साउनको सोमबार पोखरामा भजनकीर्तनसहितको बोलबम जलयात्रा हुन्छ । पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकीस्थित १ सय ८ धारामा स्नान गरी हातमा जल लिएर यो यात्रा सुरु हुन्छ । यात्रामा सहभागीहरूले बगरदेखि बैदामस्थित केदारेश्वर मन्दिरसम्म करिब ८ किलोमिटर पैदलयात्रा गर्छन् । हात–हातमा जल लिएर भगवान् शिवको भजन–कीर्तनमा रमाउँदै मुख्य सडक हुँदै अघि बढेको भीडले पोखरा गुञ्जयमान हुन्छ । उक्त जनसमूहले केदारेश्वर मन्दिर पुगेर १ सय ८ शिवलिंगमा जलार्पण गरेपछि यात्रा सम्पन्न भएको मानिन्छ ।
साउनलाई भगवान शिवको महिनाका रूपमा लिइन्छ । यसपालि साउनमा ४ वटा सोमबार परेका छन् । भगवान् शिवको भजनकीर्तन एवं नाचगानमा नयाँ पुस्तासमेत आकर्षित देखिन्छ । फलस्वरूप यहाँको बोलबम कार्यक्रममा सहभागी हुनेहरूको संख्या बर्सेनि बढ्दै गएको छ ।
साउनमा भगवान् शिवको उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउको जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने भक्तजनको विश्वास छ । शिवलिङ्गमा जल चढाउन र पूजाआजा गर्न पोखराको केदारेश्वर मन्दिरको चारवटै द्वार बिहानैदेखि खुला गरिन्छ भने मन्दिर परिसरमा दिनभर भजन–कीर्तन चल्छ ।
पोखरामा आयोजना हुने बोलबम कार्यक्रममा नेपालका विभिन्न ठाउँका अतिरिक्त भारतका भक्तजनसमेत आउने गरेका छन् । भारतमा बढेको गर्मी छल्न यही समय पारेर भारतीय पर्यटक पोखरामा पुग्छन् । यसरी आएका पर्यटकसमेत बोलबम कार्यक्रम तथा शिव मन्दिरमा दर्शन गर्न पुग्छन् । भारतका अतिरिक्त अन्य मुलकबाट पोखरा घुम्न आएका तेस्रो मुलुकका पर्यटक समेत यहाँ आयोजना हुने बोलबम कार्यक्रममा सहभागी हुन्छन् ।