साप्ताहिक संवाददाता
गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागी २ हजार ३ सय प्रतिभामध्ये १ सय जनाभन्दा बढी ब्लाइन्ड अडिसनका लागि छानिएको बताइएको छ । छनौट भएका प्रतिस्पर्धीहरूले अब ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेछन् । अब कोचहरूले उनीहरूमध्येबाट उत्कृष्ट प्रतिभाहरूलाई अर्को चरणका लागि छनोट गर्नेछन् ।
द भ्वाइस अफ नेपाल सिजन–२ मा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा तथा गायिका आस्था राउत कोचका रूपमा सहभागी छन् । अघिल्लो सिजनका दुई कोच सनूप पौडेल तथा अभाया सुब्बाको स्थानमा लामा र राउत समावेश भएका हुन् । यो कार्यक्रम साउनको पहिलो हप्तादेखि हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।
द भ्वाइस अफ नेपाल सन् २०१० मा द भ्वाइस अफ हल्यान्डको नामबाट प्रारम्भ भएको गायन प्रतिभा खोज्ने रियालिटी शो द भ्वाइसको नेपाली संस्करण हो । ‘द भ्वाइस’ अहिले विश्वका १ सय ९१ देशमा फ्रेञ्चाइज शोका रूपमा चलिरहेको छ । गत वर्ष भएको पहिलो सिजनको द भ्वाइस अफ नेपालमा सीडी विजय विजेता भएका थिए ।