ? भनेर ठम्याउनुपर्छ, अनि त्यसपछि आफ्नो कारणले हो भने आफैलाई करेक्ट गर्न सक्नुहुन्छ, अरूका कारणले हो भने अरूलाई त तपाईंले सच्चाउन सक्नुहुन्न ।

 

 

सानो संसार मार्फत सिने क्षेत्रमा उदाएकी नायिका नम्रता श्रेष्ठको फरक विशेषता छ । उनी न उति साह्रो मिडियामा देखिन्छन्, न सार्वजनिक जमघटहरूमा नै । प्रायःजसो साइलेन्ट बस्न रुचाउने नम्रता वर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्छिन् । पुस्तक, संगीत एवं यात्राप्रति उनको अनौठो प्रेम छ । वर्षमा एउटा नाटक पनि गर्छिन् भने व्यवसायमा पनि उनी उत्तिकै सफल छिन् । अहिले चलचित्र जाइराको मार्केटिङ र प्रमोसनमा व्यस्त आकर्षक शारीरिक बनावट एवं बोल्ड लुक्सी धनी नम्रतासँग उनको चलचित्र तथा व्यवसायिक अनुभव, दिनचर्या, खानपिन आदि विषयमा केन्द्रित रहेर जनक तिमिल्सिनाले गरेको कुराकानी :

जाइरा कस्तो सिनेमा हो ? 

मैले अहिले फाइनल कट हेर्न बाँकी नै छ । निर्देशकले एउटा स्टाइलिस एक्सन फिल्म बनाउन खोज्नुभएको छ । अहिले भिएफएक्सको काम चलिरहेकाले फाइनल भने हेर्न पाइएको छैन । 

सिनेमासँगै बिजनेसमा पनि सक्रिय हुनुहुन्छ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

सजिलो के भयो भने मेरो रेस्टुराँ बिजनेस भएकाले प्रायः म आफ्नै रेस्टुराँमा मिटिङ गर्छु । त्यसले दुवैतिर समय दिन पाउँछु, एउटा फिल्मको काम पनि भैरहेको हुन्छ, एट द सेम टाइम रेस्टुराँमा के भैरहेको त्यो पनि हेर्न पाउँछु । यसमा मेरो साथी रेमन र अजय पनि हुनुहुन्छ, उहाँहरूले पनि समय दिइरहनुभएको छ । 

चलचित्र र व्यवसायबीच के फरक रहेछ ? 

सुरुवाती चरणमा दुवै उस्तै हुन् । कुनै चिजप्रति आत्मविश्वासी हुनुहुन्छ भने तपाईंले त्यो काम सुरुवात गर्ने हो । त्यसकारण आधारभूत त त्यही नै हो । त्यसपछि प्रमोशन गर्ने र अघि बढाउनेमा दुवैको तरिका फरक–फरक हुन्छ । 

दुवैमा उत्तिकै सफल हुनुहन्छ, सफलताको फर्मुलाचाहिँ के रहेछ ? 

मलाई के लाग्छ भने डेडिकेसन र हार्डवर्क नै सफलताको मूल सूत्र हो । किनभने म डिभोटेड छु, आफ्नो काम भनेपछि सिरियस छु र म आफ्नो काममा एकदमै अनेष्ट पनि छु भने मात्र म सफल हुनसक्छु । त्यसैले सफलताका लागि यी तीनवटा कुरा नै चाहिन्छ जस्तो लाग्छ । 

बढी चुनौती चलचित्रमा छ कि बिजनेसमा ? 

