विद्यार्थीको भविष्यमा अभिभावकको भूमिका 

- लक्ष्मी भण्डारी

असार २५, २०७६

हरेक आमाबाबुका लागि सन्तानको शिक्षादीक्षा सबैभन्दा ठूलो चिन्ताको विषय हुन्छ । कहाँ पढाउने ? कस्ता शैक्षिक संस्था राम्रा हुन्छन् ? कस्तो वातावरणमा सन्तानले आफूलाई अब्बल प्रमाणित गर्न सक्छन् ? यी र यस्ता विविध प्रश्न आमाबाबुमा उब्जिइरहेको हुन्छ । उनीहरूको भविष्य शिक्षाले निर्धारण गर्ने हुँदा आफ्ना सन्तानलाई सकेसम्म राम्रा स्कुल–कलेज पढाउने हरेक अभिभावकको इच्छा हुन्छ, तर राम्राको मापदण्ड के ? भन्नेमा दुविधा हुनसक्छ । नहोस् पनि कसरी ? परिणामका आधारमा यो वर्ष अगाडि देखिएका स्कुल–कलेज अर्को वर्ष खस्किइरहेका हुन्छन् । जुन अभिभावक र शैक्षिक संस्था स्वयंका लागि पनि चुनौती हो । छोराछोरी कहाँ पढाउने ? कुन विषय पढाउने ? कस्तो ठाउँमा पढाउने ? भन्ने अन्यौलमा रहेकाहरूका लागि प्लस टु पास आउट विद्यार्थीका अविभावकहरूको सुझाव उपयोगी हुनसक्छ ।

सस्तो, सरकारी विद्यालय पढेकालाई बढी मान्यता र छुट, बेला–बेलामा युनिट टेस्ट, युनिट टेस्टमा अनुत्तीर्ण भएको खण्डमा पनि पुनः परीक्षा दिएर पास गराउने, कपी घरमै लान पाउने, अभिभावक टाढा भएको अवस्थामा फोन गरेर बेला–बेलामा जानकारी गराऊने, अतिरिक्त त्रियाकपालमा प्रशस्त व्यवहारिक ज्ञान दिने हुनाले मैले छोरालाई ट्रिनिटी कलेजमा पढाएँ । सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्राप्त हुने अपेक्षा गरेर हामीले छोरालाई त्यहाँ भर्ना गरेका हौं । उसले हाम्रो अपेक्षाअनुसार राम्रै गर्‍यो । 

सुष्मा थापा, शिक्षिका 

स्कुल सकिएपछि हामीले छोरीको इच्छा र रुचिमा विशेष ध्यान दियौं । कुन कलेज पढ्दा उसले आफ्नो खुबीअनुसार एक्सप्लोर गर्न र आफूलाई अब्बल बनाउन सक्छे सोही अनुरुपको कलेजमा पढाउने निर्णय गर्‍यौं कलेजको पृष्ठभूमि, उनीहरूको भिजन, एकेडेमिक फोकस हो कि ? अलराउन्ड डेभलपमेन्ट हो ? त्यो हेर्‍यौं । मेरी छोरीले ब्रिटिस स्कुलबाट आइडिसिएसई गरेकी हो । त्यसपछि उसले युडब्लुसी (युनाइटेड वर्ल्ड कलेज) साउथ अफ्रिकामा पढी । धेरै ठूलो प्रतिस्पर्धापछि ऊ त्यहाँ पुगेकी हो । जसका लागि ऊ आफैंले मेहनत गरेकी थिई । राम्रो स्कुल पढाएपछि उसको रुचि र क्षमताअनुसार कहाँ र के पढ्ने ? सम्बन्धित विद्यालयले नै काउन्सिलिङ गर्छ । विद्यार्थी आफैंले मिल्दोजुल्दो युनिभर्सिटी खोजेर विद्यालयको गाइडेन्समा आफैं पनि अप्लाई गर्छन् । उसको रुचिको विषय नेपालमा पढ्न नपाउने भएपछि मात्र उसलाई उता पठाउनुपरेको हो । अहिले ऊ अमेरिकामा लिबेरल आर्ट्सअन्तर्गत कम्युनिकेसन एन्ड मार्केटिङमा ब्याचलर गर्दैछे । ऊ अहिले जिम्मेवार, सिर्जनशील र अनुशासित छे, जसमा हामी अभिभावक सन्तुष्ट छौं । अब उसले कर्म क्षेत्रमा आफूलाई प्रमाणित गरेर देखाउन बाँकी छ । 

