साप्ताहिक संवाददाता
प्रदीप भट्टराई अहिले नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशकका रुपमा स्थापित छन् । भट्टराईद्वारा निर्देशित चलचित्र जात्रा, शत्रुगते तथा जात्रैजात्राले प्रदर्शनको ५१ औं दिन मनाउनुका साथै व्यावसायिक रूपमा सफल नेपाली चलचित्रमा दरिएका छन् । भर्खरै ३५ वर्ष पुगेका भट्टराईको यो सफलताको सूत्र, चलचित्र छनौटको उनको मापदण्डका साथै, नेपाली चलचित्रका विविध विषयमा भट्टराईसँग महेश तिमल्सिनाले गरेको कुराकानी :
तपाईंले निर्देशन गरेका चलचित्रले व्यवसायिक रूपमा ह्याट्रिक नै गरे, यसको रहस्य के हो ?
यसको मुख्य रहस्य मैले निर्देशन गरेका चलचित्र दर्शकले रुचाइदिनु हो । अर्को कुरा, चलचित्र राम्रो हुनुमा मेकरको इमान्दारिता प्रमुख रूपमा जिम्मेवार हुन्छ । चलचित्रमा जसले पनि मेहनत गरेको हुन्छ, तैपनि चलचित्रको एउटा बाटो हुन्छ, त्यो बाटोमा नहिँडी उत्कृष्ट चलचित्र बन्दैन । यति हुँदाहुँदै पनि बाटोमा सही तरिकाले हिँडेको छ कि छैन, त्यसमा कत्तिको इमान्दारिता छ ? अथवा नियम मिचेर हिँडेको छ कि ? भन्ने हुन्छ । मेरो विचारमा चलचित्र राम्रो हुनु भनेको नै मेकरको इमान्दारिता देखिनु हो । मैले पनि तीनवटै चलचित्रमा आफ्नो इमान्दारिता र लगनशीलता देखाएको छु, मेरो सफलताको रहस्य यही नै हो ।
तीनवटै चलचित्र सफल बनाउन कस्तो सूत्र प्रयोग गर्नुभयो ?
पहिलो कुरा त स्क्रिप्ट नै हो । त्यसपछि निर्देशकले अर्को बठ्याइँ गर्ने भनेको टिम छनौटमा हो । चलचित्र एउटा व्यक्तिको दिमागले बन्ने होइन र एक्लैले बनाउने पनि होइन । चलचित्र साहित्य, कला, विज्ञान, प्रविधि आदि अनेक कुरा मिसिएर बन्ने चिज हो । त्यसैले पनि यो महासागर हो । सयौं विधा मिसिएर एउटा चलचित्र बन्छ, जसका लागि टिम छनौट गर्दा विषयवस्तुलाई मिल्ने, सुहाउने कलाकारहरू एवं त्यसलाई प्रोजेक्सन गर्ने प्राविधिकहरू सबल हुनुपर्छ । एउटा चलचिक्र राम्रो बन्न स्त्रिप्टका साथै प्राविधिक तथा कलाकारहरूको टिम बलियो हुनुपर्छ । अर्को कुरा चलचित्र भनेको एउटा युद्ध हो र निर्देशक त्यसको सेनापति । युद्ध त्यतिबेला मात्र जितिन्छ, जब सेना मजबुत हुन्छ । म जहिले पनि मजबुत सेना लिएर हिँड्छु ।
चलचित्र निर्देशन गर्दा कुन पक्षलाई कति प्राथमिकता दिनुहुन्छ ?
म स्क्रिप्टलाई ६० प्रतिशत र स्क्रिप्टले मागेको कलाकारलाई २० प्रतिशत प्राथमिकता दिन्छु । त्यसबाहेक चलचित्रले मागेको खर्च, क्यानभास, क्यामेराम्यान, मेकअप आर्टिस्ट, लाइटिङ आदि सबै कुरालाई २० प्रतिशत प्राथमिकतामा राख्छु । मुख्य कुरा त स्क्रिप्ट नै हो ।
जात्राबाट जात्रैजात्रासम्म आइपुग्दाका केही अविस्मरणीय किस्सा सुनाइदिनुस् न ?
