साप्ताहिक संवाददाता
बाबु र छोराको भावनात्मक सम्बन्धको कथा बोकेको चलचित्र ‘आप्पा’ ले चलचित्र रिलिजको अघिल्लो दिन गरेको प्रिमियर शोबाट राम्रै प्रतिक्रिया पाएको थियो । प्रदर्शनको पहिलो दिन शुक्रबार चलचित्रले औसत व्यापार गरे पनि शनिबार बिहानैदेखि देशभरका हल हाउसफूल भएको निर्माण पक्षको दाबी छ ।
अभिनेता दयाहाङ राईले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र आप्पालाई सिंगल थिएटरको तुलनामा मल्टिप्लेक्समा बढी रुचाइएको निर्माण पक्षको भनाइ छ । चलचित्रका निर्देशक अनमोल गुरुङले हलको व्यापार आफ्ना लागि चित्तबुझ्दो भएको बताए ।
सिंगल र मल्टिप्लेक्स दुवै ठाउँमा दर्शक उपस्थिति राम्रो पाएको रिपोर्ट आएको छ । हामीले कम शो पाए पनि पाएको शोमा दर्शकको राम्रो उपस्थिति छ’, उनले भने, ‘उपत्यकाबाहिर पनि चलचित्रले व्यापार राम्रो गरेको कुरा सुनेका छौं । अहिलेसम्म कति व्यापार भयो, रिपोर्ट लिन भ्याएको छैन ।’आप्पाका काठमाडौं उपत्यका वितरक स्टेसन फाइभका प्रचण्डमान श्रेष्ठले यो चलचित्रले अपेक्षाभन्दा राम्रो व्यापार गरेको बताए ।
‘मल्टिप्लेक्स र सिंगल थिएटर दुवै स्थानमा दर्शकको उपस्थिति राम्रो पाएका छौं । हामीले सोचे भन्दा राम्रो व्यापार भैरहेको छ’, श्रेष्ठले भने, ‘खासगरी चलचित्रको कथाले दर्शकलाई बाँधेको प्रतिक्रिया पाएका छौं । उपत्यकाबाहिर पनि यो चलचित्रप्रति चासो बढेको छ ।’
यो चलचित्रमा सिद्धान्तराज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्की आदिको अभिनय छ । चलचित्र आप्पा नेपालीभाषीहरूको बाहुल्यता भएका भारतीय सहरहरूमा पनि प्रदर्शन भैरहेको छ ।