छवि शिल्पाको प्रहरीसँग अब झगडा नगर्ने कबुल

- साप्ताहिक संवाददाता

असार २७, २०७६

आफ्ना श्रीमान् तथा निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको भन्दै शान्ति सुरक्षा गरी पाउँ भन्ने बेहोराको उजुरी बोकेर जिल्ला प्रशासन कार्यालय पुगेकी अभिनेत्री शिल्पा पोखरेल अन्ततः श्रीमानसँग झगडा नगर्ने सहमति गरेर फर्किएकी छिन् । उनका पति ओझाले प्रहरी सामु अब शिल्पालाई नपिट्ने, घर फर्किए माया गरेर राख्ने र झगडा नगर्ने भन्दै कबुल गरेपछि उनी बिहिबार लिखित रुपमा सहमति गरेर फर्किएकी हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीहरुबीच झगडा नगर्ने सहमति भएको हो । परिसरका प्रवक्ता होबिन्द्र बोगटीलले बिहीबार प्रहरी कार्यालयमै शिल्पा र छविबीच आगामी दिनमा एक–अर्काको शान्ति सुरक्षामा असर नगर्ने सहमति भएको बताए ।  शिल्पा पोखलेरले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको र त्यही उजुरीका आधारमा दुवै पक्षबीच सहमति भएको बोगटीले बताए ।

उनीहरु एक–अर्कासाग बस्ने–नबस्ने भने उनीहरुको व्यक्तिगत कुरा भएको बोगटीले बताए । शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार जिल्ला प्रशासनमार्फत् प्रहरीमा छविविरुद्ध उजुरी दिएकी थिइन् ।

शिल्पा पोखरेल र छविराज ओझाबीच दुई वर्षअघि नै गोप्य विवाह भएको बताइन्छ । भनिन्छ, उक्त विवाहमा शिल्पाको कन्यादान फोटो पत्रकार विकास रौनियारले गरिदिएका थिए । शिल्पाले रौनियारलाई दाइ मानेर विगत केही वर्षदेखि भाइटीका समेत लगाइरहेकी छिन् । त्यही सम्बन्धका आधारमा रौनियारले शिल्पाको कन्यादान गरिदिएका हुन् । शिल्पाले श्रीमान् ओझाबाटै आफूमाथि घरेलु हिंसा भएको तथा जीउज्यान नै असुरक्षित भएको बेहोराको उजुरी दर्ता गरेदेखिनै शिल्पा यतिबेला दाइ रौनियारकै संरक्षणमा छिन् ।

शिल्पा र छविराजले २०७३ सालको दसैंताका विवाह गरेको बताइन्छ । यद्यपि, विवाह भएको केही समयपछि नै उनीहरूबीच खटपट प्रारम्भ भएको उनीहरूका निकट मित्रहरूले बताएका छन् । लामो समयको निकट सम्बन्धपछि दुवै वैवाहिक जीवनमा बाँधिएका थिए, यद्यपि आजको मितिसम्म उनीहरूले आफ्नो वैवाहिक सम्बन्धलाई गोप्य नै राखेका थिए । छविराजको यो चौथो विवाह थियो ।

बढिरहेको थियो खटपट

शिल्पा तथा छविराजलाई नजिकबाट चिन्नेहरूका अनुसार पछिल्लो समय शिल्पा र छविराजबीचको सम्बन्ध सुमधुर रहन सकेको थिएन । शिल्पाले आफ्ना नजिकका साथीहरूसँग वैवाहिक जीवनमा खासै मिठास नरहेको प्रतिक्रिया दिइरहेकी थिइन् भने छविराज पनि आफ्ना सहकर्मीमाझ प्रायः मौन रहन्थे ।

छविराज ओझाको वैवाहिक पृष्ठभूमि

पूर्वपत्नी रेखा थापाबाट पाएको नाम ‘बा’ बाट परिचित निर्माता छविराज ओझाकी जेठीे श्रीमती हेमा ओझा हुन् । ३५ वर्षअघि हेमासँग विवाह गरेका छविले उनीसँग त्यसको आठ वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । हेमाबाट छविका दुई छोरा छन् । हेमासँगको सम्बन्धविच्छेदपछि नै अभिनेत्रीहरूसँग विवाह शृंखला सुरु भएको हो । आफ्नो चलचित्र नातामा काम गर्ने त्रममा छविको गीताञ्जली सुनुवारसँग छविको प्रेम–विवाह भएको थियो, तर डिप्रेसनका कारण केही समय पछिनै गीताञ्जलीले आत्महत्या गरिन् । छवि र गीताञ्जलीका एक छोरा साकार छन् । गीताञ्जलीपछि छविको तेस्रो विवाह अभिनेत्री रेखा थापासँग भयो । छविकै चलचित्र हिरोबाट ब्रेक पाएकी १६ वर्षीया रेखा झन्डै १२ वर्ष उनीसँग रहिन् । रेखाले २०७३ सालमा छविसँग कानुनी रूपमा सम्बन्धविच्छेद गरिन् । छविराजसँग विवाह गर्नुअघि शिल्पाले विकास बस्याल क्षेत्रीसँग प्रेमविवाह गरेकी थिइन् । विकाससँगको उनको विवाह चार वर्षजति चलेको बताइन्छ । थुप्रै म्युजिक भिडियोको मोडलिङमा सक्रिय शिल्पालाई छविले नै चलचित्र लज्जाबाट चलचित्रको अभिनयमा प्रवेश गराएका थिए । शिल्पाले छविको चलचित्र किस्मत–२, हवल्दार सुन्तली तथा मंगलम्मा अभिनय गरिसकेकी छिन् ।

डिभोर्सको चर्चा

वैवाहिक जीवन सुखद नभएकाले तथा छविराजको कथित घरेलु हिंसाबाट आजित भएपछि शिल्पाले श्रीमान्सँग डिभोर्स नै मागेकी थिइन् । शिल्पाले डिभोर्स मागे पनि छवि भने डिभोर्स दिन तयार नभएको बताइन्छ । बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट निस्कदै गर्दा पनि छविले आप्नो तर्फबाट डिभोर्स नदिने बताएका छन् ।  स्मरणीय के छ भने विराटनगरमा जन्मिएकी शिल्पा पोखरेलले म्युजिक भिडियोबाट अभिनयको यात्रा प्रारम्भ गरेकी थिइन् । म्युजिक भिडियोमा अभिनय गर्ने क्रममै उनलाई निर्माता छविराज ओझाले चलचित्र ‘लज्जा’ मार्फत रजतपटमा भित्राएका हुन् । त्यसयता शिल्पाले छविराजकै ब्यानरमा निर्माण भएका चलचित्र हवल्दार सुन्तली, मंगलम आदिमा अभिनय गरेकी थिइन् । शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंबाट निस्किएपछि चलचित्रमा मौका दिएकै भरमा कुटपिट सहेर नबस्ने बताएकी छिन् । 

 

प्रकाशित :असार २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्