एक समय दर्शकलाई हँसाउने माध्यम प्रहसन थियो । डबली, स्टेज होस् वा सार्वजनिक स्थान कलाकारहरू प्रहसन गरेर दर्शक हँसाउँथे । टेलिभिजनको सुरुवात भएपछि कलाकारले कमेडी रस भरिएका टेलिशृंखला बनाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्न थाले । तितो सत्य, जिरे खुर्सानी, भद्रगोल, मेरी बास्सै, हर्के हवल्दार, झ्याइँकुटी झ्याइँजस्ता टेलिशृंखलाले दर्शकलाई हँसाएरै मनोरन्जन दिए । कसले बढी मनोरञ्जन दिने भनेर यी टेलिशृंखलाबीच एक हिसाबको प्रतिस्पर्धा नै हुन्थ्यो ।
यद्यपि अब त्यो अवस्था रहेन । झन्डै दर्जनको हाराहारीमा रहेका ऊतिबेलाका हास्य टेलिश्रृंखला अहिले हातका औंलामा गन्न सकिने अवस्थामा सीमित छन् । टेलिशृंखला निर्माणमा संलग्न जनशक्ति कमेडी शो तथा चलचित्र निर्माणमा सत्रिय हुन थालेपछि टेलिभिजनमा टेलिशृंखला सुस्ताउन थालेका हुन् ।
म्युजिक भिडियो तथा चलचित्र निर्देशक विशाल भण्डारी कमेडियनको खोजीका लागि नयाँ स्ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । यो वर्षको गाईजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट यो शो प्रसारण हुँदैछ । ‘मलाई कमेडी जनराका हरेक विषय मनपर्छ । मेरो बुझाइमा नेपालमा सन्दीप क्षेत्रीपछि स्टेन्डअप कमेडियनमा नयाँ कमेडियन जन्मिएनन्’, विशाल भन्छन्, ‘नेपालमा गायन तथा नृत्य विधाका धेरै शो भैसकेका छन् तर कमेडीकै छुट्टै शो भने छैन । त्यसकारण पनि हाम्रो समूहले नयाँ कमेडियन जन्माउने सोचका साथ कमेडी च्याम्पियनको निर्माण गर्न लागेको हो ।’
चलचित्र निर्माणभन्दा शोको निर्माण कठिन भए पनि आफूहरूले चुनौतीलाई पार गर्ने भण्डारीको दाबी छ । ‘दर्शकलाई के दिने भन्ने मुख्य कुरा हो । टेलिझिजन कार्यक्रम हेर्ने त्रम घटिरहेको अवस्थामा अहिले आएका रियालिटी शोले दर्शकको संख्या बढाएको छ,’ भण्डारी भन्छन्, ‘हामी विशुद्ध नेपालीपन झल्काउने शो लिएर आउँदैछौं । यो कुनै अन्तर्राष्ट्रिय शोको फ्रेन्चाइजी होइन् ।’ थ्री प्रोडक्सनले निर्माण गर्न लागेको यो रियालिटी शोमा अभिनेता सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा तथा चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन् । कमेडी च्याम्पियन विजेताले २५ लाख रुपैयाँको कार तथा २५ लाख रुपैयाँ नगद प्राप्त गर्ने बताइएको छ ।
स्टेन्डअप कमेडीमा माहिर मनोज गजुरेल, सन्दीप क्षेत्री तथा जितु नेपाल यतिबेला कमेडी शोमा व्यस्त छन् । हिमालय टेलिभिजनमा ‘हास्यव्यंग्य केन्द्र’ नामक कमेडी शो सञ्चालन गरिरहेका मनोज हालका दिनमा नागरिक नेटवर्कको ‘ढुक्क हुनुस् ः केही नहुन्जेल, केही पनि हुँदैन’ चलाइरहेका छन् । सन्दीप कान्तिपुर टेलिभिजनको ‘ह्वाट अ फ्लप शो’ तथा जितु नेपाल टेलिभिजनको ‘मुन्द्रे कमेडी क्लब’मा व्यस्त छन् ।
