फराकिलो बन्दै प्राविधिक शिक्षा

- युवराज गौतम

असार ३१, २०७६

विज्ञान र प्रविधिलाई जीवन पद्धतिसँग जोड्ने मात्र नभै गरिखाने शिक्षाका रूपमा लोकप्रिय प्राविधिक शिक्षा अहिले थप फराकिलो बन्दै गएको छ । सरकारले बजेटमा वृद्धि गर्दै स्थानीय तह तथा प्रदेशस्तरमा प्राविधिक शिक्षालाई थप विस्तार गर्दै लगेपछि विद्यार्थीको पहुँच पनि वृद्धि भएको तथ्याकंहरूले देखाएका छन् । एसईई परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै प्राविधिक शिक्षाका लागि ठूला सहरहरूमा भौंतारिनुपर्ने बाध्यताको अन्त्यका लागि नयाँ प्रयासहरू प्रारम्भ भएका छन् । 

यतिबेला विश्वविद्यालयहरूमा पढाइ हुने विषयहरूमा धेरैको आकर्षण भए पनि व्यवसायिक तथा सीपमूलक शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूको संख्या पनि ठूलो छ । विद्यालय स्तरबाटै प्राविधिक विषय पाठ्यक्रममा समेटिएको छ । एसईई परीक्षाको नतिजा ग्रेडिङ अर्थात् जीपीए प्रणालीअनुसार सार्वजनिक गर्न थालिएपछि विश्वविद्यालयस्तरका विषयसँगै प्राविधिक शिक्षाले पनि धेरैको मन तानेको छ, फलस्वरूप प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटी)ले प्रदान गर्ने सीपमूलक तालीम तथा प्राविधिक कोर्सहरूमा विद्यार्थीको आकर्षण बढेको छ ।

सिटिइभिटीको तथ्यांकअनुसार प्राविधिक शिक्षा र तालिम प्राप्त जनशक्तिको रोजगारी दर ७० प्रतिशतभन्दा बढी छ । प्राविधिक कोर्स उत्तीर्ण गरिसकेपछि सरकारी जागिरमा समेत राम्रो अवसर पाइन्छ । तीनवर्षे डिप्लोमा उत्तीर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) का लागि योग्य मानिन्छ । तीनवर्षे डिप्लोमा प्रमाणपत्र तहका विविध कोर्सलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तहको सरह मान्यता प्रदान गरेको छ । डिप्लोमा कोर्सहरू पूरा गरेका विद्यार्थीले स्नातक तह अध्ययन गर्न पाउँछन् । 

एसईईमा ‘डि’ तथा ‘ई’ ल्याउनेले मात्र होइन, ‘ए’ प्लस ल्याउनेहरूले समेत प्राविधिक कोर्सहरूमा आफ्नो भविष्य देखेका छन् । भविष्यमा बेरोजगार भएर भौतारिनु नपरोस् भनेर रोजगारमूलक विषय छनौट गर्नेहरूको संख्या विगतको तुलनामा यो वर्ष अझ बढेको सिटिइभिटी अन्तर्गतको एनएसटिभीका उप–निर्देशक टैलेन्द्र आचार्य बताउँछन् । ‘सूचना प्रविधिको विकासले विश्व एउटा सानो गाउँजस्तो भैसक्यो, यस्तो अवस्थामा प्राविधिक शिक्षा नपढे पछि परिन्छ भन्ने कुरा २१ औं शताब्दीका विद्यार्थीले बुझिसकेका छन्’, आचार्य भन्छन्— ‘हाम्रो लक्ष्य प्राविधिक शिक्षामा दक्ष बनाएर नेपाली विद्यार्थीलाई विश्वभर रोजगारी प्राप्त गर्न सक्ने बनाउनु नै हो ।’ 

