साप्ताहिक संवाददाता
अभिनेता पुष्प खड्काको पहिचान केबल म्युजिक भिडियोको मोडलका रूपमा मात्र छैन् । उनी चलचित्रका कुशल नायकसमेत हुन् । चलचित्र ‘अझै पनि’मा सह–अभिनेताका रूपमा ठूलो पर्दामा ‘डेब्यू’ गरेका खड्काले अभिनेताका रूपमा ‘दर्पणछायाँ–२’, ‘मंगलम्’, ‘दाल भात तरकारी’ तथा ‘मारुनी’मा अभिनय गरिसकेका छन् । म्युजिक भिडियो तथा चलचित्रमा उनले सहारा कार्की, शिल्पा पोखरेल, आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, अनु शाह आदि अभिनेत्रीसँग रोमान्स गरेका छन् । खड्काको नजरमा यी अभिनेत्रीको राम्रो तथा नराम्रो पक्षः
सहारा कार्की
सहारा मानवीय रूपमा असल व्यक्ति हुन् । उमेरले सानै भए पनि उनको आनीबानी, बोली एवं व्यवहारमा परिपक्वता छ । अमेरिका बसेर आएको हुनाले यहाँको रहनसहन खासै बुझ्न सकेकी छैनन् । मैले उनलाई देशअनुसारको भेष गर्न नजान्ने खालकी पाएँ ।
शिल्पा पोखरेल
शिल्पा काममा मेहनत गर्ने कलाकार हुन् । उनी काममा असाध्यै खट्छिन् । यद्यपि अलिक सोझी खालकी छिन् । कुनै पनि कुरा छिटै बुझ्न सक्दिनन् । काम गर्न सक्दिन कि भन्ने सोच्छिन् । त्यो बानी हटाएर आत्मविश्वासी हुन सके अझ राम्रो हुन्थ्यो ।
आँचल शर्मा
मेरो नजरमा आँचल इनरजेटिक तथा पावरफूल लेडी हुन् । उनको शब्दकोशमा ‘अल्छी’ भन्ने शब्द छैन । यद्यपि केही कुरामा चित्त बुझेन भने उनी तुरुन्तै अफसेट हुन्छिन् । त्यस्तो अवस्थामा उनी आफैंलाई ‘डिस्टर्ब’ गर्छिन् भने कहिलेकाही प्याच्च बोल्ने बानी पनि छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी विन्दास क्यारेक्टर हुन् । उनलाई आफू र अरूको जीवनमा कसले के गर्यो, के भन्यो भन्ने कुनै मतलब छैन । काममा भरपुर मेहनत गरेर बाँकी समय बिन्दास किसिमले बिताउने युवती हुन् उनी ।
केकी अधिकारी
केकी आफैंमा पानी हुन् । उनी जहाँ पनि खुल्न सक्छिन् । काममा कोओपरेटिभ छिन् । उनले आफ्नो स्क्रिन क्यारेक्टर परिवर्तन ल्याउनुपर्छ । गाउँले लुक्समा देखिने केकी अब सहरिया लुक्समा पनि प्रस्तुत हुनुपर्छ ।
अनु शाह
मेरो नजरमा अनु अत्यन्त साधारण युवती हुन् । उनमा अरूको कपी गर्ने, लप्पनछप्पन गर्ने बानी छैन । उनी अरूको कुरामा चासो पनि दिन्नन् । अनु राम्रो प्रतिभा भएकी मेहनती कलाकार हुन् ।
प्रस्तुति ः नेमिष गौतम