साप्ताहिक संवाददाता
इंग्ल्यान्ड र वेल्समा जारी १२ औं विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेल भोलि शनिबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुँदैछ । राउन्ड रोविनका आधारमा खेलाइएको यसपटकको विश्वकप क्रिकेटको पहिलो चरणका खेल निकै उथुलपुथुलपूर्ण रहे । प्रतियोगिता प्रारम्भ हुनुअघि प्रमुख दावेदार मानिएको दक्षिण अफ्रिका लिग चरणका आधा–आधी खेल सकिंदा–नसकिंदै प्रतियोगिताबाट बाहिरी सकेको थियो । खेल अघि बढ्दै जाँदा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड तथा आयोजक इंग्ल्यान्ड अरूभन्दा बलिया देखिए ।
उपरोक्त चार टिमको सेमिफाइनल सम्भावनालाई तुहाउने स्थितिमा पाकिस्तान मात्र देखिएको छ । पाकिस्तान समर्थकहरूका अनुसार भारतले आठौं चरणको खेलमा इङ्ल्याण्डसंग जानी–जानी खेल नगुमाएको भए पाकिस्तानले निश्चित रुपमा सेमिफाइनल खेल्ने थियो । त्यसैकारण भारतले गुमाएको यो खेलका पछाडिको मनोविज्ञान पाकिस्तानलाई सेमिफाइनल पुग्नबाट रोक्नु रहेको पाकिस्तानका अग्रज क्रिकेटरहरूले बताउँदै आएका छन् । यो स्थितिका बाबजुद पनि पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना सकिएको छैन । अबको स्थितिमा पाकिस्तानले सेमिफाइनल खेल्नका लागि न्यूजिल्याण्ड र इङ्ल्याण्डबीचको खेलमा न्यूजिल्याण्डको जितको प्रतीक्षा गर्नु पर्नेछ । यदि उक्त खेलमा न्यूजिल्याण्ड विजयी भयो भने पाकिस्तानको सेमिफाइनल पुग्ने बलियो सम्भावना देखिने छ । तर, न्यूजिल्याण्ड पराजित भयो भने पाकिस्तानका लागि बंगलादेशलाई ठूलो रन अन्तरले पराजित गर्नु पर्ने हुन्छ । यो स्थितिमा पाकिस्तानी क्रिकेटको परीक्षण हुने मात्र नभै क्रिकेटकै रोमाञ्चकताले नयाँ चरणमा प्रवेश गर्ने निश्चित छ ।
राउन्ड रोविन चरणका गत मंगलबार सकिएको आठौं चरणको खेलपछि देखिएको सम्भावनाअनुसार अस्ट्रेलिया अंक तालिकामा पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ भने उसलाई भारत, न्युजिल्यान्ड तथा आयोजक इंग्ल्यान्डले पछ्याइरहेका छन् । आठौं चरणको खेलपछि १४ अंक प्राप्त गरेको अस्ट्रेलियाले ११ अंक प्राप्त गरेको न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । उता अर्को सेमिफाइनल १३ अंक प्राप्त गरेको भारतले १० अंक प्राप्त गरेको इंग्ल्यान्डसँग खेल्नुपर्ने हुन सक्छ । सेमिफाइनलको यो समीकरणका लागि अस्ट्रेलियाले आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई तथा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउनुपर्ने हुन्छ ।
प्रतियोगिताको लिग चरणको नवौं अर्थात् अन्तिम चरणमा अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग, भारतले श्रीलंकासँग, इंग्ल्यान्डले न्युजिल्यान्डसँग, पाकिस्तानले बंगलादेशसँग तथा वेस्ट इन्डिजले अफगानिस्तानसँग खेल्नेछन् । यो चरणमा कुनै ठूलो उलटफेर हुने सम्भावना कमै छ । तैपनि पाकिस्तानले बंगलादेशलाई ठूलो रन अन्तरले जित्दा तथा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ठूलो रन अन्तरले पराजित हुँदा पाकिस्तानले सेमिफाइनल खेल्ने सम्भावना पनि उत्तिकै छ । यो अवस्थामा पाकिस्तानले अस्ट्रेलियासँग सेमिफाइनल खेल्न सक्नेछ । राउन्ड रोविन चरणमा टिमले प्राप्त गरेको अंकसँगै उसको नेट रन रेटले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
यो नेट रन रेटमा पाकिस्तान आठौं चरणको खेलपछि पनि नकारात्मक स्थितिमा रहेकाले पाकिस्तानको तुलनामा सेमिफाइनल खेल्ने सम्भावना न्युजिल्यान्ड र इंग्ल्यान्डको बढी देखिएको हो । तैपनि सेमिफाइनल खेल्नका लागि आयोजक इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउनै पर्नेछ । कथंकदाचित इंग्ल्यान्ड हारेको अवस्थामा र पाकिस्तानले बंगलादेशलाई जितेको अवस्थामा पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना बलियो हुनेछ । यो स्थितिमा पहिलो सेमिफाइनल अस्ट्रेलियाले पाकिस्तानसँग र दोस्रो सेमिफाइनल भारतले न्युजिल्यान्डसँग खेल्नुपर्नेछ । यसका लागि पनि अस्ट्रेलियाले आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने हुन्छ । कथंकदाचित अस्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भएको अवस्थामा पहिलो सेमिफाइनल भारतले पाकिस्तान अथवा न्युजिल्यान्डसँग तथा दोस्रो सेमिफाइनल अस्ट्रेलियाले इंग्ल्यान्ड अथवा न्युजिल्यान्डसँग खेल्ने सम्भावना छ ।
(यो विश्लेषण अन्तिम चरणको खेल प्रारम्भ हुनुअघि बुधबार गरिएको हो ।)