‘टेलिभिजनका दर्शकले नयाँ चिज खोज्दा रहेछन् । त्यो नयाँ चिज दिन सकियो भने मात्र दर्शकले स्वाद मान्छन्’, मनोज भन्छन्, ‘विश्वको अवस्था देखेर मानिसमा चिन्ता एवं निराशा छ । त्यो निराशा हटाउने माध्यम नै हास्यव्यंग्य हो । निराशा एवं चिन्ताको उपचार कमेडी नै हो तर त्यसलाई कुन शैलीमा कसरी प्रस्तुत गर्ने भन्ने कलाकारमा भर पर्छ ।’ मनोजको बुझाईमा हास्यव्यंग्यले आम मानिसमाझ छिटो सन्देश प्रवाह गर्छ । ‘आम दर्शकलाई लामा भाषण गरेर सम्झाइरहनु पर्दैन । समाजमा देखिएका, भोगिएका विषयलाई चोटिलो ढंगले प्रस्तुत गर्दा दर्शकले त्यसलाई बुझ्छन्,’ गजुरेल भन्छन्, ‘दर्शकले नयाँ चिज खोजिरहने क्रममा अहिले आइरहेका कमेडी शो त्यसको खुराक बन्छन् ।’
टेलिभिजनमा ‘मुन्द्रे कमेडी क्लब’ चलाइरहेका कलाकार जितु नेपाल हिजोआजका दर्शकको चासो कथात्मक टेलिशृंखलामा कम भएको दाबी गर्छन् । ‘पहिले–पहिले कथात्मक टेलिशृंखलामा दर्शकको रुचि थियो । कथासहितको टेलिशृंखला हेरेपछि दर्शकहरू त्यसको अर्को भाग कहिले आउँछ भनेर पर्खिन्थे’, नेपाल भन्छन्, ‘तर अहिले स्थिति ठीक उल्टो छ । अहिले दर्शकहरू कथात्मकभन्दा पनि हेरुन्जेल रमाइलो कार्यक्रम खोजिरहेका छन् । उनीहरू टेलिशृंखला हेरेर त्यसको कथा सम्झिरहने फुसर्दमा छैनन् । दर्शकको स्वाद फेरिएकाले पनि हामी कलाकारलाई नयाँ–नयाँ सोचका कार्यक्रम ल्याउने चुनौती थपिएको छ ।’ जितुका अनुसार उनको टेलिभिजन शोमा प्रत्यक्ष सहभागिता जनाउने दर्शकको संख्या उल्लेख्य छ । ‘दिनमा २५ पटक फोन आउँछ । कुनै–कुनै शोमा दर्शक हाउसफुल भएर अर्को कार्यक्रममा राख्नुपर्ने बाध्यता छ’, जितुले भने ।
कलाकार दीपकराज गिरीको समूह विगत केही वर्षदेखि टेलिशृंखला तितो सत्यलाई रोकेर चलचिक्र निर्माणमा सत्रिय छन् । गिरीको बुझाइमा अहिले दर्शक हँसाउने शैली फेरिएको छ । ‘कुनै समय हामी नै टेलिभिजनमा देखिएर दर्शक हँसाउँथ्यौं । त्यो समयमा दर्शकसँग प्रत्यक्ष कुराकानी गर्ने मेसो थिएन,’ दीपक भन्छन्, ‘तर अहिले रियालिटी शोमार्फत पनि दर्शक हँसाउने चलन सुरु भएको छ । यस्तो कार्यक्रमले दर्शकसँग प्रत्यक्ष अन्तरसंवाद गर्न सहज भएको छ । नेपालमा यो चलन विस्तारै सुरु भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने पुरानो भैसकेको छ ।’ रियालिटी शोले शोका सञ्चालकलाई जिम्मेवारी र चुनौती दुवै दिने दीपकको बुझाइ छ । ‘दर्शकसँग प्रत्यक्ष भेटेर उनीहरूको सल्लाह–सुझाव आत्मसात गर्दै शो चलाउँदाको आनन्द बेग्लै हुन्छ । दर्शककै अगाडि कार्यक्रम चलाउँदा सञ्चालकहरू जिम्मेवार पनि देखिन्छन्’, दीपकले भने ।
कलाकार हरिवंश आचार्य समयअनुसार कमेडीको खुराक पनि परिवर्तन हुँदै गएको बताउँछन् । फस्टाउँदै गएको स्टेन्डअप कमेडीले कमेडीलाई आधुनिक धारमा पुर्याएको हरिवंशको बुझाइ छ । ‘कमेडीको फेसनमा परिवर्तन आएको छ । टेलिभिजनले पनि त्यही शैली अपनाएको पाइन्छ,’ हरिवंश भन्छन्, ‘प्रहसनबाट सुरु भएको कमेडी अहिले स्टेन्डअप कमेडीमा पुगिसकेको छ । यद्यपि स्टेन्डप कमेडी पनि एउटा प्रहसन नै हो । टेलिभिजनमा बजेटको समस्याले गर्दा टेलिशृंखला बनाएर प्रसारण गर्न समस्या भएको छ । त्यसकारण पनि कलाकारहरू रियालिटी शोतर्फ आकर्षित भैरहेका छन् ।’
प्रविधि र समयको परिवर्तनसँगै हास्य कलाकारहरूले दर्शक हँसाउनकै लागि अनुहार बिगार्नेदेखि लिएर अभिनयमा जबरजस्तीपन छोड्दै गएका छन् । त्यसको उदाहरणका रूपमा कमेडी रियालिटी शोलाई लिन सकिन्छ ।