साप्ताहिक संवाददाता
अभिनेता खगेन्द्र लामिछाने अभिनयमा अब्बल मानिन्छन् । पशुपतिप्रसाददेखि डमरुको डन्डिबियो र जय भोलेसम्म खगेन्द्रले विविध प्रकारका भूमिका निर्वाह गरेर आफूलाई स्थापित गरिसकेका छन् । अहिले आएर उनले अभिनयबाट एक कदम अघि बढ्दै निर्देशनमा हात हाल्ने तयारी गरेका छन् । लामिछानेले निर्देशन गर्ने पहिलो चलचित्र हो— पानीफोटो ।
करिव एक दशकअघि गुरुकुलमा मञ्चन भएको नाटक पानीफोटोकै कथामा आधारित यो चलचित्रमार्फत लामिछानेले निर्देशकका रुपमा नयाँ यात्रा प्रारम्भ गर्न लागेका हुन् । उक्त नाटकको निर्देशन उनैले गरेका थिए । यसै साता एउटा औपचारिक कार्यक्रममार्फत चलचित्र निर्माण हुने तथा त्यसको निर्देशन आफैंले गर्ने बताउँदा लामिछानेको अनुहारमा भिन्न प्रकारको उत्साह देखिन्थ्यो ।
भदौदेखि फ्लोरमा जाने उक्त चलचित्रमा खगेन्द्र आफैं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनलाई सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ जस्ता रंगमञ्चका माझिएका कलाकारहरूले साथ दिँदैछन् । लामिछानेले अभिनयलाई भने पूर्ण बिराम नलगाउने स्पष्ट पारिसकेका छन् । ‘यो चलचित्रपछि म अन्य चलचित्रका लागि पनि उपलब्ध हुनेछु, लामिछाने भन्छन्— पानीफोटो उनको ड्रिम प्रोजेक्ट भएकाले उनले यसको निर्देशन गर्न लागेका हुन् ।