जाक्रैजात्राको सुटिङ गर्ने त्रममा त धेरै नै जात्रा भएको थियो । जात्रापछि हामी त्यसको सिक्वेल बनाउने कि नबनाउने भन्ने दोधारमा थियौं । जात्रा रिलिज भएको पहिलो दिनदेखि नै दर्शकहरूले सिक्वेल बनाउनुपर्छ भन्नुभएको थियो, तर हामीले त्यसलाई मेटाउने कुरा नआएसम्म बनाउँदैनौं भनेका थियौं । त्यसैले हामीलाई त्यही कुरा चिर्न सबैभन्दा गाह्रो भयो । नेपालको सन्दर्भमा धेरै सिक्वेल बनेका छन्, तर सफल भएका एकदमै कम । राम्रा भनिएका सिक्वेलले पनि सकारात्मक प्रतिक्रिया पाउन सकेको अवस्था थिएन । त्यसैले त्यही कुरा हामी पनि नदोहोर्याऊँ र सिक्वेल नबनाऊँ भन्ने सहमति भएको थियो । यही कसमकसका बीच हामीले करिब तीन वर्षपछि जात्राको सिक्वेल जात्रैजात्रा बनायौं । जात्रापछि मैले शत्रुगते निर्देशन गरें । शत्रुगतेपछि जात्राको सिक्वेल बनाउने विषयमा मेरो दिमागमा एक–दुईवटा उपाय आयो । त्यसमा मैले पुरानो टिमसँग पनि सल्लाह गरें । सबैले मन पराउनुभयो । अन्तर्राष्ट्रिय स्तरमा पनि सफल भएका सिक्वेल चलचित्र यही फर्म्याटमा बनेका हुन्छन् । त्यसैले यसरी बनायो भने जात्रैजात्रा सफल हुन्छ भन्ने सल्लाह–सुझाव सबैबाट पाएपछि म जात्रैजात्राको कथा लेख्न बसेको थिएँं ।
कथा लेख्न कति समय लाग्यो ?
विषयवस्तुका बारेमा निष्कर्षमा पुग्न त करिब अढाई वर्ष नै लाग्यो । विषयवस्तुको निर्क्यौल भैसकेपछि स्क्रिप्ट लेख्न करिब आठ महिना लागेको थियो ।
चलचित्र सफल हुन कुन–कुन तत्वले काम गर्नुपर्छ ?
धेरै तत्वले काम गरेको हुनुपर्छ । पहिलो कुरा त चलचित्र बनाउनेले दर्शकको रुचि बुझ्न जरुरी छ । किनभने कुनै चलचित्र बनाउँदा बनाउनेलाई मात्र चित्त बुझेर हुँदैन, त्यो चलचित्रले दर्शकको मन जित्नुपर्छ । हलमा गएर दर्शक निराश हुने बातावरण भयो भने चलचित्रले राम्रो गर्न सक्दैन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा दर्शकको चाहना र उनीहरूले माग गरेको विषयवस्तुमा चलचित्र बन्न आवश्यक छ । अर्को कुरा, चलचित्र बनाउँदा त्यसमा मेकरको इमान्दारिता देखिनैपर्छ । यस्तै, चलचित्र बनाइसकेपछि प्रदर्शन गर्ने मिति, चलचित्र नजुध्ने अवस्थालगायतका थुप्रै कुराले कुनै पनि चलचित्रको सफलता वा असफलता निर्धारण गर्छ ।
निर्देशकले चलचित्रलाई कसरी न्याय गर्न सक्छन् ?
