केही हप्ता अघिमात्र एउटा स्ट्यान्ड अप कमेडी रयुट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालमा भाइरल भयो । उक्त भिडियो युट्युबमा अपलोड भएको भोलिपल्टै ट्रेन्डिङमा आयो । भिडियोकी प्रस्तोता थिइन्– विराटनगरकी सिम्रन पाण्डे । उक्त भिडियोले छोटो समयमै सर्वाधिक भ्युज त पायो नै सकारात्मक तथा नकारात्मक प्रतिक्रियाको बाढी नै आयो । कक्षा १२ सम्मको अध्ययन सकेर आइएल्स गर्न काठमाडौंमा आएकी सिम्रन आफ्नो कमेडी भिडियोका कारण रातारात चर्चामा आइन् । आइएल्समा ७ ब्यान्ड ल्याएर बसेकी पाण्डे थप अध्ययनका लागि अमेरिका जाने तयारी गर्दैछिन् । सिम्रनसँग साप्ताहिककर्मी प्रकाश रानाभाटको जम्काभेट :
पहिलो भिडियोबाटै भाइरल हुनुभयो नि ?
पहिलोभन्दा पनि यो फिप्थ शो हो । युट्युबमा हालिएको भिडियो भने पहिलो हो । पहिले–पहिले क्राउडबाट राम्रै रेस्पोन्स आइरहेको हुन्थ्यो, जसले गर्दा मेरो प्रस्तुति राम्रै छ भन्ने फिल हुन्थ्यो । यो सबै मेरा लागि अनपेक्षित थियो, यो कुरा मैले सोचेकै थिइन् ।
प्रतिक्रियाहरूलाई कसरी लिनुभएको छ ?
नकारात्मक प्रतिक्रियाहरूबाट केही खिन्न त भएकी छु तर मैले जे भनेकी छु सबै समाजमा बोलिने कुरा नै भनेकी हुँ । ती सबै कुरा समाजभित्र हुन्छ नै । मैल केवल त्यसलाई सबैका अघि उजागर गरेकी मात्र हुँ ।
प्रस्तुतिमा आफ्नै अनुभव सेयर गर्नुभएको हो कि के हो ?
म जस्ता युथहरूले धेरै कुरा कतै न कतैबाट अनुभव गरिरहेकै हुन्छन् । त्यसमा कतै–कतै अनुभव पनि छ, कतै–कतै अब्जर्भेसन पनि । मैले ती सबै कुरालाई मिलाएर स्कृप्ट लेखेकी हुँ ।
भिडियोमा भने जस्तै त्यस्तो केही अनुभव पनि गर्नुभएको छ कि ?
पूरै त भन्दिनँ, तर कता–कता अलिअलि अनुभव भने पक्कै गरेकी छु ।
म भन्छु नि कस्तो हुन्छ ? भन्ने वाक्य त सबैको जिब्रोमै झुन्डियो, त्यसका धेरै मिमहरू पनि बने, स्क्रिप्ट लेख्नचाहिँ कति समय लाग्यो ?
खासमा यो वाक्य स्क्रिप्टमा थिएन, यो वाक्य त म अरू बेला पनि बोलिरहेकी हुन्छु तर त्यसैलाई सबैले मन पराई दिनुभयो । स्क्रिप्ट लेख्नचाहिँ ठ्याक्कै एक महिना लाग्यो । केही समय रिसर्च गर्न पनि लाग्यो ।
धेरैले तपाईंको कन्फिडेन्सको निकै प्रशंसा गरे, यसको कारण के होला ?
कन्फिडेन्सको केशमा क्राउड फियर भन्ने कुरा हुन्छ । म सानैदेखि प्रोग्रामहरू होस्ट गर्थें । सानैदेखि बोल्ने बानीको विकास भएर पनि त्यो कुरा मेरो कमेडीमा आएको हो । मेरा परिवारिक माहोल पनि धेरै सपोर्टिभ छ । घरमा सबैले तैले बोल्नुपर्छ, लजाएर बस्नु हुँदैन भन्ने भएका कारण पनि सानैदेखि मेरो कन्फिडेन्स लेभल राम्रो थियो ।
अहिलेको नेपाली समाज कस्तो पाउनुहुन्छ ? अनि अहिलेको युवा पुस्ता कस्तो लाग्छ ?
