साप्ताहिक संवाददाता
अमेरिकामा बसोबास गर्दै आएकी क्रिस्टिना गुरुङ खड्का चलचित्र प्रेमगीत–३ मार्फत रजतपटमा भित्रिने निश्चित भएको छ । चलचित्रमा गीतको भूमिका निर्वाह गर्ने नयाँ अनुहारको खोजी गर्न आयोजित अडिसनबाट क्रिस्टिनाको नाम छनोट गरिएको चलचित्रको निर्माण संस्थाले जनाएको छ ।
अडिसनमा छनौट भएकी क्रिस्टिनालाई मुख्य अभिनेत्रीका भूमिकामा अनुबन्ध गरिएको छ । उनी चलचित्रको अडिसनकै लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । यो निणर्यसँगै अब उनले चलचित्रका अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्ने निश्चित भएको छ । गीतको भूमिकाका लागि अडिसन दिएकामध्ये निर्माताहरूले २५ जना युवती छनोट गरेका थिए ।
चलचित्रका निर्माता सन्तोष सेनका अनुसार उनीहरूमध्ये अभिनय गर्न सक्ने क्षमता, शारीरिक बनावट, अनुहार, उचाइ तथा सुन्दरताको दृष्टिकोणले क्रिस्टिनालाई छनौट गरिएको हो । अमेरिकामा सूचना प्रविधि विषयमा स्नातक गरिरहेकी क्रिस्टिनाले विगतमा केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।