साप्ताहिक संवाददाता
‘मेरो गाउँ मेरो ठाउँ’ शीर्षकमा वी विल राइज फाउन्डेसनले आयोजना गरेको देशव्यापी भिडियो च्यालेञ्ज प्रतियोगितामा ‘जर्नी टु सिंहला’ बर्षको सर्वोत्कृष्ट भिडियो घोषित भएको छ । प्रतियोगितामा देशभरबाट १ सय ३२ वटा भिडियो सहभागी थिए ।
उक्त प्रतियोगितमा विक्रम न्यौपानेको ‘राइनास’ भिडियोले फस्ट रनर्सअप भयो भने सोलु दूधकुण्ड गाउँपालिकाको ‘सोलु दूधकुण्ड’ ले सेकेन्ड रनर्सअप हासिल गर्याे ।
प्रतियोगितामा ‘छठ पूजा’ले पब्लिक च्वाइस एवार्ड जित्यो । उक्त भिडियो जनकपुर क्षेत्रलाई आधार बनाएर कुमार भाष्करले निर्माण गरेका थिए ।
प्रतियोगितामा फ्युचर स्टारको उपाधि आर्यन कुँवरले जिते । उनले ‘मानुङ कोट’ शीर्षकको भिडियो निर्माण गरेका थिए । बेस्ट स्क्रिप्ट राइटरको उपाधि भीमलाल श्रेष्ठले निर्माण गरेको ‘मकै विवाह’ले प्राप्त गर्याे ।
भिडियोमा सहभागी महिलाहरूबीच छुट्टै प्रतिस्पर्धा गराइएको थियो जसमा वुमन भिडियो मेकर अफ द इयरको उपाधि देवकी विष्टले जितिन् । उनले ‘ट्युन अफ झाँक्री’ बाट उक्त सफलता प्राप्त गरेकी हुन् ।
प्रतियोगितामा मोस्ट पोटेन्सियल डेस्टिनेसनको एवार्ड ‘सन्दकपुर’ ले पायो । उक्त भिडियो सन्दकपुर गाउँपालिकाले निर्माण गरेको थियो ।
वेस्ट टेक्निकल सिनेम्याटोग्राफीको उपाधि ‘रेड चारोट’ले पायो । यो भिडियो दिनेश श्रेष्ठले बनाएका हुन् ।
मोस्ट इनर्जेटिक भिडियो मेकर एवार्ड विजय राईले पाए । उनले इलामको धार्मिक स्थल ‘सेतीदेवी’ सम्बन्धी भिडियो निर्माण गरेका थिए ।
प्रतियोगितामा सहभागिता जनाउन देशभरका युवाहरूलाई आह्वान गरिएको थियो । यो खुला प्रतिस्पर्धामा जो–कोही आफ्नो गाउँघरका पर्यटकीय स्थल, कला–संस्कृति, खानपान आदि उजागर गर्ने किसिमको भिडियोमार्फत सामेल हुन सक्थे । प्रतियोगिता गएको २०१९ जनवरी १ मा सुरु भएर मे ३१ सम्म चलेको थियो । प्रतियोगिताका लागि विभिन्न ठाउँबाट युवाहरुले स्वतःस्फूर्त भिडियो निर्माण गरेर पठाएका थिए । प्राप्त भिडियोलाई विभिन्न ८ विधाअन्तर्गत प्रतिस्पर्धामा राखिएको थियो ।
वी विल राइज फाउन्डेसनले देशभरको पर्यटकीय गन्तव्यलाई चिनाउन तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो भिडियो च्यालेन्ज गराएको आयोजक समितिका संयोजक निर्मल श्रेष्ठले बताए ।