साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप प्रारम्भ हुनुअघि नै नियम बनाएको थियो, प्रतियोगितामा खेल्ने दुई टिमको जर्सीको रंग जुध्यो भने एउटा टिमले फरक रंगको जर्सी लगाउनुपर्नेछ । यसलाई अवे–किट भनिएको छ । प्रतियोगितामा सहभागी १० टिममध्ये भारतसँगै आयोजक इंग्ल्यान्ड, श्रीलंका तथा अफगानिस्तानको जर्सीको रंग लगभग उस्तै छ ।
यस्तोमा इंग्ल्यान्ड र भारत खेल्दा अवे–किटको अवधारणा अर्थात् पाहुना टोलीले जर्सी फेर्नुपर्ने नियमअन्तर्गत भारतले केशरी रंगको मिश्रित जर्सी लगायो । भारतीय टिमको उक्त जर्सीले ठूलै विवाद सिर्जना गर्यो । त्यसमा प्रयोग गरिएको रंग केशरी थियो र त्यसकारण यो विवाद देखिएको थियो । विशेष गरी भारतका विरोधी राजनैतिक दलहरूले यसमा आपत्ति जनाए । त्यसको कारण के थियो भने भारतमा सरकार चलाइरहेको भारतीय जनता पार्टीले पूरा देशलाई आफू अनुकूल बनाउन खोज्दैछ ।
उक्त पार्टीको आधिकारिक रंग केशरी नै हो भने उसका अधिकांश कार्यकर्ता केशरी रंगकै पहिरन लगाउँछन् र यसका पछाडि धार्मिक कारण पनि छ । सरकारविरोधी भारतीयहरूले उक्त जर्सीमा आपत्ति मात्र जनाएनन्, त्यही जर्सीकै कारण भारत इंग्ल्यान्डविरुद्धको खेलमा पराजित भएको दाबीसमेत गरे ।