साप्ताहिक संवाददाता
यसपटकको विश्वकपको सबैभन्दा ठूला फ्यान को हुन् ? यसको उत्तर हुन सक्छिन्, भारतकी ८७ वर्षीया चारुलता पटेल । भारत र बंगलादेशबीचको खेल हेर्न उनी बर्मिङघमको मैदानमा उपस्थित थिइन् । भारतीय टिमको समर्थकका रूपमा त्यहाँ पुगेकी चारुलतालाई खेलको प्रत्यक्ष प्रसारण गरिरहेको टेलिभिजनले लगातार देखाइरह्यो ।
यस्तोमा उनको तस्बिर सामाजिक सञ्जालमा भाइरलसमेत भयो र भनियो, यी हुन भारतीय टिमकी सुपर फ्यान । अझ भनौं, पूरा विश्वकपकै सबैभन्दा ठूली सुपर फ्यान । बंगलादेशविरुद्धको उक्त खेल जितेर भारतले सेमिफाइनल पुग्ने समीकरण पूरा गर्यो ।
खेलपछि भारतीय कप्तान विराट कोहली तथा रोहित शर्मा चारुलतालाई भेट्न पुगे । उनीहरूको आगमनमा ती वृद्धाको खुसी पनि अपार देखियो । पछि कोहलीले ट्विटसमेत गरे— उमेर त खालि एउटा अंक न हो, मैले आफ्नो खेल जीवनमा यत्तिको सुपर फ्यान अहिलेसम्म देखेको छैन । उनको शुभेच्छा सधैं हामीसँग रहनेछ ।