दिप्ती आचार्य, निर्देशक, संस्कृति इन्टरनेसनल स्कुल

मेरी छोरीले एसईईमा ए ग्रेड ल्याएपछि म उसको स्तरअनुसार फिजिक्स पढाउने कलेज खोज्न थालें । त्यस क्रममा थुप्रै कलेजका ब्रोसर र लिफलेट जम्मा गरें । धेरैले यो कलेज राम्रो, ऊ कलेज राम्रो भन्ने कुरा गरें तर मैले कसैको कुरा नसुनी छोरीलाई नै त्यसको जिम्मेवारी दिएँ । तिमीले कुन कलेजमा इन्ट्रान्स दिने आफैं निर्णय गर भनेर छोडिदिएँ । त्यसलगत्तै उसले झन्डै पाँचवटा कलेजमा इन्ट्रान्स एक्जाम दिई । स्कुलको १ कक्षादेखि १० कक्षासम्म ८० प्रतिशतभन्दा बढी अंक ल्याएर एसईईमा ए ग्रेड ल्याएको विद्यार्थीको पाँचैवटा कलेजमा नाम निस्किएन । यसले के प्रस्ट पार्छ भने यहाँका कलेज चिनजान र सिफारिसका भरमा चल्छन् । त्यसपछि नेपालको स्थिति यस्तो छ, भारतमा पढ्न जाने कि भनेर छोरीलाई नै सोधे तर उनले रुचि देखाइनन् । त्यसपछि अमेरिकन राजदूतावास भित्रको केन्द्रिय विद्यालयमा इन्ट्रान्स दिंदा नाम निस्कियो । छोरीले कम्प्युटर साइन्समा डिस्टिङसन ल्याएर प्लस टु उत्तीर्ण गरिन् । अहिले उनी ब्याचलर बिसिए अध्ययनरत छिन् । कलेज छान्दा आफ्नो रुचि र क्षमताअनुसारको विषयमा राम्रो अध्यापन गराउने कलेज छान्नुपर्दो रहेछ । आफ्नो परिवारको आर्थिक स्रोतलाई पनि मध्यनजर राख्दै सोही अनुसारको कलेज हेर्नुपर्छ । 

मोहितमर्दन थापा, चलचित्र निर्माता तथा व्यवसायी

अहिले मेरो जेठो छोराले प्लस–टु सिध्याइसकेको छ । हामी ऊप्रति निराश छैनौं । अनुशासन, फढाइ तथा अतिरिक्त त्रियाकलाप सबैमा राम्रो छ । स्वर राम्रो भएकाले गायनमा ऊ राम्रो छ । एसईईको रिजल्टपश्चात् उसको उच्च शिक्षाका लागि हामी थुप्रै कलेज धायौं । म्युजिकमा राम्रो भएको कलेज पढ्ने उसको इच्छा थियो तर हामीले साइन्स बेस बनाएपछि ब्याचलर्स त जुन विषयमा गर्दा पनि हुन्छ भन्ने हिसाबले साइन्स पढ्न सुझायौं । उसको बाबा पनि प्राध्यापक भएकाले हामीलाई निर्णय गर्न केही सहज भयो । कलेज छनौटका क्रममा हामीले सर्वप्रथम त्यहाँको एकेडेमिक फाउन्डेसनमा जोड दियौं । त्यसपछि त्यहाँ कस्ता शिक्षक छन्, पढाइको तौरतरिका के कस्तो छ, ल्याब मात्र भएर भएन त्यहाँका उफकरण के–कस्ता र कति छन्, अतिरिक्त त्रियाकलाप कत्तिको गराइन्छ, यी कुरामा हामी केन्द्रित भयौं । सोही अनुरुप छोराले राम्रै नतिजा ल्याएर प्लस टु उत्तीर्ण गर्‍यो । उसको आत्मविश्वास, क्रिएटिझिटी तथा अतिरिक्त त्रियाकलापमा हामीले सोचेअनुरूप थप परिवर्तन आइसकेको छैन, जसका लागि उसले अझैं मेहनत गर्नुपर्नेछ । 

