साप्ताहिक संवाददाता
नेपाल एकीकरणका क्रममा गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दाको कथा प्रस्तुत गरिएको चलचित्र ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ गत शुक्रबार प्रदर्शनमा आएको छ । ऐतिहासिक विषयवस्तुमा आधारित यो चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ नपाए पनि चलचित्र निर्माण पक्ष तथा वितरकहरू भने दर्शकले यो चलचित्र मनपराउने क्रम बढिरहेको दाबी गर्छन् ।
चलचित्रका निर्देशक प्रदीप खड्गीका अनुसार यो चलचित्रको व्यापार औसत छ । उनले चलचित्रले प्रदर्शनको तीन दिनभित्र झन्डै ४० लाख रुपैयाँको ग्रस व्यापार गरेको दाबी गरे । ‘चलचित्रले दर्शकबाट राम्रो समीक्षा पाएको छ । त्यसकारण पनि दर्शकको संख्या बढिरहेको छ’, खड्गीले भने, ‘हामीले उपत्यकाबाहिरको रिपोर्ट प्राप्त गरिसकेका छैनौं, तै पनि दर्शकको संख्या केही बढेको सुनेका छौं ।’
चलचित्रका उपत्यका वितरक रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ ‘क्रेजी’ ले चलचित्रले भयंकर व्यापार भने नगरेको बताए । ‘अहिलेसम्म प्राप्त रिपोर्ट अनुसार चलचित्रको व्यापार ठीकै छ । नेपालमा ऐतिहासिक चलचित्र हेर्ने चलन नभएकाले पनि दर्शकमा खासै उत्साह देखिएन । यद्यपि दर्शक संख्या बढिरहेको छ’, उनले भने, ‘विद्यार्थीहरूले चलचिक्र हेर्ने त्रम बढे पनि हामीले अपेक्षा गरे जस्तो व्यापारचाहिँ हुन सकेन ।’ फोकस पिक्चर्सद्वारा निर्मित चलचित्र कीर्तिपुरमा हिसिला महर्जन, यशराज गरच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित आदि कलाकारको अभिनय छ ।