साप्ताहिक संवाददाता
लोक तथा आधुनिक गायनमा अग्रस्थानमा आउने नाम हो– कुन्ती मोक्तान । कक्षा ८ मा पढ्दा–पढ्दै १५ वर्षको कलिलो उमेरमै गीत–संगीतमा लागेकी मोक्तान आइतबारदेखि ५७ वर्षमा प्रवेश गर्दै छिन् । सन् १९६२ मा भारतको दार्जिलिङमा जन्मिए पनि उनी सन् १९८३ मा संगीत क्षेत्रमा आफ्नो झविष्य खोज्दै दार्जिलिङ छोडेर काठमाडौं आएकी थिइन् । संगीतकार शिलाबहादुर मोक्तानसँग वैवाहिक सम्बन्धमा बाधिँएकी मोत्तानका २ छोरी (शीतल र सुवानी) पनि गीत–संगीतमै आबद्ध छन् । मोक्तानको जन्मदिनको अवसरमा विभिन्न क्षेत्रका कलाकर्मीले साप्ताहिक मार्फत दिएको शुभकामना :
कुन्ती आन्टी अग्रज भए पनि साथी जस्तै हुनुहुन्छ । मैले उहाँलाई पहिलो पटक राष्ट्रिय बाल गीत प्रतियोगितामा भेटेको थिएँ । त्यतिबेला उहाँ आफ्नो विद्यार्थीसँग आउनुभएको थियो । प्रतियोगितामा म सेकेन्ड र उहाँको विद्यार्थी प्रथम भएको अझै याद छ मलाई । स्कुलमा हुने कार्यक्रममा म आन्टीकै गीतमा नाच्थे गाउँथे । पछि–पछि गीत गाउने सिलसिलामा उहाँसँगै धेरै पटक मञ्च सेयर गर्न पाएँ । यी सबै कुराले गर्दा पनि होला मेरो उहाँसँग बेग्लै किसिमको आत्मियता छ, निकटता छ । गीत–संगीतमा त म उहाँलाई आमा नै मान्छु । उहाँ अझै पनि स–साना बालबालिकाहरूलाई संगीत सिकाउनु हुन्छ । उहाँले गीत गाएर होस् वा संगीत सिकाएर नेपाली गीत–संगीतलाई धेरै ठूलो गुन लगाउनु भएको छ । उहाँको आशीर्वाद नवकलाकारहरूले सधैं पाइरहुन् ।
आस्था राउत,गायिका
कुन्ती दिदीले नेपाली गीत–संगीतमा पुर्याउनु भएको योगदान सराहनीय छ । दिदीको स्वर सधैं नेपाली श्रोताहरूको मन मस्तिष्कमा अविरल अनि अवरत रूपले गुन्जी रहोस् । दिदीको जन्मदिनको अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना ।
मीना निरौला, गायिका
सर्वप्रथम जन्मदिनको धेरै–धेरै शुभकामना । दिदीसँग मेरो भाइको सम्बन्ध त छ नै तर एउटा कलाकारका रूपमा भन्नुपर्दा दिदीले नेपाली गीत–संगीतमा अतुलनीय योगदान पुर्याउनु भएको छ । उहाँ धेरै कलाकारहरूको अग्रज हुनुहुन्छ । कुन्ती दिदी आज जुन स्थानमा पुग्न सफल हुनुभएको छ, त्यो केबल उहाँको संर्घषले मात्र सम्भव भएको हो । कुन्ती दिदी नवकलाकारहरूका लागि पनि प्रेरणाको स्रोत हुनुहुन्छ ।
आनन्द राई, संगीतकार
सुरुवाती दिनहरूमा मैले उहाँका धेरै गीत गाएकी छु । कुनै समय उहाँका गीतलाई पछ्याउँदै हुर्किएकी मान्छे म, अहिले बेला–बेला उहाँसँग स्टेज सेयर समेत गर्न पाउँछु । यी सबै कुरा सम्झदा निकै खुसी लाग्छ । उहाँ त पूरा नेपाली गीत–संगीतकर्मीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । मेरा लागि उहाँ धेरै नै स्पेशल हुनुहुन्छ । मलाई करियरका लागि दार्जिलिङबाट काठमाडौं आउन उहाँले नै प्रोत्साहित गर्नुभएको हो । त्यसैले आज म यो स्थानमा हुनुमा उहाँको ठूलो भूमिका छ ।
बानिका प्रधान, गायिका