साप्ताहिक संवाददाता
असार २४, २०७६
वेस्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल आफैंले आफैंलाई युनिभर्सल बोस भन्छन् । फ्रेन्चाइज क्रिकेटको बढ्दो लोकप्रियताका कारण उनी जताततै पुगेका हुन्छन् र उनको उपस्थिति कुनै पनि टिमका लागि बलियो पक्ष सावित हुन्छ । लामा–लामा प्रहारका लागि माहिर गेलले यस्तै निर्णायक प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो यसपटकको विश्वकपमा, तर उनी त्यसमा सफल देखिएनन् ।
गेलले रन नजोडेका पनि होइनन, तर उनको प्रदर्शन त्यस्तो रहेन, जस्तो अपेक्षा थियो अर्थात् उनको खेलकै मद्दतले विश्वकपमा जित हात पार्ने वेस्ट इन्डिजको सपना पूरा हुन सकेन । श्रीलंकाविरुद्धको खेलका क्रममा उनी एकदिवसीय क्रिकेटमा ब्रायन लारालाई उछिनेर वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले यसपटकको विश्वकप खेल्नुका पछाडि यही कीर्तिमानलाई छुनु पनि थियो ।