प्राइभेट इज पोलिटिकल

- राजाराम पौडेल

असार २१, २०७६

पोखरा थिएटरस्थित गन्धर्व नाटकघरमा ‘प्राइभेट इज पोलिटिकल’ नाटक हेर्ने दर्शक भरिभराउ थिए । मञ्चमा योनिका कथाको रिहर्सल गरिरहेका ६ जना देखिन्छन् । भित्तामा पनि योनि झल्काउने तस्बिर टाँगिएको छ । 

 रिहर्सल सुरु भयो । महिलाको योनिको कुराबाट । महिलाले आफ्नो योनि देख्दैनन्, हेर्न सहज पनि छैन । दुःख गरेर, समय लगाएर हेर्ने फुर्सद पनि हुँदैन । यस्तै–यस्तै कुरामार्फत दर्शकको ध्यान स्टेजतर्फ खिचिन्छ । महिलाको योनिलाई विभिन्न देश अनि भाषामा के भनिन्छ । कलाकारले एकपछि अर्को गर्दै भन्दा दर्शकलाई अलि ‘जर्क’नै लाग्छ, पचाउन गाह्रो हुन्छ । हुन त कतिपय भाषा उनीहरू बुझ्न पनि सक्दैनन् । मञ्चमा ६ जना कलाकारले हाम्रै घर–समाजका महिलाहरूको व्यथालाई मनोवाद शैलीमा भन्न थाल्छन् ।

 जुन विषयमा हामी खुल्न चाहँदैनौ, लाज मान्छौं, समस्या भएर पनि भन्न हिचकिचाउँछौँ, आँट गर्न सक्दैनौं, त्यही विषयवस्तुमा केन्द्रित छ यो नाटक । नाटकको विषयवस्तुका कारण दर्शकमा केही उत्सुकता, केही खुल्दुली अनि केही अपेक्षा थियो । तिनै कुरा पाउने अपेक्षाका साथ दर्शक नाटकघरमा पुगे । नाटक अगाडि बढ्दै जान्छ । अब भने बिस्तारै नाटकले दर्शकको ध्यान खिच्छ । नाटकको कुनै पात्रमा दर्शकले आफूलाई नै पाउँछन् । केहीले आफूले जानेर वा नजानेर गरेका काम सम्झन्छन् अनि आत्मआलोचनासमेत गर्छन् । 

कलाकारले आफ्नो जीवनमा आएका यौन हिंसासम्बन्धी घटना सुनाउँदा दर्शक पनि आफ्नो विगत स्मरण गर्न बाध्य हुन्छन् । नेपथ्यमा बजेको संगीतले त्यसमा मिठासपन थपिदिन्छ । कलाकारको मेहनत, निर्देशकको चतुरता, कथाकारको उद्देश्यको मिश्रणले यो नाटकलाई परिपक्व बनाउँछ । विशेष गरी अलग–अलग समुदायका महिलाहरूको भोगाइमार्फत पितृसत्तात्मक सोचलाई चित्रण गर्दै दर्शकलाई कन्भिन्स गर्ने प्रयास गर्छ यो नाटकले । दर्शकलाई कन्भिन्स गर्न पुरुष पात्रकै प्रयोग गर्दा नाटक इफेक्टिभ बन्न पुगेको छ । यसले सबै पुरुषको सोच एउटै हुँदैन भन्ने देखाउँछ । 

कथा घेराको प्रस्तुतिमा मञ्चन भएको यो नाटकमा लुनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल तथा आयुष्मान प्याकुरेलले दर्शकको मन जित्छन् । यो नाटकको अवधारणा, परिकल्पना एवं निर्देशन आकांक्षा कार्कीको हो । कार्की यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान भएको बताउँछिन्, जुन घरका बन्द कोठाबाट सुरु भएर रंगमञ्चसम्म आएको छ । 

लगभग ३० वर्षअघि अमेरिकाबाट सुरु भएको यो अभियान हाल विश्वका धेरै देशमा विस्तारित भैसकेको छ । नेपालमा पनि विगत चार वर्षदेखि यो अभियान चलिरहेको छ । मञ्चमा महिला यौनिकताका विभिन्न पाटोका बारेमा मनोवाद सुनाउँदा, दर्शकलाई ती रमाईला, पीडादायी र अनौठा लाग्छन् । कलाकारले पनि नेपथ्यमा आ–आफ्नो वास्तविक भोगाइहरू साटासाट गर्थे, सँगै रुन्थे, हाँस्थे, एक–अर्काका कुरा सुन्थे ।

सौरभ कार्की यो नाटक लेख्न सहज नभएको बताउँछन् । ‘मलाई यो विषयमा लेख्न सहज थिएन, आकांक्षाको आग्रहमा लेखेको हुँ । लेख्दा आत्मआलोचना पनि गरें, गाह्रो भयो । कार्की भन्छन्— पितृसत्तात्मक सोचका विरुद्ध लड्न जरुरी छ । यस्तो प्रवृत्तिले महिलालाई मात्र होइन, पुरुषलाई समेत असर गरेको छ । पुरुषभित्र पनि महिला हुन्छ, महिलाभित्र पनि पुरुष हुन्छ, आफूभित्र भएको महिलालाई चिन्न सक्नुपर्छ,’ –सौरभले भने । निर्देशक आकांक्षा कार्की भन्छिन्— एउटा मुभमेन्ट हो यो, कन्भर्ससेसन हो— समाज रुपान्तरण गर्ने, सोच्न बाध्य पार्ने ।

 

प्रकाशित :असार २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्