निर्देशकले चलचित्र निर्माण गर्दा कुनै पनि कुरामा कम्प्रोमाइज गर्नु हुँदैन । निर्देशकले आफ्नो विषयवस्तुप्रति न्याय गर्न सक्नु भनेकै उसले कुनै पनि कुरामा हेलचेक्र्याइँ नगर्नु हो । निर्देशकले आफूले सोचेको कुरा गर्ने हो, अरुले के भन्छन् कस्तो प्रतिक्रिया दिन्छन् भन्ने पछिको कुरा हो । त्यसैले आफूलाई भित्री मनदेखि लागेको कुरा शतप्रतिशत निकाल्न सक्ने काम गर्नुपर्छ । त्यो नै एउटा निर्देशक तथा सर्जकले आफ्नो सिर्जनाप्रति गर्ने न्याय हो ।
पहिलो चलचित्र जात्रा र अहिले जात्रैजात्रामा आएको प्रतिक्रियामा कस्तो भिन्नता छ ?
दर्शकको माया बढ्दै गएको छ । जात्राको निर्देशन गर्दा म सिकारु थिएँ । तैपनि मेरो पहिलो सिर्जनालाई दर्शकले मन पराइदिनुभयो । त्यसपछि पनि म त्यत्तिकै बसिरहन चाहिनँ । एउटा मान्छे जन्मँदा नाङ्गै जन्मन्छ, त्यसपछि अलिअलि लाज लाग्ने बेला भएपछि आफैं कट्टु लगाउन थाल्छ, वयस्क भएपछि सुट, टाई, कोट, पाइन्ट सबै लगाउँछ भनेजस्तै मैले पनि आफूलाई अपग्रेड गर्दै लगेँ । अर्को कुरा, दर्शकहरूले पनि मलाई सल्लाह–सुझाव दिँदै जानुभयो । उहाँहरूले मलाई देशको एउटा नागरिकले उठाउनुपर्ने मुद्दा धेरै छ, त्यसैले अब नयाँ–नयाँ विषयवस्तुमा लाग्नुस् भन्नेखालका प्रतिक्रिया दिनुहुन्थ्यो । त्यससँगै दर्शकहरूबाट बजारलाई मात्र हेरेर चलचित्र नबनाउनु अब केही रिक्स पनि लिएर चलचित्र बनाउनुहोस् भन्ने खालका प्रतिक्रिया आएका छन् । अहिलेको अवस्थामा दर्शकहरूले रिक्स लिने वातावरण पनि बनाइदिनुभएको छ । त्यसैले पक्कै पनि अब रिक्स लिन्छु ।
अहिलेसम्म जात्रैजात्राले कति व्यापार गर्यो ?
आजको दिनसम्म करिब ९ करोड ६० लाखको व्यापार गरिसक्यो । त्यसको अर्थ ९ करोड सबै हामीलाई आउने होइन । जे होस्, नेपालमा मात्र ९ करोडको व्यापार गरिसक्यो जात्रैजात्राले ।
अहिले नेपाली चलचित्र दिनानुदिन खस्किँदै जानुको कारण के हो ?
मेरो विचारमा हामी सबैजना सिक्दैछौं । मेरो चाहिँ सिकाइ राम्रो ठाउँमा परेर राम्रो भएको हो जस्तो लाग्छ । हामी सिक्दै छौं, सिक्ने क्रममा अधिकांश मानिस फेल हुन्छन् । सिक्ने क्रममा जति गल्ती भयो त्यति नै अनुभव बटुल्ने मौका प्राप्त हुन्छ । त्यसैले चलचित्र बनाउने आधारभूत कुराहरू राम्रोसँग थाहा पाउनेबित्तिकै यस्तो नियती नेपाली चलचित्र उद्योगले भोग्नुपर्दैन र यो फेज चाँडै समाप्त हुन्छ भन्ने लाग्छ ।
जात्रैजात्रा प्रदर्शनका लागि विभिन्न देश पुग्नुभयो, विदेशमा नेपाली चलचिक्रको त्रेज कस्तो छ ?