दुवैमा समान छ, किनभने प्रतिस्पर्धा एकदमै उच्च छ अहिले । यतिधेरै रेस्टुराँ छन्, सबैले केही न केही नयाँ र राम्रो गरौं भनेर काम गरिरहनुभएको छ । जुन एकदमै राम्रो कुरा पनि हो । त्यसकारण हामीले पनि त्यो किपअप गर्नुपर्ने हुन्छ । कसरी बेटर गर्ने भनेर हामीले पनि काम गर्नुपर्नेछ । इन द सेम टाइम फिल्म पनि यति धेरै बनिरहेका छन्, यति धेरै मेकर्सहरू हुनुहुन्छ । कसरी राम्रो फिल्म बनाउने भनेर हामीले त्यसमा हार्डवर्क गर्नुपर्ने हुन्छ । त्यसैले दुवैमा समान चुनौती छन् । 

सिनेमामा त निश्चित पारिश्रमिक लिएर काम गर्नुहुन्छ, बिजनेसमा त सबै आफ्नै लगानी हुन्छ । रिस्कका हिसाबले बिजनेसमा बढी रिस्क भएन र ? 

दुवैमा उत्तिकै हो, किनभने अभिनेत्रीका हिसाबले मेरा लागि फिल्म चल्नु पनि उत्तिकै आवश्यक छ । मैले अभिनय गरेको फिल्म चलेन भने अर्को पटक कसरी अर्को प्रोड्युसरलाई ममाथि लगानी गर्नुहोस् भन्न सक्छु ? त्यो हिसाबले फिल्म चल्नु पनि महत्वपूर्ण छ । अहिलेको कुरा गर्दा म फिल्ममेकर अर्थात प्रोड्यसर पनि हुँ । त्यो भैसकेपछि म आफैं लगानी गर्छु । फिल्ममा पनि लगानी गर्छु, बिजनेसमा पनि लगानी गर्छु त्यसकारण दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण हुन्, फाइनान्सियल्ली पनि मेरो करिअरका हिसाबले पनि । 

बजारमा अन्य अभिनेत्रीको हल्लीखल्ली हुन्छ, तपाईं त साइलेन्स नै बस्नुहुन्छ, किन ? 

होइन, म एउटी कलाकार हुँ, मलाई मेरो काम बढी हाइलाइट्स होस्, कामकै कुरा होस भन्ने लाग्छ । त्यसकारण मेरा व्यक्तिगत कुरा न्युजमा नआउँदा पनि हुन्छ । कामको बढी कुरा होस भनेरै मैले काम गर्ने, यत्रो मेहनत गर्ने हो । म वर्षमा एउटा फिल्म लिन्छु, यति धेरै मेहनत गरिरहेकी हुन्छु, त्यसको कुरा होस् न । म व्यक्तिगत रूपमा कहाँ गएर खान्छु, कहाँ घुम्न जान्छु त्यस्ता कुराहरू त न्युजमा नआउँदा पनि हुन्छ । मानिसहरू मेरा यस्ता व्यक्तिगत कुरामा त्यति धेरै इन्ट्रेस्टेड हुनु होलाजस्तो पनि लाग्दैन, यदि हुनुहुन्छ भने कहिलेकाहीँ म मेरा गतिविधिहरूका बारेमा सोसल मिडियामा पोस्ट गरिहाल्छु । मलाई व्यक्तिगत रूपमा भन्दा मेरो काम र व्यवसायिकताको कुरा बढी मिडियामा आओस् जस्तो लाग्छ । जस्तो अरू बेला तपार्इंहरूसँग भेटेर के कुरा गर्ने मैले ? म यहाँ सामान किन्न गए, म यो फिल्म हेर्दैछु, त्यसबाहेक अन्य कुरा मसँग हुँदैनन् । त्यसकारण पनि काम नभएका बेला म मिडियामा उति आउँदिन । 

वर्षमा एउटा मात्र सिनेमा गर्नुहुन्छ । प्रस्ताव नआएर हो कि सेलेक्टिभ भएर ? 

