साप्ताहिक संवाददाता
असार २०, २०७६
अमेरिकाले चन्द्रमामा मानव पठाउन प्रयोग गरेको एपोलो–११ यान चन्द्रमामा अवतरण गरेको ५० वर्ष पुगेको अवसरमा अमेरिकी हुलाक सेवाले विशेष प्रकारका दुईवटा हुलाक टिकट जारी गर्ने भएको छ ।
सन् १९६९ जुलाई २० मा उक्त यान चन्द्रमामा पुगेको थियो र निल आर्मस्ट्रङ तथा बज अल्ड्रिनले चन्द्रमाको धरातलमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरूले त्यतिबेला त्यहाँ साढे २१ घण्टा बिताएका थिए ।
पहिलो टिकटमा निल आर्मस्ट्रङले खिचेको बज अल्ड्रिनको तस्बीर तथा दोस्रो टिकटमा सी अफ ट्रान्क्विलिटीमा उनीहरू ओर्लिएको धरातलको चित्र अंकित गरिनेछ । ती दुवै हुलाक टिकटको डिजाइन हुलाक सेवाका कला निर्देशक एन्टोनियो एल्कालाले गरेका हुन् ।