साप्ताहिक संवाददाता
अभिनेत्री वर्षा सिवाकोटीलाई चलचित्र वीर वित्रम–२ बाट ठूलो आशा थियो । अघिल्लो वर्ष आफूले अभिनय गरेका अधिकांश चलचित्र असफल भएपछि वर्षाले यही चलचित्रबाट आफ्नो असफलताको यात्रामा पूर्णबिराम लगाउने अपेक्षा थियो । यद्यपि, वीर विक्रम–२ पनि असफल भएपछि वर्षाको आशामा तुषारापात भएको छ ।
चलचित्रमा दुई अभिनेता पल शाह र नाजिर हुसेनकी एक्ली अभिनेत्रीका रूपमा प्रस्तुत हुँदा पनि दर्शकले वर्षाको अभिनयलाई खासै रुचाएको पाइएन । चलचित्रमा उनले निर्वाह गरेको भूमिका तथा उनको अभिनयमा खोट लगाउने ठाउँ छैन, यद्यपि अल्छीलाग्दो कथा तथा पट्यारलाग्दो प्रस्तुतीका कारण दर्शकले चलचित्रप्रति रुचि देखाएनन् ।
वीर विक्रम–२ का सन्दर्भमा–२ समीक्षकहरूको समीक्षा मात्र होइन दर्शकहरूले मौखिक रूपमा गर्ने समीक्षा समेत सकारात्मक रहेन । एकपछि अर्को गर्दै आफ्ना अधिकांश चलचित्र असफल भएपछि वर्षाले आगामी दिनमा राम्रो स्क्रिप्टलाई पनि प्राथमिकतामा राख्ने हो कि ?