कान्तिपुरमा भर्खर सुरु भएको छ यो वर्षको मनसुन । पानी नपरेर रूख–वृक्षमा पलाउन लागेका पात–पतिंगर सुक्न लागिसकेका थिए । पानीको अभावमा कान्तिपुरमा कोल्ड ड्रिंक्स पिउनेहरूको संख्या बढेको थियो भन्न नमिल्ला । आइसक्रिम पनि त सँगै उभिएको थियो । एउटा रेस्टुराँले पम्प्लेट टाँस्यो— लस्सी गिलासको ८८ रुपैयाँ । यो के हिसाब हो भाइ ! ९० रुपैयाँ भन, बरु १ सय नै भन । यो चर्को गर्मीमा १२ रुपियाँको मुख कसले हेर्ला र ! ‘यो ८८ रुपैयाँसाहूहरूले केही सोचेरै राख्नुभएको होला,’ रेस्टुराँको म्यानेजर जानकारी दिंदै थियो । के सोचे होलान् त साहूहरूले ? प्रश्नको जवाफ आउनेवाला छैन ।
भनसुनको सहरमा मनसुन । भनसुन र मनसुनको कुनै सम्बन्ध छ जस्तो लाग्दैन । भनसुन स्थायी क्रिया हो भने मनसुन सर्वनाम । सर्वनाम भनेर थिएटरको कुरा उठाएको होइन । मनसुनमा थिएटरको बिजनेस पनि सार्है जाग्छ । के हुन्छ ? थाहा छ ? छाता धेरै बिक्छ, तर होइन, बिक्दैन । पोहोर आधा पनि बिकेन । अचेल मानिसहरू भिजेर, रुझेर हिंड्न रुचाउँछन् तर छाता बोक्न चाहँदैनन् । छाता ओढ्ने रहर कसैमा देखिँदैन । मानौं छाता नभएर डायबिटिजको ओखती हो ।
छाताचाहिं थरीथरीका पाइन्छन् बजारमा । रंगीन छाता । चिनियाँहरू व्यापारमा माहिर छन् । कस्ता–कस्ता नक्कले छाता बनाएर पठाउँछन् । संसारका बजारहरूमा छाता फेसन स्टेटमेन्ट भैसकेको छ । हामीकहाँ फेसन र छाताको सम्बन्ध अहिलेसम्म केलाउन सकिएको छैन । किमोनोमा सजिएका जापानी युवतीको हातमा सानो छाता कति सुहाउँछ ! मानिसलाई त्यसको आभास त पक्का भएको हुनुपर्छ । मानिसको दुर्भाग्य नै यही होला ।
वर्षातको कान्तिपुर अलि बढी नै रोचक हुन्छ । कान्तिपुरका कुनै पनि सडकमा कहाँ खाल्डो छ र कहाँ छैन, ठम्याउनै मुस्किल हुन्छ । महाभारतमा एउटा घटनाको उल्लेख छ । एकपटक महाराज धृतराष्ट्रका सुपुत्र युवराज दुर्योधन छलमा परेछन् । उनी जेलाई पानी भनेर छल्छन् त्यो सतह हुँदो रहेछ । जेलाई सतह भनेर टेक्छन्, त्यहाँ पानी हुँदो रहेछ । त्यस्तै हो कान्तिपुरका सडक, खाल्डो भनेर टेक्यो ढिस्को फेला पर्छ । ढिस्को भनेर टेक्यो खाल्डोमा परिन्छ । अरू त अरू, दरबारमार्गजस्तो कान्तिपुरको मुटु–कलेजो अड्किएको फुटपाथमा पनि खाल्डाखुल्डी छन् । राम्रा गायक तथा असल साथी योगेश्वर अमात्यका अनुसार दरबारमार्गमा ढलको व्यवस्था पनि राम्रो छैन ।
कति बेला कुन बटुवाको गोडा ढलमा छिर्ने हो थाहा–पत्तो हुँदैन । आज त पानी पर्दैन भनेर चिटिक्क परेको कपडामा सजिएर सहर पस्यो । भरे छपक्क भिजाउँछ पानीले । कताबाट मोटर आउँछ र पानी छ्यापिदिइहाल्छ । सोमत नभएका, असभ्य र काँठे स्वभावका चालकको कमी यो सहरमा कहिल्यै भएन । झमझम झम्किएर झरी नबर्सिएसम्मको कान्तिपुर मनैले फिल गर्नुपर्ने सहर हो भने कतिका लागि त यो एक किसिमको महा–दुर्गति नै हो । मनसुन पसेपछिको कान्तिपुरको भरोसा हुँदैन । पहिले–पहिले सहरमा ओत लाग्ने पाटी–पौवा प्रशस्त थिए । अहिले ती पाटी–पौवा छैनन् । तिनका गुठी अलपत्र छन् ।