म एक वर्षमा एउटा भन्दा बढी फिल्म गर्न सक्दिनँ । अहिले होइन नि त, मेरो पहिलो फिल्म ‘सानो संसार’ सन् २००८ मा आएको थियो, त्यही बेलादेखि नै म वर्षमा एउटा मात्र फिल्म गर्छु । त्यो फिल्म साइन गर्दै मैले निर्णय गरिसकेकी थिएँ, यदि मैले फिल्मलाई निरन्तरता दिने हो भने वर्षमा एउटा फिल्म मात्र गर्छु तर बेस्ट गर्छु । त्यो समयदेखि नै मैले यसलाई निरन्तरता दिइरहेकी छु । म आफूकहाँ आएका सबै स्क्रिप्ट पढ्छु, र त्यसमध्ये सबैभन्दा वेष्ट कुन छ त्यसमा काम गर्छु । सामान्यतयाः कस्तो छ भने कामका हात हालिसकेपछि म प्रि–प्रोडक्सनमा पनि बस्छु स्क्रिप्ट एनालाइसिसमा र त्यसपछि वर्कसप हुन्छ, त्यसपछि सुटिङ, पोस्ट प्रोडक्सन र प्रमोसनमा पनि त सपोर्ट गर्नुपर्छ, कलाकारका नाताले । प्रोड्युसरहरूले ममाथि यति पैसा लगानी गर्नुभएको हुन्छ, मैले पनि त उहाँहरूलाई सपोर्ट गर्नुपर्छ नि । त्यो भएर झन्डै ६ महिना त त्यत्तिकै जान्छ । त्यसकारण वर्षमा म एउटा प्ले र एउटा फिल्म मात्र गर्छु । त्यो भयो भने अभिनेत्रीका रूपमा म पनि ग्रो हुन पाउँछु । 

यो वर्ष कुनै नाटकको योजनामा हुनुहुन्छ ? 

अहिले काम भैरहेको छ, मलाई एउटा कन्सेप्ट रुचिकर लाग्यो । यद्यपि त्यसको योजना जाइराको रिलिजपछि मात्र बनाउँछौं । त्यो नाटक सन् २०२० का लागि हुनेछ । 

तपाईंको पारिश्रमिकको कुरालाई लिएर पनि बजारमा अनेकथरिका अड्कल काटिन्छ । एउटा चलचित्रको पारिश्रमिकले वर्षभरिलाई पुग्छ त ? 

मलाई पुग्छ । यो कुरा व्यक्तिमा पनि निर्भर गर्छ जस्तो लाग्छ । अब तपाईंले ५ लाख कमाउनुहुन्छ, ५ लाख नै सबै खर्च गर्नुहुन्छ भने पुग्दैन । धेरै कुरा तपाईंको जीवनशैलीमा पनि निर्भर गर्छ, म जति डिमान्ड गर्छु त्यो वर्थी छ जस्तो लाग्छ । वर्षमा एउटा फिल्म गर्छु, त्यसमा त मैले डिमान्ड गर्नुपर्छ किनभने म समय पनि धेरै दिन्छु । म एक्टर मात्र भएर बस्दिनँ, सबै चिज हेर्छु । त्यसअनुसार मैले लिने पारिश्रमिक वर्थी नै छ । मलाई लाग्छ, म सर्भाइभ गर्छु । मेरो जीवनशैली पनि त्यही अनुसारको छ । त्यसकारण मलाई पुगेको छ, म अरूका बारेमा बोल्दिन् । 

सामान्यतः दिन कसरी बिताउनुहुन्छ ? 

नर्मल्ली बिहान उठ्छु, ट्रेनिङ भएका बेला ट्रेनिङमा जान्छु । त्यहाँबाट फर्किएपछि ब्रेकफास्ट हुन्छ । त्यसपछि म मिटिङ तथा भेटघाटका काम गर्छु । यहीँ एटिकमा आउँछु, यहीँ हाम्रो प्राइभेट मिटिङ रुम छ, अरुले देख्दैनन् पनि त्यसकारण धेरैजसो मिटिङ यही गर्छु । बेलुकाको समय फ्यामिलीसँग बिताउँछु । 

खुब फिट देखिनुहुन्छ, जिम जानुहुन्छ कि योग गर्नुहुन्छ ? 