हाम्रोसमाजको कुरा गर्दा यो पहिलैदेखि नै असमानताको खाडल बनाउने समाज हो । हामीकहाँ नारीले यस्तो बोल्नु हुँदैन, उस्तो गर्नु हुँदैन भनिन्छ, महिनावारीको समयमा छाउपडी प्रथालाई प्रोत्साहित गर्ने समाज हो हाम्रो । कुरीति र कुप्रथा नै हाम्रो कल्चर हो भन्ने समाज हो यो । त्यस्ता मानिसहरूलाई यो भिडियो मन पर्ने कुरै भएन । युवाहरूबाट चाहिँ सार्है राम्रो रेसपोन्स पाएकी छु र उहाँहरूका लागि नै हो यो भिडियो ।
महिनावारी र छाउपडीलाई नै स्क्रिप्टमा समावेश गरेको भए पनि त हुन्थ्यो नि ?
मैले युवा पुस्तामा टार्गेट गरेर भिडियो बनाएकी हुँ । युवाहरू आफैं सजग र सचेत छन् । त्यसमा उनीहरूको खासै ध्यान जाँदैन । मैले आफ्नो कलाले मासलाई छुनुपर्छ भनेर पनि सेक्स र युवाहरूको भोगाइ आदिका बारेमा बोलेकी हुँ । अब अर्को स्क्रिप्टमा पनि यस्तै विषयवस्तुलाई प्राथमिकतामा राखेर भिडियो बनाउने सोच बनाइरहेकी छु ।
तपाईंको परिवार र छरछिमेकले पनि भिडियो हेर्नुभयो होला, कस्तो प्रतिक्रिया दिनुभयो ?
छरछिमेकमा हेरिसकेपछि मात्र बल्ल घरमा हेर्नु भएको हो । फस्ट भिडियो भएकाले गर्दा घर र छरछिमेकसम्म पनि पुग्दैनथ्यो होला । मलाई भिडियोको कमेन्ट बक्समा अर्चना पनेरुसँग कम्पेयर गरिएको छ, अब मेरो विवाह हुँदैन सम्म भनिएको छ । यी कुराले गर्दा नै घरमा थाहा भएको रै’छ । छरछिमेकले हामीले लुकेर र सबैका अघि भन्न नसकेको कुरा सिम्रनले सबैका अघि भनी भन्नुभएको छ ।
आफ्नो आइडल कसलाई मान्नुहुन्छ ?
अमेरिकी कमेडीयन एल्लीन डे जेनेरेसलाई ।
अरू के–केमा रुचि राख्नुहुन्छ ?
मलाई कविता र स्पिचमा पनि रुचि छ ।
हजारौं मानिसका अगाडि कमेडी गर्न सक्नुहुन्छ ?
नसक्ने भन्ने त छैन तर मास युथको हुनुपर्छ । बुझ्ने खालका मानिसको भीड हुनुपर्छ, पक्कै सकिन्छ ।
अब अर्को स्ट्यान्ड अप कमेडीको तयारीमा हुनुहुन्छ होला नि ?
तयारी गरिरहेकी छु, चाँडै नै आउँदैछ ।
करियर अब यसैमा अघि बढाउने कि अरू केहीमा ?
होइन, यसलाई त मैले पार्टटाइमका रूपमा माक्र लिएकी छु । यो त मेरो हबी हो । खासमा त म साइकोलोजिस्ट बनेर जीवनदेखि विरत्तिएकाहरूलाई काउन्सिलिङ गरेर उनीहरूमा ऊर्जा भर्न चाहन्छु ।