अहिले छाता व्यापारीसम्मका लागि पनि संकटापन्न बनेको छ कान्तिपुर सहर । वर्षातमा छाताको व्यापार घाटामा जानुपर्ने होइन, तर गएको छ घाटामा । एक जमाना थियो, मानिस आफ्नो कमिज अथवा कोटको कठालोमा छाता भिरेर हिंडथे । भिर्नेले नबिर्सिएसम्म छाता हराउँदैनथ्यो । त्यो जमाना सकियो । चीनले बजार विस्तार गरेपछि जापानी छातालाई माथ गर्ने एकसे एक छाताहरू बजारमा देखिए । न्यूनतम सय रुपैयाँमा पाइने यी छाताले मुस्किलले पानी ओत्छन् । यो साँच्चै नै फेसन स्टेटमेन्ट हो ः झिलिक्क झल्किने, टिलिक्क टल्किने तर टिक्दै नटिक्ने । किनेको सात दिन नबित्दै कि भत्किने कि हराउने, तैपनि चित्त नदुख्ने ।
अरू सबै दुःख–सुखका कुरा बिर्सेर एकछिनलाई सोचौ त दरबारमार्गमा छाता जुलुस निस्कियो भने कस्तो दृश्य देखिएला ? दरबारमार्गका आकाशमा छपक्कै छाताहरू । विभिन्न रंगीन बुट्टामा । कतै फूलका बुट्टा, कतै पातका बुट्टा । प्रणय भनेको फूल र पातमा अटाउने कुरा हो । दरबारमार्गलाई चारैतिरबाट छेकेर कन्सर्ट र संगीत महोत्सव चल्दा पनि मानिसले रमाइला दृश्यहरू देख्ने गरेका थिए ।
कान्तिपुरमा रमाइलो भनेकै दरबारमार्ग ! यति साह्रोचाहिँ नभनूँ क्या रे । दुःखम–सुखम कान्तिपुर सहरमा रमाउने ठाउँ धेरै छन् । हो, नयाँसडक भीड भएको हो भने झोंछेको पुनर्विकास गरे हुन्छ । कान्तिपुरसँग दुइटा होइन, चारवटा ठमेल धान्न सक्ने क्षमता छ । पहिलो ठमेल, दोस्रो झोंछे, तेस्रो झमेल (पाटन), चौथो न्ह्यामेल (भादगाउँ) ।
यति हो कि कान्तिपुर सहरमा मनसुन सुरु भएपछि वर्षातबाट जोगिनुपर्छ । दरबारमार्गमा जसरी हिँडे पनि हुँदैन । योगेश्वरले भनेका छन्, दरबारमार्गका कतिपय ठाउँका ढल खुलै छन् । गोडा ती ढलमा गाडिएलान् । त्यसबाट जोगिनु अनिवार्य छ । कान्तिपुरको मुटु–कलेजोका रूपमा रहेको दरबारमार्गका दरबारहरू भताभुंग भए पनि सबै कुरा समाप्त भैसकेको छैन । अहिले पनि सेतो दरबार र रातो दरबारको नक्सा बनाएर तिनको वर्णन र विवरण प्रस्तुत गर्न सकिन्छ । कुरा गाइडको हो । राम्रो गाइड भयो भने पुरिएको पोखरीको पनि जीवन्त कथा सुनाएर पर्यटकलाई पानीले भिजाइदिन सकिन्छ । मान्न सक्नुपर्छ कान्तिपुर सहर होइन, कला हो । कान्तिपुर मनसुनमा वर्षात हो र गर्मीमा ढलोटको करुवा । जसरी करुवा अब अक्षरमा जीवित छ, सहर पनि कल्पनामा जीवित छ । पहिलेको कान्तिपुर र अहिलेको कान्तिपुरमा कुनै तुलना हुँदैन । पहिलेको कान्तिपुर मन्दिरका टुँडालहरूमा प्रतिविम्बित थियो, अहिलेको कान्तिपुर साँगुरा सडकमा चल्ने फराकिला मोटरका ऐनामा प्रतिविम्बित भैरहेको छ ।