एकदमै राम्रो क्रेज छ । त्यहाँ नेपाली चलचित्र हेर्न आएका दर्शकको भीड देखेर हलवालाहरू नै तर्सिन्थे । हामी यहाँ विदेशी चलचित्रले यति करोड कमायो उति करोड कमायो भन्छौं, तर विदेशका मानिसहरू हलमा एकदमै कम जाँदा रहेछन् । अस्ट्रेलियामा जात्रैजात्रा चलिरहँदा एभेन्जर, भारतजस्ता चलचित्र हलमा लागिरहेका थिए । एउटै घरभिक्र १३ वटा स्त्रिन भएको हलमा हाम्रो जात्रैजात्रा पनि चलिरहेको थियो । हामीले सबै हलमा हेर्दा त्यति मान्छे देखिएनन्, तर हाम्रो चलचित्र हेर्न ओइरिएका नेपाली दर्शक देखेर यो भीडलाई कसरी कन्ट्रोल गर्ने भनेर हलका म्यानेजर नै आत्तिएका थिए । विदेशमा नेपाली चलचित्रलाई माया गर्ने दर्शक प्रसस्तै हुनुहुन्छ, तर नेपाली चलचित्र राम्रो बन्नुपर्छ ।
विदेशमा रहेका नेपाली दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
उहाँहरूले नेपाली चलचित्रबाट धेरै आशा पनि राख्नुभएको छैन । हामीलाई हाम्रो माटोको गन्ध भए पुग्छ । किनभने हामी यति टाढा आएर बसेका छौं, हामी नेपालको धेरै कुराको मिस गर्छौं । त्यसैले हामीलाई दुई घन्टा नेपाली चलचित्र हेर्दा पनि आनन्द आउँछ । त्यसकारण हामीलाई हाम्रै कुरा देखाइदिनुस्, यस्तै कुरा देखाइदिनुस् भन्ने थुप्रै मानिस भेटें । उहाँहरूको प्रतिक्रिया सुन्दा विदेशमा पनि नेपाली चलचित्रको राम्रो बजार छ जस्तो लाग्यो ।
चलचित्र छान्ने मापदण्ड के–के छन् ?
मेरो एउटैमात्र मापदन्ड भनेको मलाई स्क्रिप्ट चित्त बुझ्नुपर्छ । स्क्रिप्ट चित्त बुझ्यो भने म बिनासर्त काम गर्न तयार हुन्छु । त्यसैले स्क्रिप्ट नै मेरो मुख्य मापदण्ड हो ।
चलचित्र निर्देशनमा चाहिँ कसरी आउनुभयो ?
एसएलसीमा राम्रो नतिजा आएपछि म थप अध्ययनको सिलसिलामा २०५७ सालमा काठमाडौं प्रवेश गरेको थिएँ । यद्यपि विभिन्न कारणले अध्ययनलाई राम्रोसँग अघि बढाउन सकिनँ । कलेज अध्ययनलाई अघि बढाउन नपाएकोमा मलाई कुनै अफसोच छैन । किनभने कलेजमा राम्रोसँग नपढेपनि मदनकृष्ण, हरिवंश दाइसँग महसञ्चारजस्तो अर्को युनिभर्सिटिमा पढ्न पाएँ । महसञ्चारबाटै मेरो निर्देशनकलाको विकास भयो ।
भनेपछि, आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ ?
निकै सन्तुष्ट छु, सन्तुष्ट नभएको भए त छाडिसक्थें नि । म आफू सन्तुष्ट नहुने काम कहिल्यै गर्दिनँ ।
अहिलेसम्म पारिश्रमिक लिएर चलचित्र निर्देशन गर्नुभएको छैन, अब लिनुपर्यो भने कति पारिश्रमिक लिनुहुन्छ ?
अब पनि म पारिश्रमिक लिएर चलचित्र निर्देशन गर्दिनँ, किनभने पारिश्रमिक लिएर गरेको काम हाजिरीमा गरेजस्तो लाग्छ । अहिलेसम्म तीनवटा चलचित्र निर्देशन गर्दा मैले सबैमा सेयरमै काम गरेको छु । त्यसैले पारिश्रमिक लिएर चलचित्र निर्देशन गर्दिनँ ।
नेपाली चलचित्रमा देखा परेका नयाँ कलाकारहरू आउने–हराउने क्रम चलिरहेको छ नि किन होला ?