नेपालमा वि.सं. २०४५ मा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले ल्याएका विभिन्न रोजगारमूलक शिक्षा तथा तालिमले धेरैलाई जीवन धान्न सक्ने बनाएको छ । यसलाई ‘बोली खाने होइन गरी खाने’ शिक्षा मान्न थालिएको छ । नेपालमा पनि रोजगारमुलक शिक्षालाई प्राथमिकता दिँदै प्राविधिक शिक्षाका थुप्रै विषय पढ्न पाउने व्यवस्था छ । विभिन्न विश्वविद्यालय तथा राष्ट्रिय परीक्षा बोर्डले युग सुहाउँदो प्राविधिक शिक्षाका कोर्सहरू भित्र्याएका छन् । त्यसमध्ये सिटिइभिटीले प्रदान गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमले व्यक्तिलाई ‘गरी खान सक्ने’ बनाउँछ भन्ने कुरा बुझेका विद्यार्थीहरू यसतर्फ आकर्षित छन् । 

खर्च कति लाग्छ ? 

प्राविधिक विषय अध्ययन गर्न फरक–फरक विषयका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ । त्यसका साथै सरकारी तथा निजी शिक्षालयले फरक–फरक शुल्क लिन्छन् । जुनसुकै कोर्स पूरा गर्दा सरकारी तर्फका शिक्षालयमा १५ हजारदेखि १ लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ । निजी क्षेत्रमा भने ६० हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ । कोर्स र अवधिअनुरूप शुल्क निर्धारण गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाहरूलाई छात्रावृत्तिको सुविधासमेत उपलब्ध छ । 

छनौट प्रक्रिया

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एसएलसी तह र तीनवर्षे डिप्लोमा/प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ ।

छोटो अवधिको तालिम अर्थात सीप परीक्षणका लागि भने छुट्टै व्यवस्था गरिएको छ । जीपीए प्रणाली सुरु हुनुअघि एसएलसी उत्तीर्ण विद्यार्थीका लागि फरक व्यवस्था छ भने जीपीए अन्तर्गत ‘ई’ ग्रेडलाई मान्यता प्रदान गरेकाले प्रवेश परीक्षामा सामेल हुन पाउँछन् । टी–एसएलसीका सबै कोर्सका लागि जुनसुकै ग्रेड भए पनि अवसर प्राप्त हुन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कोर्सका लागि विज्ञान र गणितमा न्यूनतम सी ग्रेड तथा अंग्रेजीमा न्यूनतम डी ग्रेड ल्याएकै हुनुपर्छ । 

डिप्लोमा इन्जिनियरिङतर्फका सम्पूर्ण कोर्सका लागि विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा डी ग्रेड प्राप्त गरेको हुनुपर्छ । त्यस्तै डिप्लोमा तर्फका कृषि फुड एन्ड डेरी टेक्नोलोजी र फरेष्ट्री कोर्सहरूको लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ वटा विषयमा न्यूनतम सी ग्रेड र कुनै एकमा डी ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ । डिप्लोमा इन होटल म्यानेजम्यान्ट, सोसियल वर्क आदि विषयका लागि अंग्रेजी, विज्ञान तथा गणितमा न्यूनतम डी ग्रेड प्राप्त गरेको हुनुपर्छ । 

छात्रवृत्तिको व्यवस्था

सिटिइभिटीका विझिन्न कार्यक्रममा जेहेन्दार, वर्गीकृत र विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । वर्गीकृत र जेहेन्दार छात्रवृत्तिका लागि सम्बन्धित संस्थाको सोही कार्यत्रममा मात्र प्रतिस्पर्धा गर्न पाइन्छ । विशेष छात्रवृत्तिमा बेपत्ता पारिएका व्यक्ति तथा सहिद परिवार, जनआन्दोलनका घाइते, परिवार र द्वन्द्वबाट विस्थापित, महिला, अपाङ्ग, दलित, आदिवासी जनजाति, कमैया, मधेशी वा मुसलमान, मधेस आन्दोलन, भूकम्पपीडित, पिछडिएका वा दुर्गम क्षेत्रका युवायुवतीहरूलाई लक्षित गरिएको छ । सिटिइभिटीले आफ्नो बजेटबाट सबै तहमा अध्ययनरत विद्यार्थीलाई बार्षीक करिब एकअर्व भन्दा बढीको छात्रवृत्ति प्रदान गर्छ । 

प्रकाशित :असार ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्