साप्ताहिक संवाददाता
यसपटकको कोपा अमेरिका फुटबल सुरु हुनु केही अघिसम्म पनि ब्राजिलको तयारी राम्रो थिएन, टिमका स्टार खेलाडी नेयमारले खेल्ने अथवा नखेल्ने, टुंगो थिएन । बलात्कारको आरोपसँगै चोटबाट ग्रसित नेयमारले अन्ततः नखेल्ने भएपछि धेरैले भने, ब्राजिलको सम्भावना कमजोर भयो । सन् २०१४ को विश्वकप ब्राजिलमै भएको थियो र डर थियो, कोपा अमेरिकाको यो संस्करण पनि कतै आयोजक देशका लागि दुर्भाग्यपूर्ण हुने त होइन ?
यद्यपि त्यस्तो भएन, ब्राजिलले नेयमारको अनुपस्थिति अनुभव नै गर्नु परेन, भलै सुरुवात भने राम्रो रहन सकेन् । पहिलो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेपछि टिमको आलोचना सुरु भैसकेको थियो, तर त्यसयता टिमले विस्तारै लय समात्न थाल्यो, नेयमारमाथिको निर्भरता पनि कम हुँदै गयो । आखिर प्रतियोगिताको च्याम्पियन ब्राजिल नै भयो । कप्तान ड्यानी एल्भेसको नेतृत्वमा रहेको ब्राजिलले फाइनलमा पेरुलाई ३–१ ले हरायो ।
प्रसिद्ध माराकाना रंगशालामा प्राप्त जितपछि कसैले पनि नेयमारलाई सम्झन आवश्यक मानेनन्, बरु सबैले भने, यो त ब्राजिलका लागि नयाँ सुरुवात हो । तय भएको छ, अहिले ब्राजिलीयन फुटबल नयाँ पुस्तामा हस्तारण हुने क्रममा छ । ब्राजिलले प्रतियोगितामा उपाधि माक्र जितेन्, व्यत्तिगत एवार्डमा पनि क्लिन स्विप नै गर्यो । उत्कृष्ट खेलाडी रहे, कप्तान ड्यानी एल्भेस, सबैभन्दा बढी गोल गर्ने खेलाडी, एभरटन, अनि उत्कृष्ट गोलरक्षक एलिसन ।
प्रतियोगिताअघि उपाधिको बलियो दावेदारका रूपमा ब्राजिलको पुरानो प्रतिद्वन्द्वी अर्जेन्टिना पनि थियो, तर प्रतियोगिताको अन्त्यमा अर्जेन्टिनाको प्रदर्शन धेरै हदसम्म निराशाजक रह्यो, त्यसमाथि टिमका स्टार खेलाडी लियोनल मेसीको व्यवहारलाई कसैले पनि मन पराएनन् । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले दुई पटकको डिफेन्डिङ च्याम्पियन चिलीलाई २–१ ले हराएको थियो । उक्त खेलपछि मेसी पदक नै थाप्न गएनन् ।
उनको आरोप थियो, कोपा अमेरिकामा ब्यापक भ्रष्टाचार छ । कोपा अमेरिका आयोजकको एक मात्र ध्यान अर्जेन्टिनालाई हराउनु हुन्छ । तेस्रो स्थानको खेलमा मेसीले रातो कार्ड पनि खाए । खासमा अर्जेन्टिना र मेसी दुवैको खेल प्रशंसा योग्य थिएन् । टिमको यस्तो प्रदर्शनपछि मेसीले आफ्नो देशका लागि उपाधि जित्ने अभियानमा थप धक्का लागेको छ । क्लब फुटबलमा जतिसुकै राम्रो खेले पनि मेसीले अर्जेन्टिनाका लागि कुनै ठूलो प्रतियोगिता जित्न सकेका छैनन् ।
सेमिफाइनलमा ब्राजिलले नै अर्जेन्टिनालाई हराएको थियो । उक्त नतिजाले फेरि एकपटक सिद्ध गरेको छ, दक्षिण अमेरिकी फुटबलमा कुनै टिम खासमै बलियो छ भने त्यो ब्राजिल हो, अर्जेन्टिना होइन । अर्को सेमिफाइनलमा पेरुले चिलीलाई ३–० ले सजिलैसँग हरायो र त्यससँगै कोपा अमेरिकामा चिलीको जितको क्रममा पूर्ण विराम लाग्यो । यससँगै चिलीको फुटबलमा स्वर्णिम मानिने अहिलेको पुस्ताको पनि लगभग अन्त्य भएको छ । पछिल्ला दुवै संस्करणको फाइनलमा चिलीले अर्जेन्टिनालाई हराएको थियो ।
विश्वमा जति पनि ठूला क्षेत्रीय प्रतियोगिता छन्, त्यसमध्ये पाहुना टिमलाई बोलाउने एक मात्र प्रतियोगिता कोपा अमेरिका नै हो । युरो, अफ्रिकी नेसन्स कप र एसियन च्याम्पियनसिपमा त्यस्तो हुँदैन । सन् ९० को दशकदेखि यो प्रतियोगितामा १२ टिम सहभागी हुँदै आएका छन् । यसपटक पाहुना दुई टिम संयोगले एसियाकै रहे र त्यो पनि एसिया कपका विजेता तथा उप–विजेता । एसियाली च्याम्पियन कतारले पहिलो पटक कोपा अमेरिका खेल्ने अवसर पाएको थियो, तर दुवै एसियाली प्रतिनिधिका लागि प्रतियोगिता सुखद रहन सकेन् । एसियाली च्याम्पियन कतार समूह ‘बी’ मा थियो र लिग चरणको समाप्तीमा पुछारमै सीमित भयो । कतार एक अंकमै सीमित रह्यो भने उसको अगाडि रहे, कोलम्बिया, अर्जेन्टिना र पाराग्वे । जापान भने समूह ‘सी’ मा थियो र उसको नकआउट चरण पुग्ने सम्भावना अन्तिम समयसम्म पनि कायमै थियो । उरुग्वे र चिलीको समूहमा जापान तेस्रो स्थानमा रह्यो, इक्वेडरको अगाडि । यसपटकको कोपा अमेरिका दुवै एसियाली टिमका लागि अनुभवमै सीमित भयो ।