चलचित्रमा सकारात्मक तथा नकारात्मक दुवै किसिमका भूमिका निर्वाह गरेर दर्शकको मन जितिरहेका अभिनेता हुन्– अनुप विक्रम शाही । अग्लो कदका यी हेण्डसम युवा दुवै किसिमको भूमिकामा उत्तिकै फिट देखिन्छन् । यतिबेला चलचित्र लप्पन–छप्पन–२ को वर्कसपमा सक्रिय अनुपका दुई चलचित्र पासवर्ड तथा जाइरा प्रदर्शनको क्रममा छन् । अनुपसँग साप्ताहिकका कृष्ण भट्टराईले काठमाडौंका सडक र ट्राफिक व्यवस्थापनका विषयमा गरेको छोटो कुराकानी :
काठमाडौंको सडकको कुन कुरा मनपर्छ ?
कोटेश्वरदेखि कलंकी तथा तीनकुनेदेखि माइतीघरसम्मको सडकखण्ड मनपर्छ । उक्त सडकमा ड्राइभिङ गर्दा रमाइलो लाग्छ ।
कुन कुरा मन पर्दैन ?
मन नपर्ने कुरा त धेरै छन् । सबैभन्दा पहिलो कुरा त यहाँको ट्राफिक जाम नै मन पर्दैन । कुनै पनि काममा आधा घण्टाअघि नै निस्कनु पर्ने बाध्यता छ । त्यसो गर्दा पनि २०–२५ मिनेट जाममा परिएकै हुन्छ ।
ट्राफिक जाम हुने कारण के हो जस्तो लाग्छ ?
धेरै छन्, पहिलो कुरा त सबैलाई हतार छ । हतार भएपछि लेनको वास्ता नगरी, ओभरटेक गर्दै ड्राइभिङ गरिएको पाइन्छ । त्यसबाहेक चोकहरूमा ट्राफिक लाइट बल्दैनन् । ती लाइट मात्र बले र सबै सवारीचालकले ट्राफिक नियम पालना गरे जाम आफैं घट्छ ।
सडकमा ट्राफिक प्रहरी त खटिएकै हुन्छन् नि ?
उहाँहरूले दिन–रात नभनि काम गरी नै रहनु भएको छ, तर हात हल्लाएको भरमा मात्र ट्राफिक जाम घट्दैन । उहाँहरूकै सजिलोका लागि ट्राफिक बत्ती अप टु डेट हुनु अनिवार्य छ ।
ड्राइभिङ गर्दा तपाईंले कुनै समस्या भोग्नुभएको छ ?
म आफैं दुई पटक दुर्घटनामा परेको छु । बिहान घरबाट हिँड्दा पिच गरिएको बाटोमा राति फर्कँदा खाल्डो खनिएको रहेछ, म त्यही खाल्डोमा परेको छु । त्यसका लागि कम्तीमा खतराको सूचना टाँसिदिएको भए दुर्घटनाबाट जोगिन सकिन्थ्यो । दोस्रो पटक राति ड्राइभिङ गर्दा छाडा छोडिएका चौपायाबाट मुस्किलले जोगिएको छु । सडकमा चौपायाहरूलाई खुला छाड्नु हुँदैन ।
सडकमा अरू के समस्या देख्नुहुन्छ ?
जथाभावी बाटो काट्ने चलनमा नियन्त्रण अनिवार्य छ । सडक प्रयोगकर्ताले सडकमै प्लास्टिकजन्य पदार्थहरू फालेको पाइन्छ । त्यसलाई पनि रोक्नुपर्छ । सबैभन्दा ठूलो कुरा सडक ममर्तको काम राति ९ बजेपछि मात्र गर्नुपर्छ । दिउँसो सडक मर्मत गर्ने कार्यले पनि ट्राफिक जाम बढाएको छ ।
सडक व्यवस्थापनका लागि तपाईं के सुझाव दिनुहुन्छ ?
सडक प्रयोग गर्ने सबैले ट्राफिक नियम पालना गरौं । यति मात्र गरियो भने पनि दुर्घटनाबाट जोगिन सकिन्छ भने अनावश्यक जामबाट पनि छुटकारा प्राप्त हुन्छ ।