साप्ताहिक संवाददाता
सन् २०१८ को जुन २१ । पश्चिमी जाभास्थित गुनान मास पुन्साकको मौसम खुलेको थिएन् । छिनछिनमा मौसम बदलिरहेको थियो । उडान हुन्छ भन्नेमा पनि दुविधा थियो । मौसम खुल्यो भने ग्लाइडर्सहरू विहान १० बजे उडान भर्न तयार थिए । इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङको अन्तिम विधा टिम क्रस कन्ट्रीमा प्रतिस्पर्धा हुँदै थियो । नेपालसामु थियो, ऐतिहासिक सावित हुन सक्ने स्वर्ण पदक जित्ने सम्भावना ।
यी सबै पृष्ठभूमिमा नेपालले स्वर्ण पदक त जित्न सकेन, तर हात पर्यो रजत, त्यो पनि कम ठूलो उपलब्धी थिएन् । एसियाली खेलकुदको महाकुम्भमा नेपालले १२ औं दिनमा आएर पहिलो पदक हात पारेको थियो । त्यो नेपालले २० वर्षपछि एसियाडमा जितेको दोस्रो रजत पदक समेत थियो । त्यसअघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । भनिन्छ, त्यति बेला सवितालाई भाग्यले बढी साथ दिएको थियो ।
पछिल्लो पटक नेपालले जितेको रजत पदकमा मेहनत बढी थियो । भाग्यले साथ दिएको भए त स्वर्ण पदक नै सम्भव हुने थियो । ऊक्त त्रसकन्ट्रीमा नेपालले जापानभन्दा २७ अंकले मात्र पछाडि पर्दै रजत पदकमै चित्त बुझाउनुपरेको थियो । अन्तिम दिन टास्क ५ मा सबैभन्दा राम्रो प्रदर्शन नेपाली ग्लाइडरकै रह्यो । तीन जना ग्लाइडरले सबै टास्क गरी ‘गोल’ पूरा गरे । अर्का एक ग्लाइडरले टास्क पूरा गरेको भए जापानको अंकलाई उछिन्दै नेपाल स्वर्ण पदकको हकदार हुन्थ्यो ।
विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिमबाट विजय गौतम, विशाल थापा, युकेश गुरुङ तथा सुशील गुरुङले उडान भरेका थिए । नेपालले आफ्नो डेब्युमै प्याराग्लाइडिङबाट पदक जितेको क्षण थियो । यो खेल एसियाली खेलकुदमा पहिलोपल्ट समावेश गरिएको थियो । एसियाडमा पहिलोपल्ट खेलाउन लागिएको भए पनि नेपालका तर्फबाट प्याराग्लाइडिङबाट पदकको आशा प्रबल थियो ।
जुलाई २, सन् २०१९ । खेलकुद पत्रकार दिवस । त्यही दिन आयोजना भएको थियो,स्पोर्टस एवार्डको १६ औं संस्करण । नेपाली खेलकुदकै सर्वाधिक ठूलो एवार्ड कार्यक्रममा यही प्याराग्लाइडिङ टिम र त्यसका खेलाडीले बढी एवार्ड जित्ने निश्चित जस्तै थियो, अझ भनौं, ओपन सेक्रेट । आखिरमा त्यस्तै भयो । प्याराग्लाइडिङ टिमले सबैभन्दा पहिले जित्यो, टिम अफ द इयरको एवार्ड । त्यसपछि त्यही टिमका प्रशिक्षक योगेश भट्टराई चुनिए, कोच अफ द इयर ।
टिमका कान्छा खेलाडी तथा टिमलाई रजत पदक दिलाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने युकेश गुरुङले जिते, प्लेयर अफ द इयर, मेल । यसरी तीनवटा एवार्ड प्याराग्लाइडिङको नाममा
रह्यो । एक वर्षअघि जुन २१ मा सुरु भएको कथा त्यसको एक वर्ष भन्दा बढी समयपछि जुलाई २ मा आएर सुखद अन्त्य भएको छ । तीनवटा एवार्ड जित्दा प्याराग्लाइडिङ टिमका सदस्यमा देखिएको खुसी गज्जबको थियो । लगभग यस्तै खुसी इन्डोनेसियामा पनि देखिएको थियो ।
यसलाई कथाको सुखद अन्त्य नभनेर सुखद सुरुआत भने पनि हुन्छ । यसका केही ठोस कारण छन् । पहिलो त प्याराग्लाइडिङ पनि खेल हो भनेर चिनाउन यसका खेलाडी तथा प्रशिक्षकलाई उत्तिकै गाह्रो थियो । सम्भवतः अब त्यस्तो हुने छैन । प्रशिक्षक भट्टराई भन्छन्, यो एवार्डले प्याराग्लाइडिङ खेल स्वंयको प्रतिष्ठा र प्रचार बढेको छ । लगभग १५ वर्षअघि नेपाल प्रवेश गरेको यो खेलमा अहिलेसम्म जति लगानी भएको छ, नीजि क्षेत्रबाटै भएको छ ।
टिम अफ द इयरको एवार्ड थापेपछि व्यवस्थापक शैलेन्द्र राउतको भनाइ अझ दमदार छ । राउत भन्छन्— स्वर्णको दावेदार भएर पनि हामी निकै कम अंकले चुक्यौं । यो एवार्डले हामी अझ उत्साहित भएका छौं । अब हाम्रो उद्देश्य हुनेछ— स्वर्ण पदक । लगभग यस्तै भनाइ थियो युकेशको, उनलाई पनि भविष्यमा अझ राम्रो गर्ने प्रेरणा मिलेको छ । के प्याराग्लाइडिङबाट भविष्यमा साँच्चै अझ बढी आश गर्न सकिन्छ ? खेलकुदमा आशावादी त हुनैपर्छ ।