‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यि हातले सधै सधै नेपाल लेख्न पाइयोस् ।’
यो गीत सुन्नासाथ स्रोताले गायक रामकृष्ण ढकाललाई सम्झन्छन् । गायक रामकृष्ण ढकाललाई सम्झने बित्तिकै स्रोताले यहि गीत सम्झन्छन् । पहिलो पकट २०५२ साल ताका रेकर्ड भएको यो लोकप्रिय गीतको आफ्नै कथा छ ।
पहिलो पकट यो गीत निर्माण ताका संगीतकार आलोकश्री लाई गीत बनाउँनै ६ महिना लागेको थियो । त्यसबेला उनलाई सबैभन्दा गाह्रो भएको थियो यस गीतका गीतकार कालीप्रसाद रिजालसम्म पुग्न । भर्खरै संगीतमा आएका आलोकलाई पिर थियो रिजालले आफूलाई स्विकार नगर्ने हुन कि भन्ने ।
गायक रामकृष्ण ढकालले भने यस भन्दा अघिनै केहि चर्चित गीत गाएर आफूलाई अब्बल गायक साबित गरिसकेका थिए । त्यसैले पनि गाह्रो भएन् । तर, उनले पनि यस गीतका लागि कम मेहनत गरेका होईन् । त्यसैले गायक ढकाललाई सम्झने हर कसैले यो गीतको सम्झना गर्न थाले । गायक रामकृष्ण ढकाललाई चिनाउने मध्येको एउटा गीत यो पनि हो भन्ने साबित भयो ।
गायक रामकृष्ण ढकाल बिहिबार राजधानीको गुञ्जन स्टुडियोमा यहि गीत चौथो पटक रेकर्ड गर्दै थिए । उनीसँगै थिए गीतकार रिजाल । रिजाल भन्दै थिए ‘समय अनुसार गीत/संगीत पनि परिमार्जित हुनु पर्छ । २० वर्ष अघिको तत्कालिन समयलाई सम्बोधन गरेर लेखेको गीतले यो समयलाई पनि समाउन सकोस् भन्ने उद्देश्यले केहि शब्द परिवर्तन गरेका छौँ ।’ यो प्रस्ताव गायक ढकालकै थियो ।
नेपाली गीत/संगीतको भण्डारमा थुप्रै कालजयी गीत लेखेका रिजाललाई आजको संगीत बजारको चिन्ता पनि उस्तै थियो । उनी भन्दै थिए – ‘अहिलेका मान्छेमा बहुत हतारो छ । साधना कम छ । हिजोआज बजारले गीत सिर्जना गरिरहेका छन् । तर, हुनु पर्ने गीतले बजार स्थापित गर्न सक्नु पर्ने हो ।’ स्टुडियो भित्र गीत गाउँदै गरेका ढकालले थपे– ‘हामीलाई कहिँ पुग्ने हतारो छैन् ।’
गायक ढकालले परिमार्जित यो गीतको म्यूजिक भिडियो पनि निर्माण हुँदै गरेको बताए । निकट भविष्यमानै परिमार्जित गीतको म्यूजिक भिडियो सहित बजारमा आउने उनको योजना छ ।