मैले जाइराका लागि वर्कआउट सुरु गरेकी थिएँ । अहिले पनि त्यही गरिरहेकी छु, फेरि यो विकदेखि किक बक्सिङसमेत स्टार्ट गरेकी छु । किक बक्सिङले नै पूरा थाकिन्छ, त्यसैले अहिले यसैले पुगिरहेको छ । 

खानपिनमा कत्तिको ध्यान दिनुहुन्छ ? 

खानपिनमा मलाई एकदमै स्पाइसी कुरा मन पर्छ, धेरै खान मन लाग्छ । अहिले जिरो डाइट स्टार्ट गरेकाले बल्ल अलिअलि कार्वहरू खान पाइरहेकी छु, नत्र डाइटमा नो कार्व, नो सुगर । 

स्पाइसी खानेकुराले मानिसको सौन्दर्यमा प्रभाव पार्छ भनिन्छ नि ? 

खै, त्योचाहिँ मलाई थाहा भएन । किनभने, म त एकदम धेरै स्पाइसी रुचाउँछु । खुर्सानी पनि निकै खान्छु । 

तपाईंलाई आफ्नो सौन्दर्यको रहस्य के हो जस्तो लाग्छ ? 

पोजेटिभिटी नै मलाई मेरो सौन्दर्यको कारण हो जस्तो लाग्छ । त्यसबाहेक बुवा र ममीको जिनका कारणले पनि राम्री भएकी हुँ कि ? आधारभूत रूपमा मलाई पोजिटिभिटी नै लाग्छ, किनभने कुनै पनि अवस्थामा आई डन्ट गिभअप । कसरी सोलुसन निकाल्ने, कसरी त्यसलाई बेटर गर्ने भन्नेतिर लाग्छु । त्यो भएर पनि होला जस्तो लाग्छ । जहिले पनि पोजिटिभ सोच भयो भने मन सधैं खुसी रहन्छ । मानिसको खुसी त उसको आन्तरिक सुन्दरता हो नि । 

असहज परिस्थितिबाट निस्कने सूत्र के हो ? 

सूत्रभन्दा पनि पहिले परिस्थिति ठम्याउनुपर्‍यो, किन असहज भयो । त्यसपछि तपाईंले सोच्नुपर्‍यो त्यो परिस्थितिमा टाउको दुखाएर केही काम छ, केही परिवर्तन आउँछ भने हो, आउँदैन भने किन टाउको दुखाउने ? किनभने तपाईंले केही गर्न सक्नुहुन्छ, ठीक छ, केही गर्न सक्नुहुन्न भने त झन तपाईंको समय बर्बाद हुन्छ । त्यसकारण अब त्यो सिच्युएसनलाई कसरी राम्रो गर्ने भन्नेतिर जानुपर्ने हुन्छ । पहिले किन त्यस्तो अवस्था सिर्जना भयो, त्यो के कारणले हो ? भनेर ठम्याउनुपर्छ, अनि त्यसपछि आफ्नो कारणले हो भने आफैलाई करेक्ट गर्न सक्नुहुन्छ, अरूका कारणले हो भने अरूलाई त तपाईंले सच्चाउन सक्नुहुन्न । 

सोसल मिडियामा कत्तिको समय बिताउनुहुन्छ ? 

म त्यति समय बिताउँदिनँ । कहिलेकाहीँ मेरा प्रशंसक र वेलविसरहरूलाई रिप्लाई गर्न अवश्य समय दिन्छु । किनभने उहाँहरूले त्यत्रो समय निकालेर मेरा लागि केही लेखिरहनुहुन्छ भने मैले त्यसको रेस्पेक्ट त गर्नैपर्ने हुन्छ । 

संगीत कत्तिको सुनुहुन्छ ? 

