साप्ताहिक संवाददाता
नेपालमा इन्टरनेसनल इभेन्ट हुने कुरा हाम्रो कलाकारिताका लागि पनि ठूलो उपलब्धि हो, जसले नेपाली कला जगत्लाई पनि कार्यक्रम गर्न हौसला प्रदान गर्छ । यो काम स्वागतयोग्य छ तर नेपाली कला र कलाकारलाई सरकारले के कति प्रवर्द्धन गर्यो र अब विदेशी कलाकारलाई सम्म अनुदान दिन पुग्यो भन्ने प्रश्न आउँछ । घरको परिवार भोकै भएको मतलब छैन, छिमेकी बोलाएर पार्टी गर्ने ? यद्यपि नेफालमा यति ठुलो कार्यक्रम हुन लागेको छ, यस्तो कार्यत्रमलाई नेपाली मनले हृदयदेखि स्वागत गर्ने वातावरण बनोस् । हाम्रो आन्तरिक किचलोले उनीहरूलाई लाजमर्दो फिल नहोस् । सरकारसँग मेरो यही अनुरोध छ ।
आशिष अविरल, गायक तथा संगितकार
आफ्नी श्रीमतीका लागि म्याक्सी नकिन्नेले छिमेकीकी श्रीमतीका लागि ट्याक्सी किन्न खोजेजस्तै हो ।
केदार घिमिरे, अभिनेता
नेपाली एवार्डको भ्यालू घटेका बेला सरकारले त्यसलाई बुझेर नेपाली एवार्ड आयोजकलाई, हेर एवार्ड भनेको यस्तो हुनुपर्छ भनेर देखाउन लागेको हुनुपर्छ ।
दीपकराज गिरी, अभिनेता
आइफा एवार्ड नेपालमा हुनु राम्रो कुरा हो । विशेष गरी नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा यस्तो कार्यक्रमले नेपालप्रति विदेशीहरूको ध्यानाकर्षण गर्छ । त्यसका लागि राज्यले कार्यक्रम स्थलको प्रवन्ध गर्नु र सुरक्षा दिनु स्वाभाविक हो । त्यो आवश्यक पनि छ, तर त्यो कार्यक्रमको खर्च नेपालका विभिन्न सरकारी निकायले बोक्ने कुरा भने उचित होइन । सम्बन्ध बराबरीको हुनुपर्छ, घाटा लाग्ने हुनु हुँदैन ।
भानुभक्त आचार्य, पत्रकार तथा लेखक
यस्तो विषयमा पैसाको कुराभन्दा पनि देशको इज्जत ठूलो कुरा हो । यसले पर्यटन क्षेत्रलाई टेवा पुर्याउँछ । देशको इज्जत बढाउँछ । अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम आउँछ । कतिपय कुरामा ठूलो छाती पनि देखाउनुपर्छ ।
किरण केसी, हास्य अभिनेता
नीतिगत रूपमा नेपाली चलचित्रलाई लाभ पुर्याउन सकियो भने यस्ता अन्तर्राष्ट्रिय एवार्ड नेपालका लागि फाईदाजनक नै हुन्छन् ।
लक्ष्मण श्रेष्ठ, संगीतकार
नेपालमा बलिउडको चर्चित आइफा एवार्ड हुनु खुसीको कुरा हो तर सरकारले देशको अस्तव्यस्त अवस्थालाई छोडेर झन्डै पचास करोड रुपैयाँ त्यही एवार्डका लागि खर्च गर्नुहुँदैन ।
निर्मल शर्मा, हास्यकलाकार
मलाई यो काम राम्रै लाग्यो । हरेक कुरामा नकारात्मक सोच राख्नु हुँदैन । अहिलेसम्म गरिएन इन्डियन एवार्डका लागि किन यस्तो गर्यो भनेर जुन कुरा आइरहेको छ, त्यसो भन्नु नै गलत हो । कम्तिमा हाम्रो देशको प्रचार अनि देशमा ठुला कलाकार त आउँछन् । केही नहुनु भन्दा केही हुनु राम्रो हो ।
पुजा शर्मा, अभिनेत्री
आइफा एवार्ड आयोजना गर्नु राष्ट्रको ढुकुटी सक्नु होइन, लगानी गर्नु हो । यसबाट नेपालको पर्यटन र सिनेमा दुबै क्षेत्र लाभान्वित हुन्छन् । विदेशी सिनेमाको छायांकन, एवार्ड समारोह आदिका लागि त हामीले हार्दिकतापूर्वक आमन्त्रण गर्नुपर्ने हो, किनभने यसले राज्यको गरिमा, पर्यटन, संस्कृति एवं अर्थतन्त्र सबै कुरालाई बलियो बनाउँछ ।
शिव मुखिया, सञ्चारकर्मी
नेपालमा विदेशी एवार्ड वितरण समारोह सञ्चालन हुनु खुसीको कुरा हो, तर त्यसमा देशले सञ्चालन गर्ने पैसा नेपाली चलचित्रमै लगानी गर्दा फलदायी हुन्छ । एवार्डका लागि चाहिने सुरक्षा सरकारले हेर्नु राम्रो हो, हेर्नू पनि पर्छ तर लगानी गर्नु गलत हो । किनभने अन्य देशमा आइफा हुँदा आइफा आफैले लगानी गर्ने गर्थ्यो ।
श्रीदेव भट्टराई, अभिनेता
क्लिन फिड नीतिको नाटक गरेर इन्डियन कला–संस्कृतिको विस्तार गर्ने भारतीय विस्तारवादी नीतिको एजेन्ट नेपाल सरकार नै बनेको छ । यसलाई फिर्ता नलिने हो भने हामी स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको तर्फबाट भौतिक रूपमै व्यवधान खडा गरेर कार्यक्रम असफल बनाउनेछौं ।
स्वागत नेपाल, संचारकर्मी तथा अधिवक्ता
हाम्रो नेपालमा यस्ता कार्यक्रम हुनुपर्छ, तर यति ठूलो रकम हामीले किन खर्च गर्नु ? नेपालमा एवार्ड गर्न आउनेले नेपाललाई सहयोग गर्छु भन्नु छैन, उल्टै हामीले गर्नुपर्ने ?
मरिचमान श्रेष्ठ, हास्यकलाकार