साप्ताहिक संवाददाता
असार २०, २०७६
अभिनेत्री शिल्पा मास्केको आत्मविश्वास बढ्दो छ । आफ्ना दुई चलचित्र कागजपत्र तथा द ब्रेकअप व्यवसायिक रूपमा असफल भए पनि शिल्पाले हिम्मत हारेकी छैनन् । हालै काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मास्के भन्दै थिइन्— ‘हामीले उत्कृष्ट अभिनय गर्ने प्रयास गर्ने हो ।
मैले पनि त्यही गरेकी छु । त्यति गर्दा–गर्दै पनि चलचित्रले राम्रो व्यवसाय गर्न सकेन भने त्यसमा कलाकारको मात्र दोष हुँदैन ।’ प्रदर्शनको तयारीमा रहेको चलचित्र सानो मनको कथा उनकै वरिपरि घुमेको छ ।
‘सानो मनमा मैले अझ बढी मेहनत गरेकी छु, शिल्पाले भनिन्— ‘यो चलचित्रपछि मैले अभिनयमा थप आत्मविश्वास हासिल गरेकी छु ।’ कम बोल्ने, नयाँ व्यक्तिसँग सहजै नखुल्ने स्वभावकी शिल्पाले उक्त चलचित्रमा आफ्नै यही शैलीको चरित्र निर्वाह गर्ने अवसर पाएकोमा खुसी समेत व्यक्त गरिन् ।