उमा कार्की, गृहिणी 

मेरो छोराले एसईई सकेपछि शैक्षिक गुणस्तरयुक्त, प्रयोगात्मक ढंगले पढाउने, अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त तथा अनुशासन आदि कुरामा बढी केन्द्रित भएर कलेज भिजिट गर्‍यो । हामी दुवैको चाहना प्लस टुभन्दा पनि ए लेभल पढाउने थियो । त्यसका लागि म नेपालमा भएका ए लेभल पढाउने थुप्रै कलेजमा पुगें । २ वटा मन परेका कलेजमध्ये छोराको चाहनाअनुरूप लिटिल एञ्जल्समा पढाएँ । म आफ्नो छोराको शिक्षाबाट सन्तुष्ट छु । ए लेभलमा साइन्स पढेको मेरो छोरा अहिले म्यानेजमेन्ट पढ्ने चाहना गरिरहेको छ । उतिबेला मेडिकल डक्टर बन्ने चाहना अहिले परिवर्तन भएर उद्यमी बन्नेमा पुगेको छ । कलेजमा मिनी–युएन–कन्फरेन्स भैरहने भएकाले उसले त्यसमा भाग लिने अवसर पायो, जसअनुसार उसले कोर्सका कुरा बाहेक पब्लिक स्पिकिङ, अन्तर्राष्ट्रिय डेलिगेट्स प्राक्टिससम्बन्धी प्रसस्त ज्ञान प्राप्त गरेको छ । मुख्य कुरा कलेजको संकाय कस्तो छ ? शिक्षक कस्ता छन् ? पढाऊने तरिका कस्तो छ ? अतिरिक्त त्रियाकलाप र विद्यार्थी आफैं संलग्न हुने कार्यक्रम कस्ता र कत्तिको छन् ? हेनुपर्छ । ए लेभलको करिकुलम पढाउने शिक्षकहरूले नेपालको करिकुलमलाई समेत ध्यान दिन सके भने अझ राम्रो हुन्छ भन्ने मैले महसुस गरें । 

सुदर्शन बस्नेत, अध्यक्ष, सुस्वाथ अस्पताल

मेरा छोरीहरूले एसईई उत्तीर्ण गरिसकेपछि कहाँ पढाउने ? कस्तो कलेज पढाउने ? एकछिन त अलमल नै भयो । मैले सबैभन्दा पहिले आफूलाई पायक पर्ने लोकेसन र गुणस्तरीय फढाइ कहाँ छ त्यो नै हेरें । त्यसबाहेक अतिरिक्त त्रियाकलाप कहाँ बढी हुन्छ ? त्यसमा पनि मेरो फोकस थियो । उनीहरू दुवै डिएभी स्कुल पढेकाले कलेज पनि त्यहीं पढेँ । सानैदेखि त्यही वातावरण, शिक्षक टिम र पढाइ पनि राम्रो भएकाले त्यहीं निरन्तरता दिएकी हुँ । कलेज सुरु गरेपछि ऊनीहरूमा शैक्षिक आदि अतिरिक्त त्रियाकलापमा निखार आयो । सुरुमा उनीहरूले फरक कलेज पढ्ने सोच बनाएका थिए तर मैले उनीहरूलाई त्यहीँ पढ्न कन्भिन्स गरेँ । विद्यार्थीको रुचि र स्वाभावअनुसार व्यवहार गरिने, अभिभावकहरूसँग निरन्तर छलफल गरिरहने, मजबुत पाठ्यक्रमजस्ता कारणले आज मेरा छोरीहरू आफ्नो विषयमा दक्ष भएर निस्कँदैछन् । सामाजिक कार्यमा पनि उनीहरूको रुचि छ । मानिसहरूसँग घुलमिल गर्ने स्वभाव पनि गज्जबको छ, यो सबै विद्यालयको सिकाइबाटै सम्भव भएको हो । 

रेनु रानामगर, ब्युटिसियन

एसईई उत्तीर्ण भएपछि मैले मेरा छोरीहरूको उच्च शिक्षाका लागि धेरै कलेज चहारें । म राम्रो र प्रभावकारी शिक्षा दिने कलेजमा केन्द्रित थिएँ । पासआउट विद्यार्थीहरूको अहिलेको स्तर के छ, उनीहरू कहाँ के गर्दैछन् भन्ने कुरादेखि उनीहरूको नतिजालाई पनि मैले कलेज छनौटको आधार मानें । आफ्ना साथीभाइ, इष्टमित्र तथा आफन्तहरूसँग पनि जानकारी लिएँ । विद्यार्थीको बौद्धिक क्षमता, कलेज र विद्यार्थी स्वयंको क्षमतामा निर्भर रहने कुरा हो । प्लस टु सकेर निस्किएकी मेरी छोरीप्रति म सन्तुष्ट नै छु । गाउँबाट पढेर आउनेहरू पढाइलगायत हरेक क्रियाकलापमा तेज हुन्छन्, सहरमा हुर्किएका हाम्रा बच्चाहरू कुनै कुरामा ठक्कर नखाई सजिलोसँग त्यहाँ पुगेका हुनाले तुलनात्मक रूपमा थोरै पछाडि नै देखिन्छन् । प्लस टु कलेजमा देखिएको आम समस्या भनेको नेपालीमा प्रस्तुतीकरण र लेखनशैली अत्यन्तै कमजोर हुनु हो जसमा सुधार ल्याउनुपर्छ । 

पुस्कल न्यौपाने, व्यवसायी

प्रकाशित :असार २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्