फरक देशमा जन्मने जुम्ल्याहा

  • विश्व जनसंख्या दिवस विशेष

- साप्ताहिक संवाददाता

असार २६, २०७६

प्रत्येक वर्षको जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाइन्छ । सन् १९८७ को जुलाई ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन थालेको हो । सन् २०१७ को मध्यमा विश्वको जनसंख्या ७ अर्ब ६० करोड पुगेको थियो भने अहिले सन् २०१९ को मध्य भएका कारण त्यो संख्यामा थप केही वृद्धि भैसकेको छ ।

विश्वको जनसंख्याको वृद्धिदर १ दशमलव १० प्रतिशत छ, जसअनुसार विश्वमा प्रत्येक वर्ष ८ करोड ३० मानिस थपिन्छन् । यो अनुमानअनुसार सन् २०३० सम्ममा पृथ्वीमा मानिसको जनसंख्या ८ अर्ब ६० करोड, २०५० सम्ममा ९ अर्ब ८० करोड तथा २१०० सम्ममा ११ अर्ब २० करोड पुग्नेछ । 

विश्वमा अहिले ५० दशमलव ४ प्रतिशत पुरुष छन् भने ४९ दशमलव ६ प्रतिशत महिला छन् । सन् २०१७ को तथ्यांकअनुसार १० देखि २४ वर्ष उमेर समूहको जनसंख्या १ अर्ब ८० करोड छ, जसमध्ये अधिकांश युवा विकासशील राष्ट्रमा छन् । अहिले सर्वाधिक जनसंख्या चीनमा १ अर्ब ४१ करोड छ भने दोस्रोमा रहेको भारतमा १ अर्ब ३४ करोड मानिस छन् । अहिले नाइजेरियाको जनसंख्या सर्वाधिक तीव्र रूपमा वृद्धि भैरहेको छ । नाइजेरियाको जनसंख्या यही रफ्तारले बढ्ने हो भने अहिले जनसंख्याको दृष्टिकोणले सातौं स्थानमा रहेको नाइजेरिया सन् २०५० मा तेस्रो स्थानमा पुग्नेछ । 

सन् २०५० सम्ममा विश्वको आधाभन्दा बढी जनसंख्या भारत, नाइजेरिया, कंगो, पाकिस्तान, इथियोपिया, तान्जानिया, अमेरिमा, युगान्डा तथा इन्डोनेसियामा हुनेछन् । 

एकैपटक ८ सन्तान

आमा बन्ने क्रममा एकैपटक सर्वाधिक जीवित सन्तान जन्माउने महिला अमेरिकाको क्यालिफोर्निया निवासी नादिया सुलेमान हुन् । सन् २००९ जनवरी २६ मा उनले ६ छोरा तथा २ छोरीलाई जन्माएकी थिइन् । उनले ती सन्तान जन्माउन कृत्रिम गर्भधारण 

गरेकी थिइन् । 

८४ सन्तान जन्माउने पिता 

आधिकारिक रूपमा धेरै सन्तान जनाउने व्यक्तिका रूपमा रसियाका फियोडोर भासिल्येभको नाम आउँछ । सन् १७२५ देखि १७६५ को बीचमा फियोडोरले पहिलो श्रीमतीबाट ६९ जना सन्तान जन्माएका थिए । उनको श्रीमतीको नाम थाहा नभए पनि उनले ४ पटक चम्ल्याहा (१६), ७ पटक तिम्ल्याहा (२१) र १२ पटक जुम्ल्याहा (३२) सन्तान जन्माएका थिए । फियोडोरले आफ्नी दोस्री श्रीमतीबाट २ पटक तिम्ल्याहा (६) र ६ पटक जुम्ल्याहा (१२) सन्तान जन्माएका थिए । ३५ पटकको गर्भाधारणबाट उनले ८७ जना सन्तान जन्माएका थिए भने उनका ८४ सन्तान बाँचेका थिए ।

अग्ली जुम्ल्याहा

अमेरिकाको ओरिगनमा सन् १९८८ फेब्रुअरी ९ मा जन्मिएका क्लारिया र एन्नी रिच सर्वाधिक अग्ला जुम्ल्याहा दिदीबहिनी मानिन्छन् । सन् २०१० मा मापन गर्दा ती दिदीबहिनीको उचाइ समान ६ फिट ७ इन्च थियो । 

फरक देशमा जन्मने जुम्ल्याहा

क्यारोल मुनरोले सन् १९७६ सेप्टेम्बर २३ मा वेल्सपुल हस्पिटल वेल्समा हेडी हिलाने गानोनलाई जन्म दिइन् । पहिलो सन्तानलाई जन्म दिएपछि उनको स्वास्थ्य निकै जटिल भयो र उनलाई थप उपचारका लागि इंग्ल्यान्डको रोयल सेरेसबरी हस्पिटलमा ट्रान्सफर गरियो । त्यहाँ उनले दोस्रो सन्तान क्याथरिन जोआनी बेनिसलाई जन्म दिएकी थिइन् । 

लामो दाम्पत्य जीवन

जापानका मासाओ मात्सुमोतो तथा मियाको सोनोडा सर्वाधिक लामो समय दाम्पत्य जीवन बिताउने दम्पती हुन् । १ सय ८ वर्ष १६ दिनका मासाओ तथा १ सय वर्ष २ सय ४३ दिनकी मियाकोले ८० भन्दा बढी वर्ष साथै बिताएका थिए ।

 

प्रकाशित :असार २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्