साप्ताहिक संवाददाता
नेपालमा आयोजना हुने चलचित्र एवार्डहरूमा सफलताको स्वाद नचाखेकी अभिनेत्री स्वस्तिमा खड्काले नेपाली चलचित्रकै लागि एउटा अन्तर्राष्ट्रिय एवार्ड प्राप्त गरेकी छिन् । श्रीलंकामा सम्पन्न नवौं सार्क फिल्म फेस्टिभलमा उनलाई चलचित्र ‘बुलबुल’ का लागि पुरस्कृत गरिएको हो ।
उक्त चलचित्रमा स्वस्तिमाले टेम्पो चालक रणकलाको भूमिका निर्वाह गरेकी थिइन् । समारोहमा उनलाई स्पेसल जुरी एवार्ड प्राप्त भएको हो । उक्त चलचित्र महोत्सवमा नेपालका तीनवटा चलचित्र प्रसाद, बुलबुल तथा हरि सहभागी थिए । हरि भने अप्रतियोगी चलचित्रका रूपमा महोत्सवमा सहभागी थियो । महोत्सवमा भाग लिन श्रीलंका पुगेकी स्वस्तिमा स्वदेश फर्किंदा आफूसँगै एवार्ड लिएर फर्किएकी हुन् ।
हरेक वर्ष आयोजना हुने उक्त महोत्सवमा यसअघि सन् २०१४ मा गरिमा पन्तले चलचित्र झोलाबाट सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड प्राप्त गरेकी थिइन् भने महोत्सवमा दोस्रो स्थान हासिल गरेको चलचित्र साँघुरोबाट निर्देशक जोएस पाण्डेले सिल्भर मेडल जितेका थिए ।
यही श्रृंखलामा दुई वर्षअघि भूपेन्द्र अधिकारीले चलचित्र डाइङ क्यान्डलबाट उत्कृष्ट सम्पादकको एवार्ड जितेका थिए भने चलचित्र कालो पोथीले उत्कृष्ट फिल्म ओपन एवार्ड जितेको थियो ।