साप्ताहिक संवाददाता
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जेठ २४ गतेदेखि तीन साता प्रदर्शनमा आएको नाटक योगमायाले दर्शकहरूको मन जितेको छ । नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘योगमाया’ मा आधारित यो नाट्यको परिमार्जन तथा निर्देशन रंगकर्मी टंक चौलागाईंले गरेका हुन् । योगमाया उपन्यासले २०७४ सालको मदन पुरस्कार जितेको थियो ।
राणा शासनकालमा सामाजिक कुरीति, विभेद एवं विसंगति विरुद्ध आवाज उठाउँदै उक्त माग शासकले पूरा नगरेपछि भक्तहरूसहित अरुण नदीमा आत्मदाह गर्ने पूर्वी भोजपुरकी विद्रोही महिला हुन्— योगमाया । एकादेशको दन्त्यकथाझैं लाग्ने त्यही ऐतिहासिक विषयलाई निर्देशक चौलागाईंले नाटकका लागि छनोट गरेका हुन् ।
नाटकमा योगमायाको शीर्ष भूमिका अभिनेत्री मिथिला शर्माले निर्वाह गरेकी छिन् । अभिनेत्री शर्मा लामो समयपछि रंगमञ्चमा देखापरेकी हुन् । शर्माले नेपाली इतिहासकी साहसी महिलाको चरित्र निर्वाह गर्ने अवसरलाई ठूलो चुनौतीका रूपमा ग्रहण गरेको बताएकी छिन् ।
यो नाटकमा अभिनेत्री शर्मासहित राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रकेश सिन्धुलीय, दीपिका ढकाल, प्रल्हाद खरेल, श्याम खड्का, सरस्वती अधिकारी, सुरज तमु, सुमन कुइँकेल, आकांक्षा जिसी आदि कलाकारले अभिनय गरेका थिए । नाटक योगमायामा तत्कालीन राणाशासनका विविध चुनौतीबीच अदम्य साहस बोकेर समाजका कुरीतिविरुद्ध प्रतिकार गर्ने एउटी साहसी नारीलाई चित्रण गरिएको छ ।
नाटकको एउटा दृष्यमा योगमायाले भनेकी छिन्— ‘ब्राह्मणका छोरा वेद पढ्छन् र समाजमा भेद गर्छन् ।’ अर्की एक महिला पात्रको संवाद सुनिन्छ— ‘पुरुष अथवा लोग्नेलाई भगवान मान्नुपर्छ भने हामी पनि भगवती देवी हुनुपर्छ । हे अरुण, तिमी उर्लिएर आयौ, सबै बगायौ तर यहाँका कुरीतिहरूलाई किन बगाएनौ । कसैले छोएको खाँदैमा जात जाने र पाप लाग्ने हुँदैन मेरो धर्ममा ।’
त्यो बेला गाउँकी एउटी विधवा योगमायाले उठाएको आवाजलाई हरेक नेपालीले आफ्नो आवाज बनाएका थिए । महिलाको नामाकरणमा पक्षपात गर्नु, कमिनी ल्यायो भनेर समाजले तिरस्कार गर्नु, योगमायालाई जैसिनी भन्नु, पण्डितले जे भन्यो त्यही मान्नुपर्ने बाध्यता, बाल विवाह, अनमेल विवाह, श्रीमान्को मृत्युमा श्रीमतीलाई जिउँदै चित्तामा बस्नुपर्ने जस्ता कुरीति विद्यमान थिए । यिनै कुराको विरोध गर्दै योगमायाले क्रान्ति थालेकी थिइन् । नाटकमा यी गम्भीर विषयलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्न निर्देशक चौलागाईं सफल देखिएका छन् ।