यसमा धेरै कुरा हुन्छ । यदि कसैले यसलाई नै करियर बनाउँछु भनेर लागेको छ भने उसले निकै मेहनत गर्नुपर्छ । त्यसरी मेहनत गर्ने मानिसले सपनामा पनि त्यही कुरा, आफ्नो काम देखिरहेको हुन्छ । चलचित्र क्षेत्रमा आएका मानिसहरूले मेहनती र लगनशील भएर काम गर्ने हो भने कोही पनि असफल हुँदैनन्, तर यसमा गम्भीर भइएन भने त नेपाली चलचित्रमा पनि मानिसहरू आउने–जाने क्रम चलिरहन्छ ।
तपाईंको आइडल को हो ?
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।
अब अर्को चलचित्रको तयारीमा हुनुहुन्छ होला ? तयारी कस्तो छ ?
हतारिएर यहि गर्नुपर्छ, गरिहाल्यो भने पैसा आउँछ भन्ने छैन । अहिले जात्रैजात्राले नै राम्रो गरिरहेको छ । त्यसैले अहिले यसैको मजा लिऊँ भन्ने लागिरहेको छ । किनभने म हरेक काम गर्दा मजा लिँदै काम गर्छु । यसका साथै परिवारलाई समय दिन नपाएको पनि धेरै भैसकेको छ । अब एक–दुई महिना परिवारलाई समय दिन्छु । त्यसपछि कुन विषयमा काम गर्दा ठीक हुन्छ, दर्शकलाई कसरी खुसी पार्न सकिन्छ र तीनवटा काममा जसरी सफल भएँ त्यो भन्दा पनि एक लेभल माथिको काम कसरी गर्न सकिन्छ भन्ने विषयमा टिममा बसेर सल्लाह गरेपछि मात्र काम सुरु हुन्छ ।
जात्रैजात्राको सिक्वेल आउने सम्भावना कत्तिको छ ?
यसमा त पूर्णविराम नै लागिसक्यो । सिक्वेल त आउँदै–आउँदैन, ढुक्क भए हुन्छ । जात्रैजात्रा लेख्ने बेलामा मलाई जतिको पीडा अरू कसैलाई भएको छैन । किनभने यो सिक्वेल जन्माउन धेरै गाह्रो भएको थियो । अब यो सिरिजका रूपमा आउन सक्छ, देशमा यति धेरै जात्रा भैरहेको छ कुनै एउटा जात्रा टिपेर देखाइदियो भने अवस्य पनि हिट हुनेवाला छ, तर सिक्वेल आउँदैन ।
तपाईंलाई कस्तो खानेकुरा मन पर्छ ?
चिल्लो, पिरो, मसलादारभन्दा पनि साधारण खानेकुरा ।
घुमघाममा कतिको रुचि राख्नुहुन्छ ?
फुर्सद भएका बेला परिवारका साथ घुमघामका लागि गैरहेको हुन्छु ।
पुस्तक कत्तिको पढ्नुहुन्छ ?
प्रसस्तै पढ्छु ।
सामाजिक सन्जालमा कत्तिको व्यस्त हुनुहुन्छ ?
आवश्यक परेका बेला चलाउँछु, तर अनावश्यक रूपमा सामाजिक सन्जालमा व्यस्त भएर समय बर्बाद गर्दिनँ ।
अरूले निर्देशन गरेका चलचित्र कत्तिको हेर्नुहुन्छ ?
एकदमै हेर्छु । म हरेक हप्ता जसो चलचित्र हेर्छु । अरूले के राम्रो गरेका छन्, त्यो कुरा जान्न पनि हेर्छु ।
कुन सवारी साधन प्रयोग गर्नुहुन्छ ?
मोटरसाइकल ।