साप्ताहिक संवाददाता
चलचित्र विकास बोर्डले असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ आयोजना गर्ने भएको छ । आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर बोर्डले उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
‘हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ,’ बोर्डले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
पुरस्कारमा सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको बोर्डले जनाएको छ । पुरस्कृत हुनेलाई प्रति विधामा जनही २५ हजार रुपैयाँसमेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराएका छन् । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।
समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ ।