साप्ताहिक संवाददाता
हाम्रा लागि बलिउड चलचित्र जति सहज छ त्यति नै बलिउडका कलाकारहरूप्रति हाम्रो चासो स्वभाविक रूपले देखिन्छ । अहिले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन भएको सन्दर्भमा बलिउड स्टारहरू शैक्षिक योग्यता पनि हाम्रो चासोको विषय हुन सक्छ । हामीलाई अचम्म लाग्न सक्छ, अहिले सुपर स्टारका रूपमा राज गरिरहेका कतिपय अभिनेता/अभिनेत्रीको शैक्षिक उपलब्धि ठिटलाग्दो छ ।
रणवीर कपुर
अहिलेका हटकेक मानिने बलिउड अभिनेता रणवीर कपुरले कहिल्यै कलेज टेकेनन् । आफ्नो फेसन सेन्स र स्टाइलका लागि चिरपरिचित कपुरले दस कक्षा मात्र ५४ प्रतिशत अंकमा उत्तीर्ण गरेका थिए । आफ्नो यस्तै कमजोर शैक्षिक उपलब्धिका कारण रणवीर कपुरले कलेज गएर अध्ययन गर्नुभन्दा व्यवहारिक ज्ञान आर्जन गर्ने निर्णय गरे । चलचित्रमा अभिनेताका रूपमा देखा पर्नुअघि उनी निर्देशक संजयलिला भन्सालीका सहायक थिए ।
अक्षय कुमार
बलिउडमा सय करोड क्लबका राजा मानिने अक्षय कुमारलाई उनका प्रशंसकहरूले खेलाडी कुमारका रूपमा पनि चिन्छन् । अक्षय कुमारले मुम्बईस्थित डन बोस्को स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए । उच्च शिक्षाका लागि उनले मुम्बइकै गुरु नानक कलेजमा भर्ना लिएका थिए, तर कुन्नी किन हो उनले बीचमै पढाइ छाडे । त्यसपछि कुकका रूपमा थाइल्यान्ड र सिंगापुरमा काम गरेका अक्षय कुमारले त्यहीँ मार्सल आर्ट सिके । त्यही मार्सल आर्टको कौशलले उनलाई बलिउड अभिनेताका रूपमा स्थापित गर्यो ।
सलमान खान
बलिउडमा भाइका रूपमा परिचित सुपर स्टार सलमान खानले मुम्बइ स्थित सेन्ट स्ट्यानिलस हाइ स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए । हाइ स्कुलपछि उनी कहिल्यै कलेज भर्ना भएनन् । पटक–पटकको प्रयासपछि पनि कलेज अध्ययनको इच्छा पूरा गर्न नसकेका खानले त्यसपछि सहायक निर्देशकका रूपमा चलचित्र करियर सुरु गरेका हुन् ।
आमिर खान
बलिउडमा मिस्टर फर्फेक्टसनिस्टका रूपमा परिचित आमिर खान पनि उच्च शिक्षित व्यक्तित्व होइनन् । १२ कक्षा उत्तीर्ण गरेपछि बरालिएका आमिर खानलाई पछि उनका काका चलचित्र निर्माता/निर्देशक नासिर हुसेनले आफ्नो सहायकका रूपमा काममा लगाए । छोराको चलचित्रप्रतिको रुचि देखेपछि पिता चलचित्र निर्माता ताहिर हुसेनले आमिरलाई चलचित्र अभिनेताका रूपमा अवसर दिएका थिए ।
दीपिका पादुकोण
बलिउडकी स्टाइल डिभा दीपिका पादुकोण कहिल्यै कलेज प्रवेश गरिनन् । बेंगलुरुस्थित माउन्ट कार्मेल स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी पादुकोण हाइस्कुल पढ्दा ब्याडमिन्टन स्टारका रूपमा उदाएकी थिइन् । दीपिकालाई त्यसपछि ग्ल्यामरले तान्यो र लागिन मोडलिङतर्फ । मोडलिङमा नाम कमाएपछि उनलाई उच्च शिक्षाको हुटहुटीले च्याप्न थाल्यो, त्यसपछि उनले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुल्ला विश्वविद्यालयबाट उच्च शिक्षा लिने चाहना देखाइन् र त्यहाँ भर्ना पनि भइन् । यद्यपि चलचित्रबाट प्रस्ताव आउन थालेपछि उनले आफ्नो अध्ययनलाई निरन्तरता भने दिन सकिनन् ।
प्रियंका चोपडा
सन् २००० मा मिस वर्ल्डको उपाधि जितेकी प्रियंका चोपडा पनि कहिल्यै कलेज गइनन् । कुनै बेला क्रिमिनल साइकोलोजिस्ट (अपराधको मनोविज्ञान) का रूपमा करियर बनाउने सपना पालेकी चोपडाले मिस वर्ल्ड भएपछि चलचित्र तथा मोडलिङबाट आउन थालेको प्रस्तावका कारण पनि कलेजमा पाइला टेक्न सकिनन् ।
ऐश्वर्या राय बच्चन
कुनै बेला बलिउडकी महारानी मानिएकी ऐश्वर्या राय बच्चनको शैक्षिक पृष्ठभूमि पनि निकै कमजोर छ । सन् १९९९ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्यालाई ग्ल्यामरको चमक–दमकले यसरी तान्यो कि उनले आफ्नो शैक्षिक पृष्ठभूमिका बारेमा सोच्न समेत भ्याइनन् । माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि मुम्बइको जय हिन्द कलेजमा भर्ना भएकी ऐश्वर्याले आफ्नो करियर बनाउने धुनमा कलेजमा खुट्टा टेक्नै सकिनन् ।
कटरिना कैफ
सफल अभिनेत्री कटरिना कैफ पनि अल्पशिक्षित अभिनेत्री हुन् । बेलायतको लन्डन जस्तो सहरमा हुर्किएकी कटरिना कैफका आधा दर्जन भन्दा बढी दिदी–बहिनी थिए । तीमध्ये सबैभन्दा जेठी कटरिनाले घरको गरिबीका कारण सानै उमेरमा आफ्ना अभिभावकलाई सघाउन काम खोज्नुपर्यो । कुनै बेला लन्डनका बारहरूमा वेट्रेसका रूपमा काम गरिसकेकी कटरिनालाई भाग्यले बलिउडमा पुर्यायो ।
करिना कपुर खान
ग्ल्यामर गर्ल करिना कपुरले पनि आफ्नो उच्च शिक्षा पूरा गर्न सकेकी छैनिन् । माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि कमर्सको अध्ययनका लागि मुम्बई स्थित मिठी बाई कलेजमा दुई वर्षजति अध्ययन गरेकी करिना कपुर खानले अध्ययनकै क्रममा चलचित्रमा अभिनय गर्ने प्रस्ताव पाएपछि कलेज जान छाडिदिइन । कपुरका अनुसार उनको रुचि कानुनको अध्ययनमा समेत थियो, तर त्यो पनि अधुरै रह्यो । उता करिनाकी दीदि तथा आफ्नो समयकी बलिउड स्टार करिश्मा कपुरले त झन् माध्यमिक शिक्षा पनि पूरा गर्न सकिनन् । करिश्मा जम्मा ८ कक्षा उत्तीर्ण छिन् ।