साप्ताहिक संवाददाता
आखिरमा महिला विश्वकपको उपाधि फेरि एकपटक अमेरिकाले नै जितेको छ । समग्र विश्व फुटबलमा अमेरिकाको नाम अब्बल दर्जाको टिमका रूपमा विरलै आउँछ । पुरुष विश्वकपमै भनौं न, अमेरिकाले कुनै ठूलो उपलब्धि प्राप्त गरेको कसैलाई पनि सम्झना छैन । युरोपेली फुटबलमै पनि केही यस्ता नाम छन्, जसले लामो समयदेखि आफ्नो वर्चस्व कायम गरेका छन्, फ्रान्सदेखि लिएर स्पेन, इंग्ल्यान्ड, जर्मनी आदि, तर उही समीकरण महिला फुटबलमा ठ्याक्कै लागू हुँदैन ।
महिला फुटबलमा सबैभन्दा बलियो टिम अमेरिका नै हो, इतिहासले यसै भन्छ । युरोपमा पुरुष फुटबलमा जति पारम्परिक शक्ति छन्, ती सबै महिला फुटबलमा त्यति साह्रो अगाडि छैनन्, एकाध अपवादलाई छाडेर । फ्रान्समा भएको यसपटकको महिला विश्वकपको फाइनलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० ले सजिलै हरायो र कीर्तिमान चौथो पल्ट उपाधि जित्यो । अमेरिकाले डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो ।
उपाधिका लागि अमेरिका पूर्णतः हकदार पनि देखिन्थ्यो । अमेरिकाले सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएको थियो । त्यसअघि अमेरिकाले अन्तिम आठमा आयोजक फ्रान्सलाई पन्छाएको थियो । त्यसको ठीक अघि अमेरिकाले नकआउट चरणमा स्पेनलाई हराएको थियो । समूह ‘एफ’ मा रहेको अमेरिकाले लिग चरणमा सबै तीनै खेल जितेर अधिकतम ९ अंक बटुलेको थियो ।
यस्तोमा प्रश्न उठ्छ, अमेरिकी महिला फुटबल किन बलियो छ ? यसका लागि सन् ९० को दशकमा पुग्नुपर्ने हुन्छ । सन् १९९१ मा पहिलो महिला विश्वकप फुटबल आयोजना भएको थियो र त्यही बेलादेखि महिला फुटबलले गति लिन थालेको थियो । ठीक त्यही बेला अमेरिकामा एक खालको आन्दोलन चलिरहेको थियो, स्वतन्त्रता र आत्मनिर्भरताका लागि खेलको सहयोग लिने । त्यति बेला अमेरिकामा फुटबल खेल्ने महिला कम थिए, तर जतिले खेल्थे राम्रै खेल्थे ।
त्यही क्रममा अमेरिकाले पहिलो संस्करणको महिला विश्वकप जित्यो, त्यसपछि अमेरिकामा फुटबल खेल्ने महिलाहरूको संख्या नाटकीय रूपमा बढ्दै गयो । बिस्तारै त्यसले व्यवसायिक रूप पनि लिन थाल्यो । यही कारणले महिला फुटबलमा अमेरिका बलियो मानिन्छ । जर्मनीले पनि दुई अवसरमा विश्वकप जितेको छ, तर उसको महिला फुटबल अहिले ओरालो लागेको छ, बरु नर्वे, स्विडेन जस्ता देशको महिला फुटबल बलियो देखिन्छ ।
फाइनलमा पराजित नेदरल्यान्ड्सको यात्रा पनि प्रशंसनीय छ । युरोपेली पुरुष फुटबलमा नेदरल्यान्ड्सलाई पनि महाशक्ति मानिन्छ, डच फुटबल पारम्परिक रूपमै समृद्ध छ । यद्यपि त्यही देशमा महिला फुटबल सुरुवात नै ढिला भएको थियो । नेदरल्यान्ड्समा महिला फुटबलको जग बसेको धेरै समय भएको छैन । केही वर्षअघि मात्र त्यहाँ व्यवस्थित ढंगले महिला फुटबल खेल्न थालिएको हो । त्यही कारणले दुई वर्षअघि नेदरल्यान्ड्सले युरोपेली उपाधि पनि जितेको थियो ।
यसपटकको महिला विश्वकपको एउटा अर्को प्रमुख पक्ष पनि छ र यो सिधै जोडिएको छ, अमेरिकी टिमसँग । अमेरिकी टिमका अधिकांश खेलाडी यौनको मामिलाका उदार छन् । त्यति मात्र होइन, उनीहरू फरक धारणा समेत राख्छन् । जस्तो प्रतियोगिताकै उत्कृष्ट खेलाडी मेघना रिपोनेले गोल्डेन बल र गोल्डेन बुट दुवै जितिन् । उनी आफूलाई खुल्ला रूपमा ‘लेस्बियन’ घोषणा गर्ने खेलाडी हुन् । उनी यस विषयमा खुलेरै कुरा गर्न रुचाउँछिन् ।
रिपोने मात्र होइन, च्याम्पियन अमेरिकी टिमको सुरुवाती लाइनअपका आधाभन्दा बढी खेलाडी लेस्बियन नै हुन् । अमेरिकामा अझैसम्म पनि फरक यौन धारणालाई लिएर जुन जनमत छ, त्यो पुरानो मानिन्छ । अधिकांश अमेरिकीहरू अझै पनि पुरुष–पुरुष र महिला–महिलाबीचको सम्बन्धलाई निको मान्दैनन्, तर यस्तै सम्बन्ध रुचाउने खेलाडीको बाहुल्य रहेको अमेरिकाले विश्वकप जितेको छ । तय छ, अब केही न केही रूपमा अमेरिकीहरूको यौन धारणामा समेत परिवर्तन आउनेछ । त्यसैले यसलाई फरक स्वादको अमेरिकी जित पनि भनिएको छ ।