न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई, तिमी मसँग नबोल्ने अरे, बल गरेर त्यो मन यतालगायत करिब १५ सय गीतमा संगीत भरेका क्रियाशील संगीतकार तथा गायक हुन महेश खड्का । गीत गाउनकै लागि खोटाङबाट काठमाडौ आएका खड्कालाई उनका सिर्जनाहरूले संगीतकारका रूपमा स्थापित गरायो । एक समय आधुनिक र नेपाली रजतपटमा संगीतकारका रूपमा एकछत्र राज गरेका खड्काको एकपछि अर्को सुपरहिट गीत बजारमा आए । सार्वजनिक भएका कुनै चलचित्र थिएनन्, जहाँ उनको संगीत नभएको होस् । रोयल्टी संकलन अभियानको नेतृत्व गरिरहेका खड्का सांगीतिक प्रस्तुतिका लागि हङकङ पुगेका बेला साप्ताहिक संवाददाता अनोज रोक्काको प्रश्न :
केमा व्यस्त हुनुहुन्छ ?
म अहिले संगीत रोयल्टी संकलन समाजको संयोजकका रूपमा हाम्रा माग, अधिकार तथा अभियानको नेतृत्व गरिरहेको छु ।
संगीत रोयल्टी संकलन समाजको आवश्यकता कसरी महसुस गर्नुभयो ?
वास्तवमा हाम्रा गीत–संगीतहरू चर्चित बन्छन, हामीलाई धेरैले चिन्नुहुन्छ तर समयसँगै हामी आर्थिक रूपमा खस्कँदै गैरहेका छौं । मेहनतका साथ गरिएको सिर्जनाको मूल्य नपाउँदा संगीतकर्मीहरूमा निराशा बढिरहेको छ । हाम्रै सिर्जनामार्फत विभिन्न क्षेत्रबाट आयआर्जन गरिन्छ तर हामी जस्ताको तस्तै । हामी अझै पनि पीडित भएर नबसौं, आफ्नो सिर्जनाको उचित मूल्यका लागि अभियानको थालनी गरौं भन्ने सोचले रोयल्टी संकलनको अभियान सुरु गरेका हौ ।
के–कस्ता पहल भैरहेका छन् त ?
रोयल्टी संकलनमा धेरै जना सकारात्मक भएको पाएको छौं । हामी नेपालको सवै क्षेत्रमा यो अभियान पुर्याइरहेका छौं । हामीले ५ सय ५० वटा रेडियोलाई लाइसेन्सी गरिसक्यौं । सार्वजनिक यातायातबाट रोयल्टी उठिरहेको छ । अहिले हाम्रो टिम नेपालको पूर्वदेखि पश्चिमसम्मका यातायातका कार्यालयमा गै कम्प्युटरमार्फत डिजिटल सिस्टमबाट डाटा प्राप्त गर्ने सफ्टवेयरहरू जडान गर्दै हिडेको छ । केही समयभित्र हामी सबै रेडियो स्टेसनमा पनि त्यो डिजिटल सफ्टवेयर जडान गर्छौं जसले कुन गीत कति बजाइयो भन्ने रेकर्ड दिन्छ । अहिले टेलिकमहरूबाट रोयल्टी लिइरहेका छौं भने स्टेजहरूबाट लिने तयारी भैरहेको छ ।
विगतका दिनमा गीत बज्ने यी यावत ठाउँबाट पैसा आउँदैनथ्यो ?
कहींबाट एक रुपैयाँ पनि आउँदैनथ्यो । सबैले हाम्रा सिर्जना निःशुल्क उपयोग गरिरहेका थिए ।
सरकारको तर्फबाट सहयोग पाइरहनुभएको छ ?
हामीले पोहोरदेखि यो वर्षसम्म अनुमानित उठ्नुपर्ने २५ करोड रोयल्टी उठाउँन सकिरहेका छैनौं । सरकारी ब्युरोकेसी, प्राविधिक कठिनाइ वा सरकारलाई बुझाउन नसकेका कारण पनि हुन सक्छ । प्रतिलिपि अधिकार ऐन–२०५९ कार्यान्वयन गराउन पनि सरकारी स्तरमा छलफल चलिरहेको छ । आशा छ, सरकारी तवरबाट साथ र सहयोग पाउँछौं ।
स्रष्टाहरूबाट कत्तिको साथ र सहयोग पाउनुभएको छ ?
हामी संगीतकार, गीतकार वा समग्रमा स्रष्टाहरू स्टुडियोभित्रै रमाउने प्रवृत्तिका रहेछौं । स्रष्टाले आफ्नो अधिकार नबुझेको लामै समय भएछ । हाम्रा अग्रज स्रष्टाहरूले पनि हाम्रा अधिकार खोजिदिनु भएन । युवापुस्तामाझ पनि त्यो संस्कृतिको विकास भएन, जसका कारणले केही गाह्रो भएको छ, तर एक दिन सबैले बुझ्नुहुन्छ ।