साप्ताहिक संवाददाता
युरोपमा अहिले गर्मी भएका कारण धेरै व्यक्तिको रोजाइमा इबिजा समुन्द्री तट पर्ने गरेको छ । उक्त तटमा पुग्ने योजनाका साथ लिन्ड्से ब्राउनले पियर ब्रान्डको स्विमसुट अनलाइनबाट अर्डर गरिन् । उक्त स्विम सुटलाई एकै पटक उनले इबिजामा गएर लगाउने सोच बनाएर यात्रा प्रारम्भ गरिन् ।
इबिजाको तटमा गएर मदिराको चुस्की लिएपश्चात् उनले उक्त स्विमसुट लगाइन् । त्यसपछि उनी तीनछक्क भइन् । उक्त स्विमसुट आफूले अर्डर गरेअनुसारको नभएको तथा लगाउँदा लज्जितजस्तो देखिएपछि उनले उक्त स्विमसुट लगाएको तस्बिर देखाएर कम्पनीको बेइज्जत गर्ने निधो गरिन् ।
त्यसपछि लिन्ड्सेले उक्त ड्रेसले आफ्नो गोप्य अंग देखाएको जनाउँदै स्विमसुट कम्पनीलाई ट्याग गरेर
ट्विटरमा फोटो अपलोड गरिन् । यो कुरा तत्काल भाइरल मात्र भएन, त्यसमा कम्पनीको ध्यानसमेत आकृष्ट भयो । कम्पनीले उनले लगाएको स्विमसुटको सूक्ष्म रूपमा निरीक्षण गरेपछि उनले स्विमसुटको तल्लो भागलाई माथि र माथिको भागलाई तल पारेर (उल्टो) लगाएका कारण यस्तो समस्या आएको जनायो ।
नभन्दै उनले त्यसलाई सुल्ट्याएर लगाउँदा अनलाइनमा देखिएजस्तै राम्रो देखियो । उनले यो घटना आफू मदिराको नसामा रहेका कारण भएको महसुस गर्दै आफूले पोस्ट गरेको फोटो त डिलिट गरिन् तर त्यो त्यसअघि नै भाइरल भैसकेको थियो ।