संगीत त म बिहान उठेदेखि राति सुत्दासम्म सुन्छु । किनभने म सामान्यतः सधैं आफैंसँग हुन्छु, कि किताब पढिरहेकी हुन्छु कि केही सोचिरहेकी हुन्छ तर ब्याकग्राउन्डमा म्युजिक चाहिन्छ । म्युजिक भएन भने मलाई कस्तो एमटी फिल हुन्छ । बरु, वरिपरि मान्छे भएनन् भने मतलब लाग्दैन, म्युजिक भएपछि म एक्लै भए पनि आई डन्ट माइन्ड । 

कस्ता गीत बढी मन पर्छन् ? 

जस्तो पनि गीत सुन्छु, सिचुएसनअनुसार । कुनैको म्युजिक राम्रो लाग्छ, कुनैको लिरिक्स मन पर्छ । किताब पढिरहेका बेला पनि म्युजिक सुनिरहेकी हुन्छु, कुनै बेला यत्तिकै बसिरहेका बेला पनि म्युजिकमा डुबिरहेकी हुन्छु । मलाई राम्रा शब्द भएका गीत मन पर्छन् ।

पुस्तक कत्तिको पढ्नुहुन्छ ? 

पुस्तक पनि पढिरहेकी हुन्छु । विदेशी लेखकका पुस्तक बढी पढ्छु । मलाई सबै किसिमका पुस्तक मन पर्छन् । अहिले म एलिजावेथ विगबर्टको ‘बिग म्याजिक’ पढ्दैछु । यो एकदमै राम्रो पुस्तक छ, मैले साथीहरूलाई पनि रिकोमेन्ड गरेकी छु । मेरो बर्थडेमा पनि साथीहरूले थुप्रै पुस्तक गिफ्ट गरेका छन्, म ती पुस्तक पढ्न एक्साइटेड छु । अलिकति समय पाए भने ती सबै पुस्तक पढी सिध्याउनेछु । एक्लै बस्यो, म्युजिक सुन्यो, किताब पढ्यो, आहा ! मलाई आनन्द लाग्छ । फुर्सदमा भएँ भने म्युजिक सुन्ने, किताब पढ्ने र फिल्म हेर्ने काम नै गर्छु । 

कस्ता फिल्म रोज्नुहुन्छ ? 

म सबै किसिमका फिल्म हेरिरहेकी हुन्छु । विदेशी भाषाका चलचित्र पनि हेर्छु, अंग्रेजी फिल्महरू पनि हेर्छु । मलाई फिल्म ओरिजन ल्याङवेजमै हेर्न मन लाग्छ, म उनीहरूको हाउभाउबाट कथा बुझ्ने प्रयास गर्छु । कुनै मन परेछ भने दोहोर्‍याएर पनि हेर्छु, विद सब टाइटल, विदआउट सबटाइटल्स । अहिले त सबै फिल्म हेर्न एक्सेस पनि छ । 

यात्रामा पनि खुबै निस्कनुहुन्छ, आफ्नो रोचक यात्राका बारेमा बताइदिनुहोस् न ? 

बाहिर जाँदा पनि सामान्यतयाः के–के भै नै रहेको हुन्छ । न्युजिल्यान्डको होलिडेमा एकदमै स्वतन्त्र भएर हिँड्न पाएकी थिएँ, त्यसकारण विदेशको रमाइलो लागेको यात्रा त्यही हो । नेपालको एभरेस्ट बेसक्याम्पको यात्रा पनि एकदमै रोमाञ्चक रह्यो ।

 

तपाईंका तीन जना मिल्ने साथी ? 

लेक्स लिम्बु, स्कुलकी साथी रविना पुन तथा पिंकी दिदी (मेरी आफ्नै दिदी) ।

केश पाल्नुभएछ, के फेरि जाइराजस्तै देखिन केश काट्ने योजना छैन ? 

अब काट्दिनँ । अब काटें भने फेरि अर्को फिल्मका लागि धेरै समय कुर्नुपर्छ । अब म अर्को फिल्मका लागि जीउ बनाउँदैछु । जाइरामा अन्तिममा मात्र छोटो केश हो, अगाडि त लामै छ ।

 

प्रकाशित :असार १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्